Sunrise appliances
Homeस्थान विशेष९०० वर्ष पूरानो डोल्पाको ‘बाला त्रिपुरासुन्दरी मन्दिर, दर्शन गरेमात्र पनि मुक्ति मिल्ने...

९०० वर्ष पूरानो डोल्पाको ‘बाला त्रिपुरासुन्दरी मन्दिर, दर्शन गरेमात्र पनि मुक्ति मिल्ने विश्वास 

डोल्पा जिल्ला क्षेत्रफलको हिसाबले मात्र ठूलो जिल्ला नभैकन धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पर्यटकीय हिसाबमा पनि धनी छ । डोल्पामा प्रचूर पर्यटकीय सम्भावना बोकेका थुप्रै पर्यटकीय स्थलहरू छन् । दर्जनौं धार्मिकस्थलहरूको प्रचार-प्रचार तथा विकास गर्नसके डोल्पामा लाखौं धार्मिक पर्यटकहरू भित्र्याउन सकिने प्रशस्त सम्भावना रहेको छ । डोल्पाली लगायतका विभिन्न जिल्ला बासीहरूको अटुट धार्मिक विश्वास बोकेका डोल्पाका अन्य धार्मिक सम्पदाहरू मध्ये श्री बाला त्रिपुरा सुन्दिरी मन्दिर पनि एक हो । प्रचूर धार्मिक पर्यटकीय सम्भावना बोकेर पनि ओझेलमा पर्दै आएको यस मन्दिरको नेपालका अन्य मन्दिरहरू भन्दा पृथक धार्मिक महत्व रहेको छ ।

इ.सं. १११४ सालमा स्थापना भएको यस मन्दिर भौगोलिक रूपमा पनि पृथक छ । यस मन्दिरको पूर्वतर्फ सुन्दरी गंगा, पश्चिममा ताम्राबणी नदी, उत्तरमा मुकुटेश्वर हिमाल, दक्षिणमा भैरवी गंगा लगायतका प्रसिद्ध तीर्थस्थलहरू रहेका छन् भने बीचको टाकुरामा यस मन्दिर अवस्थित छ । यस मन्दिरमा सत्य युगमा श्री महादेवले हिमालय पर्वतकी पुत्री सत्यदेवीको मृत शरीर बोकेर पृथ्वी भ्रमण गर्ने क्रममा यस मन्दिरमा सत्यदेवीको कन्डयालो (ढाड) पतन भएको कुरा हिन्दुहरूको प्रसिद्ध धर्मग्रन्थ श्रीस्वस्थानीमा उल्लेख छ । त्यसैले यस पवित्र भूमिलाई भक्तजनहरू ठूलो शक्ति पीठ रूपमा मान्ने गर्दछन् । यस मन्दिरको महत्वलाई हिन्दुधर्मका विभिन्न धम्रग्रन्थमा उल्लेख गरिएको र यदि जो कसैले यस मन्दिरमा आएर दर्शनमात्र गरे मुक्ति मिल्ने विश्वास गरिन्छ ।

यस मन्दिरमा सत्यदेवीको कन्डयाउलो पतन हँुदाको बखतमा यस स्थानमा मेघ (वर्षा) आएर विभिन्न आरधना गरेर देवीकोे पूजाआजा गरेकाले ईश्वरी प्रसन्न भएर यस क्षेत्रमा महा खडेरी परेकोबेला बरदान पाइ यस क्षेत्रमा महाखडेरी परेपछि सम्पूणर् जिल्लाबासीहरू आएर पूजाआजा गरे पानी पर्ने जनविश्वास रहेको छ । डोल्पामा खडेरी परेको बेला सम्पूणर् जिल्लाबासी आएर विधिविधानका साथ पूजाआजा गरे पानी पर्ने तथा असोज कात्तिकमा पानी धेरै परेर बालीनाली कुहिन लागेपछि फेरि सबै मिलेर पूजाअजा गरे पानी रोकिने स्थानीयबासीहरू बताउँछन् ।

मन्दिरको ईतिहास अचम्मको रहेको छ । परापूर्बकालमा डोल्पाको त्रिपुराकोट गाविसको कोट गढिमा बाइसे चौबीसे राज्य अन्तर्गत राजाबिक्रम शाहीको दरबार थियो । शाहीले डोल्पाका भएको नौराज्यको सञ्चालनको जिम्मा पाएका थिए । उनले यसै कोट गढीका १४ घर विष्टलाई आफ्ना काजीका रूपमा राखेका थिए । अहिले मन्दिर भएको ठाउँमा राजाको दरबार थियो । त्यस दरबार नजिकै एउटा अचम्मको धान कुट्ने ओखल थियो ।

नजिकैको ओखलमा यहाँका मान्छेहरूले धान कुटने गर्दथे । यस ओखलमा धान कुट्दा अचम्मका याकलापहरू देखिन थाले । कहिले चारपाथि धान कुट्दा आठ पाथी चामल हुने र कहिले दुई पाथी धान कुट्दा दुई माना चामल हुने गर्दथ्यो । यस्ता अचम्मका कुराहरू हुन थालेपछि यो कुरा विष्ट की कजेनीहरूले आफ्ना काजीहरूलाई भने । काजीहरूले यो कुरा थाहा पाएपछि आफ्ना राजा विक्रम शाहीलाई सुनाए । शाहीले यस्तो अचम्मको कुरा थाहा पाएपछि आफ्ना प्रजाहरूलाई बोलाएर ओखल उत्खनन् गर्ने सल्लाह दिए ।

सल्लाह गरेकै भोलिपल्ट बिहानैदेखि सबै गाँउलेहरू बोलाएर ओखल उत्खनन गर्न लगाए । त्यो दिन ओखल उत्खनन् कार्य बेलुकीसम्म गर्दा पनि सकिएन । बाँकी काम भोलि बिहानैदेखि सुरु गर्ने शर्तमा सबैजना सल्लाह गरेर आ-आफनो घर फर्किए । भोलि बिहान सबेरै सबैजना फेरि ओखल उत्खनन् गर्न आउँदा त जस्ताको तस्तै उत्खनन् नगरेको जस्तो देखिएपछि सबैजना चकित परे ।

यो कुरा राजाले थाहा पाएपछि हजारौं मान्छेहरू बोलाएर रातदिन त्यो ओखल उत्खनन् गर्न लगाए । लगातार दुई दिनसम्म काम गर्दा त्यो ओखल उत्खनन् भयो । त्यो अचम्मको ओखलभित्र तलतिर तामाको ओदान ओेदानमाथि घ्यूको कराई कराईमाथि तामाको थाली र थालीमाथि षट्कोणयन्त्र, त्यसमाथि कुँडेस र त्यसभित्र नवदुर्गा भगवती की नौ बहिनी पुतलीहरू रहेको देवीका पुराना पुराना धर्मग्रन्थमा उल्लेख छ ।

यसैबेला यी देवीरूपी पुतलीहरू बाँकेको बागेश्वरी, जुम्लाको कनिका सुन्दरी, सल्यानको खैरबाँङ, बैतडीको त्रिपुरेश्री, बाजुराको मालिकाका नामले प्रसिद्ध छन् । बाँकी चार बाला, त्रिपुरा, सुन्दरी, देवी यस मन्दिरमा बसिन् भन्ने विश्वास छ । अहिले यी देवी महाकाली, महालक्ष्मी, महासरस्वतीका नामले प्रसिद्ध छिन् । यस मन्दिरमा प्रातःकाल र सायनकालमा पूजाआजा हुने गर्दछ । यस मन्दिरको पूजाआजा व्यवस्थापन नौ घर पूजारीहरूले वर्षेपिच्छे पालैपालो गर्दै आएका छन् । यस मन्दिरको व्यवस्थापनको लागि पूजारी, निशानी, छडिदार, फुलारा, दमाइ, कुलाला, सार्कीको आ-आफनै जिम्मेवारी रहेको छ ।

नेपालका बाइसे चौबीसे राज्य एकीकरण गर्ने क्रममा बहादुर शाहको टोली मुस्ताङ हुँदै डोल्पाका नौ राज्य एकीकरण गर्न आउँदा डोल्पाको सहरतारा गाविसको बाँदर फडका भन्ने खोलाका पुल नलाग्दा बहादुर शाहको टोली डोल्पा एकीकरण नगरेर नै फर्किन लागेपछि यहाँ के शक्ति छ भनेर त्यहाँका स्थानीयबासीसँग सोध्दा यहाँ अरु केही छैन । त्रिपुराकोट भन्ने ठाउँमा त्रिपुरा सुन्दरी देवी छन् । यी देवीलाई हामी पनि वर्षेनी पूजाआजा गर्दछौं भनेर बताउँदा बहादुर शाहले हे भगवती यो खोलामा पुल लागोस् हाम्रो डोल्पा एकीकरणको काम सफल होस् हामी हजुरलाई यस गाविसमा पर्ने खानी र बैजिबाडा गाउँ त्रिपुरा सुन्दरीको गुठी राख्छौं भनि माटो समातेपछि पुल लागेको स्थानीयबासीहरू बताउँछन् ।

नेपालमा पर्यटन प्रबद्र्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने गरिएको भए पनि डोल्पाका पर्यटकीयस्थलहरूको संरक्षण तथा विकासतर्फ पुग्न नसकेकेको स्थानीयको आरोप छ । पृथक धार्मिक महत्व बोकेको डोल्पामा यस्ता धार्मिकस्थलहरूको संरक्षण, प्रसार-प्रसार, विकासको लागि समयमै सम्बन्धित निकायको ध्यान पुग्नु जरुरी छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू