किर्तिपुरको लायकु दरबार परिसरमा नरदेवी श्वेतकाली अजिमाको १२ वर्षे नाचपर्व देखाइएकाे छ । देवी नाचमा भैरव, कुमारी, शिव द्यः, श्वेतकाली, बाराही, व्याङगिनी, महालक्ष्मी, ब्रम्हायणी, रुद्रायणी, इन्द्रायणी, नारायणी, सिङ्गीनी देवगण समावेश हुन्छन्।
शुक्रबार बेलुका ५ बजे पुल्चोकबाट प्रस्थान गरी करिब ८ बजे कीर्तिपुरको लाय्कु दरबार प्रवेश गराएकाे थियाे र ९ बजेदेखि देवीनाच प्रारम्भ गरी राती १ बजेसम्म पहिलो चरणको नाच प्रदर्शन गरेकाे थियाे ।
त्यसैगरी, पुस २१ गते शनिवार विहान ६ बजेबाट दोस्रो चराणको देवीनाच सुरु भई राती ९ बजे सम्ममा समापन गराइयाे र अाज आईतवार विहानै क्षमा पुजा गरेर समापन गरी दिउसो १ बजे फिर्ती भई नाचको सम्पूर्ण कार्यक्रम समाप्त हुने समितिले उल्लेख गरेको छ ।
यसअघि ललितपुरको पाटन दरवारमा बुधवार र विहीबार नाच देखाइएको थियो । ललितपुरको ऐतिहासिक कात्तिक डबलीमा नाच देखाउन बुधबार साँझ ५ बजे पुल्चोकबाट देवीनाच सवारी गरी करिब ८ बजे राती डवलीमा प्रवेश गराई करिब राती ९ बजेदेखि १ बजेसम्म पहिलो चरणको देविनाच प्रदर्शन गरेको थियो ।
त्यसको भोलिपल्ट विहिवार पनि विहान ६ बजेबाट देविनाच आरम्भ गरी दिनभर प्रदर्शन गराएर राती ९ बजे समापन भएको थियो ।
त्यसैरी, पुस २० गते शुक्रवार विहान समापन (क्षमा पुजा) सकिएपछि करिब १ बजे लायकुबाट फिर्ती प्रस्थान गरी सम्पूर्ण कार्यक्रम समापन भएको थियो ।
लिच्छबीकाल देखि नचाइदै आएको १२ बर्षे ङतभुलु अजिमा काठमाडौंको प्राचिन बस्ती नरदेबीमा रहेकी ङतभुलु अजिमाको पर्वका रुपमा विभिन्न रुपधारण भएकी र अवतारमा देखिने नरदेबीको माताको भुमिका देखाउदै पाटनको कार्तिक नाच डबली, काठमाडौंको दश अवतार डबली र कीर्तिपुरको लायकु डबलीमा १२ वर्षे देबीनाच आयोजना हुनेगर्छ ।
किंवदन्ती अनुसार बनेपाका राजा काठमाडौँको हात्ती सिकार गर्न आउनुभएको थियो। आफ्नो सिकार गर्न आएको देखी हात्ती रिसाई राजालाई मार्न लखेटेपछि राजा भाग्दै च स्वाँ (एक प्रकारको फूल) फुल्ने रुखनिर पुग्नुभयो। हात्तीदेखि डराएका राजाले त्यहाँ आफूलाई बचाउन गुहार माग्नुभयो। त्यसपछि त्यहाँ ठूलो ज्योति उत्पत्ति हुँदा हात्ती राजालाई केही गर्न नसकी फर्कियो।
राजा प्रसन्न भई आफूलाई बचाउने त्यो ज्योति पक्कै पनि कुनै दैवी शक्तियुक्त भएको बुझी नाना प्रकारका स्तुति गर्नुभयो र सो रुखको फेदबाट श्वेत वर्णकी श्वेतकाली देवी उत्पन्न भई दर्शन दिएको भन्ने किंवदन्ती छ।
नरदेवीलाई नरबलि लिने देवीका रूपमा पनि लिइन्छ तर त्यो भनेको मानिसको बलि नभई मानिसको मनभित्रको अहङ्कार, ईष्र्या, क्रूरता, आलस्यको बलि भन्न खोजिएको जानकारहरूको भनाइ छ।
वंशावलीअनुसार कलिगत संवत् ३८२५ मा काठमाडौँ नगर निर्माण गर्दा राजा गुणकामदेवले देशको रक्षार्थ नगरका चारैतिर लुमडी अजिमा, कङ्ग अजिमा, म्हेपी अजिमा, मैती अजिमा, तकती अजिमा, ङेतमरु अजिमा, बछला अजिमा र लुती अजिमा स्थापना गरी खटजात्रा चलाउनुभएको हो।
तस्विरहरू ः रूजन महर्जन