Sunrise appliances
Homeशिक्षाअन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन हुँदै

अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन हुँदै

काभ्रेपलाञ्चोक, २ फागुन : काभे्रपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)ले भोलि बिहीबारदेखि ‘अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन’को आयोजना गरेको छ । केयूले नेपालको शैक्षिक इतिहासमा पहिलोपटक तीन दिने सो सम्मेलन आयोजना गर्न लागेको हो ।

नेपालको उच्च शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्ने तथा अन्तर्राष्ट्रियस्तरमा विश्वविद्यालयको सम्बन्ध स्थापित गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलनको आयोजना गरेको केयूका उपकुलपति प्रा डा भोला थापाले जानकारी दिए । उनका अनुसार भारतीय विश्वविद्यालय सङ्घको आयोजना एवं काठमाडौँ विश्वविद्यालयको व्यवस्थापनमा आयोजित सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश, मलेसिया, थाइल्याण्डलगायत एक सय ५० देशका विश्वविद्यालयका उपकुलपति तथा शिक्षाविद्को उपस्थिति रहने छ ।

सम्मेलनमा विश्वले उच्च शिक्षाको क्षेत्रमा भोगिरहेको समकालीन मुद्दा, उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण, अन्तर–विश्वविद्यालय सहकार्य, वैश्विक उच्च शिक्षा नीति आदि विषयमा छलफल हुने उपकुलपति प्रा डा थापाले बताए । सम्मेलनमा दुई सय २७ सहभागीले सहभागिता जनाउने निश्चित गरेको विश्वविद्यालयले जनाएको छ । सम्मेलनमा अधिकांश सहभागी भारतीय विश्वविद्यालयबाट हुनेछन् भने दक्षिण पूर्वी एसियाली क्षेत्र, युरोप र अफ्रिकाका विश्वविद्यालयका प्रतिनिधिसमेत सहभागी हुनेछन् ।

सम्मेलनमा उच्च शिक्षण संस्थामा भूमण्डलीकरणबारे नयाँ खोज–अनुसन्धान, अन्तर्राष्ट्रिय सहयोग तथा अनुभाव आदानप्रदानलाई प्रोत्साहित गर्ने, साझा सञ्जाल निर्माण, उत्तम साझेदारी अभ्यास, तथा पारस्परिक सहयोग आदानप्रदान गर्ने विषयमा केन्द्रित हुने जनाइएको छ । केयूको प्रवक्ता एक्कुमाया पुनले सम्मेलनमा उच्च शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्ने प्रभावकारी रणनीतिबारे छलफल, देश–देशका विद्यार्थीबीच अनुसन्धानका अनुभव तथा पाठ्यक्रम विकाससहितका विषयमा समेत बृहत् छलफल हुने बताए ।

यस्तै सम्मेलनमा उच्च शिक्षामा अन्तर्राष्ट्रिय सहयोग र साझेदारीका विषयमा विज्ञ–विशेषज्ञबाट अनुसन्धान साझेदारी, विद्यार्थी आदानप्रदान कार्यक्रम, संयुक्त डिग्री कार्यक्रम र प्राज्ञिक साझेदारीका फाइदा, उच्च शिक्षाको विश्वव्यापी नीति, नियमन तथा समान मानक, विद्यार्थी गतिशीलता र त्यसको विविधतामा अन्तर्राष्ट्रिय अनुभवका बारे कार्यपत्र प्रस्तुत गरिने जनाइएको छ । साथै सम्मेलनमा नेपाल चिनाउन विभिन्न जातजातिको सांस्कृतिक झाँकी, नेपाली सङ्गीत चिनाउन केयू स्कुल अफ आर्टस्का साथै कुटुम्ब ब्याण्ड तथा नेपाल प्रहरीको सांस्कृतिक टोलीले नेपालको सातै प्रदेश, हिमाल, तराई, पहाडको नाचगान र संस्कृतिबारे नेपाली लोकबाजा प्रस्तुति रहेको जनाइएको छ ।

केयूले यसअघि पुस दोस्रो साता एकेडेमिया इण्डष्ट्री को–ओपरेशनले ‘एकेडेमिया इण्डष्ट्री मिट–२०२३’ को आयोजना गरेको थियो । नेपालमा पहिलोपटक आयोजना गरेका उक्त मिटमा सरकार, उद्योग र प्राज्ञिक संस्थालाई एकै छातामुनि आबद्ध गराई देश विकासमा सहकार्य गर्ने उद्देश्यले तीन क्षेत्रका बौद्धिक व्यक्तित्वलाई मिटमा सहभागी गराएको थियो ।

उक्त कार्यक्रममा देशको शिक्षा, उद्योग र नीति–निर्माणमा रहेका विद्यमान समस्याको पहिचान गरी समाधान, अनुसन्धान र उद्योगबीच सहकार्य बढाउँदै औद्योगिक विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने तथा राज्यको नीतिलाई रोजगारमुखी र औद्योगिकमैत्री बनाउने विषयमा बृहत् छलफल तथा अन्तक्र्रिया भएको थियो ।

उपकुलपति प्राडा थापाका अनुसार उक्त सम्मेलनमा पछिल्लो समय नेपालको उच्च शिक्षामा देखापरेको समस्या, चुनौती तथा विद्यार्थीको बाहिरिँदो क्रमलाई रोक्न र रोजगार सिर्जनाका लागि नयाँ विकल्पबारे महत्त्वपूर्ण छलफल भएको बताए । उनका अनुसार यस्तो सम्मेलनलाई आवश्कयतानुसार निरन्तरता दिइने योजना बनाइएको छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Luniva Global
- Advertisment -
Luniva Global

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू