Sunrise appliances
Homeखेलकुदराष्ट्रपति रनिङ शिल्ड बूढीनन्दालाई

राष्ट्रपति रनिङ शिल्ड बूढीनन्दालाई

बाजुरा, २२ माघ : १४औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बूढीनन्दा नगरपालिकाले हात पारेको छ । बूढीनन्दाले बडीमालिका नगरपालिकालाई हराउँदै १३ वर्षपछि उक्त उपाधि चुमेको हो । कोल्टीस्थित जनप्रकाश माध्यमिक विद्यालयमा सम्पन्न प्रतियोगितामा बूढीनन्दाले १८ स्वर्ण, २१ रजत र दुई कास्यसहित ४१ पदक हात पारेको छ । यसैगरी बडीमालिकाले १८ स्वर्ण, १४ रजत र ६ कास्यसहित ३८ पदक प्राप्त गरेर दोस्रो र खप्तड छेडेदहले आठ स्वर्ण, १४ रजत, चार कास्यसहित २६ पदक सहित तेस्रो स्थान प्राप्त गरेको छ । यसैगरी बूढीगङ्गा नगरपालिकाले सात स्वर्ण, एक रजत र तीन कास्यसहित ११ पदक, स्वामिकात्र्तिक खापर गाउँपालिकाले छ स्वर्ण, दुई रजत र चार कास्यसहित १२ पदक, त्रिवेणीले दुई स्वर्ण, आठ रजत र छ कास्यसहित १६ पदक प्राप्त गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राकेश थापाले जानकारी दिनुभयो । यस्तै प्रतियोगितामा गौमुलले चार स्वर्ण, तीन रजत गरी सात पदक, जगन्नाथले दुई स्वर्ण, दुई रजत र चार कास्य गरी आठ पदक र हिमाली गाउँपालिकाले एक कास्य मात्रै हात पारेको छ । सहभागी नौ पालिकामध्ये हिमालीले स्वर्ण र रजत दुवै पदकविहीन बनेको छ । यही माघ १५ देखि उक्त प्रतियोगितामा सुरु भएको थियो । नौ पालिकाका चार विधाका ६५ खेलमा एक हजार २९ जना खेलाडी सहभागी थिए । उक्त प्रतियोगिताको शुभारम्भ सांसद बद्रीप्रसाद पाण्डेले गर्नुभएको थियो । जितको शिल्ड बूढीनन्दा नगरप्रमुख जनककुमार बोहराले ग्रहण गर्नुभएको छ । जिल्ला खेलकुद समितिले शिल्ड हस्तान्तरण गरेको थियो । दोस्रो हुने बडीमालिका र तृतीयसहित अनुशासन विधाको पुरस्कार खप्तड छेडेदह गाउँपालिकालाई समेत प्रदान गरिएको छ । १५ औँ राष्ट्रपति रनिङ शिल्ड बूढीगङ्गा नगरपालिकाले आयोजना गर्ने जिम्मा लिएको छ । नगर उपप्रमुख माया कुँवरलाई बूढीनन्दा नगरपालिकाले ओलम्पिक हस्तान्तरण गरेर आयोजनाको जिम्मेवारी दिएको हो । यसअघि खप्तड छेडेदहले पनि बूढीनन्दालाई झण्डा हस्तान्तरण गरेको थियो ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Luniva Global
- Advertisment -
Luniva Global

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू