काभ्रेपलाञ्चोक, २५ माघ : पछिल्ला केही वर्षदेखि दुर्गम मानिएका काभ्रेपलाञ्चोकको दक्षिणी (महाभारत पर्वत श्रृङ्खला पारी) क्षेत्रमा पूर्वाधारलगायत विकासमा बजेट विनियोजन गर्न थालियो । बजेट आएपछि प्रक्रियागत ढङ्गबाट विशेषगरी विद्यालय भवन, सडक र पक्की पुलका निर्माण थालिए । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा सूचीकृतमध्ये अतिदुर्गम मानिएका काभ्रेपलाञ्चोकको दुई गाउँपालिका महाभारत र खानीखोलामा सुरु गरिएका पूर्वाधार विकासका काम हाल अलपत्र अवस्थामा रहेको पाइएको छ । काभ्रेपलाञ्चोक र प्रदेश राजधानीको जिल्ला मकवानपुर जोड्ने पुल निर्माण थालेको सात वर्ष भैसक्यो ।
काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–५ र मकवानपुरको बाग्मती गाउँपालिका–५ जोड्ने सिक्रेदोभानस्थित बागमती नदीमा निर्माण सुरु गरिएको पुल निर्माण अलपत्र परेपछि ती स्थानबाट आवतजावत गर्ने दुई जिल्लाका नागरिकले निकै सास्ती व्यहोर्दै आउनुपरेको छ । दुई वर्षमा निर्माण गर्न सम्झौता गरिए पनि सात वर्षसम्म पुल निर्माणको काम अलपत्र रहेको छ । पुल निर्माणका लागि स्थानीय र प्रदेश सरकारले बारम्बार ताकेता गरिरहेका छन् । पुल निर्माणको ठेक्का लिएको महादेव–शिखर–तामाकोशी–जेभीले समयमा काम सम्पन्न नगरेपछि एक वर्षदेखि प्रदेशस्थित भौतिक पूर्वाधार मन्त्रालयले चालु आर्थिक वर्षभित्र निर्माण सक्न निर्देशन दिएको छ । जेभीसँग भ्याटबाहेक रु ११ करोड ६५ लाखमा ठेक्का सम्झौता गरिएको थियो । मन्त्री युवराज दुलालले पछिल्लोपटक पुल निर्माणस्थलको अनुगमन गरेपछि निर्माण कम्पनीलाई चालु आवभित्र सक्न निर्देशन दिनुभएको छ । “निर्माण कम्पनीका प्रतिनिधिलाई चालु आवभित्र पुल निर्माण सक्न निर्देशन दिएका छौँ, उनीहरुले प्रतिबद्धता पनि जनाएका छन्”, मन्त्री दुलालले भन्नुहुन्छ । उहाँका अनुसार प्रदेश सरकारले पुराना ठेक्का भएका पुल, सडकलगायतका आयोजना चालु आवभित्र निर्माण सम्पन्न गर्ने या ठेक्का तोड्ने भन्ने विषयमा आव २०८०÷८१ का नीति तथा कार्यक्रममा नै घोषणा गरिएको छ । तत्कालीन जिल्ला विकास समितिको कार्यालय मकवानपुरले आर्थिक वर्ष २०७३÷७४ मा बोलपत्र आह्वान गरी बाग्मती नदीमा पुल निर्माणको काम अघि सुरु गराएको थियो ।
दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको पुल निर्माण नहुँदा काभ्रेपलाञ्चोकको खानीखोला र महाभारत गाउँपालिकाका नागरिकले प्रदेश राजधानी हेटौँडा आवतजावत गर्न सास्ती व्यहोर्नुपरेको महाभारतका अध्यक्ष कान्छालाल जिम्बाले बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पुल नबन्दा दुई गाउँपालिकाका नागरिकले निकै सास्ती खेप्नुपरेको छ, निर्माण भएपछि प्रदेश राजधानी हुटौँडा पुगेर काम सम्पन्न गरी साँझ घर आइपुग्ने अवस्था रहन्छ ।” निर्माण सुरु भएदेखि हालसम्म मकवानपुरतर्फ पिल्लर उठाउने, नदीको बीचमा ‘पाइलिङ’को काम र काभ्रेपलाञ्चोकतर्फ बस्ने पिल्लरको पाइलिङको काम सुरु गरिएको छ । निर्माण कम्पनीका प्रतिनिधि खड्ग गोपालीले हालसम्म पुल निर्माणको ३० प्रतिशत काम सकिएको दाबी गर्नुभएको छ । उहाँका अनुसार आउँदो फागुन मसान्तसम्म पिल्लर उठाउने काम सकेर मकवानपुरतर्फको एउटा ल्याब ढलान गरिनेछ ।
काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रस्थित डाँडापारी (महाभारत पर्वत श्रङ्खला पारी)मा रहेको महाभारत र खानीखोला गाउँपालिकाका नागरिक किनमेलका लागि काभ्रेपलाञ्चोकको सदरमुकाम धुलिखेललगायत बनेपा, पनौती आउनभन्दा मकवानपुरको हेटौँडा नजिक पर्दछ । यसकारण पनि यहाँका दुई गाउँपालिकाको नागरिक पुल निर्माण छिटो होस् भन्ने चाहन्छन् । “दुई घण्टामा खानीखोलाको केन्द्र तालढुङ्गाबाट प्रदेश राजधानी हेटौँडा पुगिन्छ, त्यसैले यहाँको पुल बन्दा हामीलाई सजिलो हुन्छ”, तालढुङ्गाका रामप्रसाद तिमल्सिनाले भन्नुभयो । निर्माण व्यवसायी गोपालीले सडक नै नभएको स्थानमा पुल निर्माणको ठेक्का लगाइएकाले सामग्री ढुवानीका लागि पहिला सडक बनाउँदा केही ढिलाइ भएको बताउनुहुन्छ । उहाँका अनुसार पुल निर्माण हुने स्थानसम्मका लागि साडे पाँच किलोमिटर पहुँच सडक खन्ने क्रममा पुल निर्माण गर्ने दुई वर्षको समय सकिएको थियो । यस्तै यस्तै तत्कालीन जिविस खारेज भएपछि दश महिना अन्योल रहेका कारण पनि पुल निर्माणको काम समयमा नै सुरु गर्न नसकिएको अर्का व्यवसायी विजय थापाको भनाइ छ ।
यस्तै खानीखोला गाउँपालिका–५ तालढुङ्गामा निर्माण सुरु गरिएको १० शय्याको आधारभूत अस्पताल डेढ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । विसं २०७८ असार २९ गते एक बर्षमा सक्नेगरी सम्झौता गरिएको सो अस्पताल बजेट अभावमा अलपत्र अवस्थामा रहेको हो । अस्पताल निर्माणपछि नजिककै उपचार गर्न पाउने आशामा बसेका स्थानीय उपचारका लागि सदरमुकाम आउनुपर्ने बाध्यता रहँदै आएको छ । स्थानीयस्तरमा उपचार अभावकै कारण मृत्युको मुखमा पुग्न बाध्य हुनुपरेको स्थानीयवासीको गुनासो गर्दै आएका छन् । “अस्पताल नभएकै कारण स्थानीय नागरिकले अकालमै ज्यान गुमाउनु परेको छ”, गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ भन्नुहुन्छ । उहाँका अनुसार कच्ची सडक बर्षायाम वा अन्य कारण सडक बन्द हुँदा एम्बुलेन्स जान सक्दैन र नजिकै अस्पताल छैन । निर्माणाधीन अवस्थामा रहेको अस्पताल दुई तला बनेपछि अलपत्र रहेको हो । उक्त अस्पताल निर्माण कार्य बहुवर्षीय बजेटमा समावेश गर्नुपर्ने थिङको भनाई छ । चालु वर्षमा प्रदेश सरकारमार्फत विनियोजित रु तीन करोड बजेट अझै निर्माण ब्यवसायीलाई भुक्तानी नहुँदा निर्माणको कामलाई निरन्तरता नदिएको बताइयो । अध्यक्ष थिङका अनुसार चालु वर्षमा निर्माण व्यवसायीको रकम भुक्तानी गरी थप कार्यका लागि बजेट विनियोजन हुँदा मात्रै अस्पताल बन्ने कुराको सुनिश्चित हुन्छ । तत्कालीन नेकपा नेतृत्वको सरकारले देशभरका स्थानीय तहमा आधारभूत अस्पताल निर्माणको कार्य प्राथमिकतामा राखेसँगै तालढुङ्गा स्वास्थ्य चौकीलाई आधारभूत अस्पतालका रूपमा विकास गर्ने गरी १० शैय्याको अस्पताल निर्माणकार्य सुरु गरिएको थियो । तुन्दी–जम्बुदीप जेभी निर्माण कम्पनीले खानीखोला गाउँपालिकाको आधारभूत अस्पताल निर्माणका लागि रु १२ करोड ५४ लाखमा सम्झौता गरेको थियो । निर्माण व्यवसायीलाई कार्य सम्पन्न गरेका आधारमा रु दुई करोड पचास लाख भुक्तानी गरिएको जनाएको छ । पहाडी क्षेत्र भएका कारण खानीखोलाबाट सदरमुकाम आउने कच्ची सडक सामान्य वर्षामा पनि अवरोध हुने गर्दछ । खानीखोला मकवानपुर जिल्लाबाट नजिकै भएपनि वाग्मती खोलामा २०७३ सालमा ठेक्का लगाइएको पुल निर्माण नहुँदा आवतजावतमा निकै कठिनाई छ । यस गाउँपालिकामा सुत्केरी महिला उत्थान कार्यक्रम लागू नहुँदा छिमेकी महाभारत गाउँपालिकामा ल्याई सुत्केरी हुन नसकेका महिलाको उद्धार गर्नुपर्ने बाध्यता रहँदै आएको छ । यसैगरी जिल्लाको दुर्गम डाँडापारी क्षेत्रकै महाभारत गाउँपालिकामा भूकम्पपछिको पुनःर्निर्माणअन्तर्गत निर्माण सुरु गरिएका तीन विद्यालय भवनको काम अलपत्र परेको छ । एसियाली विकास बैङ्क (एडिबी)को ऋण सहयोगमा डिआरएसपी–३ अन्तर्गत पुनर्निर्माण सुरु गरिएका ती विद्यालय भवन निर्माणको काम अलपत्र परेको हो । डिआरएसपी–३ अन्तर्गत महाभारत गाउँपालिका–१ को गोकुल मावि, वडा नं २ कुपिन्टारस्थित कालीदेवी मावि र वडा नं ८ घर्तीछापस्थित जनकल्याण माविको भवन पुनर्निर्माण सुरु गरिएको थियो । महाभारत गाउँपालिकामा रहेका तीन वटा विद्यालय भवन पुनर्निर्माणका लागि २०७८ साल कात्तिक ५ गते केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (सिएलपियुआई) र टिडिआई–आशिष निर्माण सेवा जेभीबिच सम्झौता भएको थियो । डेढ वर्षभित्र विद्यालय भवन निर्माणको काम सम्पन्न गर्ने सहमति भए पनि सम्झौता भएको दुई वर्ष बितिसक्दा हालसम्म कुनै पनि विद्यालयको काम ६० प्रतिशतभन्दा माथि हुन सकेको छैन । केन्द्रीय आयोजना कार्यान्वयन एकाइका इन्जिनियर अशोक अधिकारी एशियाली विकास बैङ्कको ऋण सहयोगमा डिआरएसपी–३ अन्तर्गत पुनःर्निर्माण सुरु गरिएका विद्यालय निर्माणमा ढिलाइ भएको बताउनुहुन्छ ।