Sunrise appliances
Homeप्रदेशप्रदेश ५अल्पसङ्ख्यक समुदायका सवाललाई मिडियामा उठान गर्नुपर्नेमा सम्पादकको जोड

अल्पसङ्ख्यक समुदायका सवाललाई मिडियामा उठान गर्नुपर्नेमा सम्पादकको जोड

खजुरा (बाँके), ९ फागुन : अल्पसङ्ख्यक समुदायका सवाललाई स्थानीय सञ्चारमाध्यममा उठाउनुपर्नेमा सम्पादकहरूले जोड दिएका छन् । उनीहरूले अल्पसङ्ख्यक समुदायका मुद्दा ‘गम्भीर र संवेदनशील’ भन्दै ती विषयमा निरन्तर कलम चलाउन आह्वान गरेका छन् । सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगञ्जद्वारा सञ्चालित ‘नागरिक समाज र मिडिया’ परियोजनाअन्तर्गत मङ्गलबार आयोजित ‘फेलो’ पत्रकार र सम्पादकबीचको अन्तरसंवादमा अल्पसङ्ख्यक समुदायभित्रका महिला, बालबालिका र बालविवाहका मुद्दा गम्भीर र संवेदनशील भएका सम्पादकहरूले बताएका थिए ।

नेपाल पत्रकार महासङ्घ बाँकेका पूर्वसभापति तथा गोरेटो अनलाइनका सम्पादक तथा प्रकाशक नीरज गौतमले पत्रकारिता रमाउनेका लागि होइन, यो त सङ्घर्ष गर्न सक्ने, विचार प्रवाह गर्न सक्ने, समाजको असल चरित्र निर्माण गर्न सक्नेका लागि हो, भन्नुभयो । महासङ्घ बाँकेका पूर्वअध्यक्ष तथा दैनिक नेपालगञ्जका प्रधानसम्पादक झलक गैरेले अल्पसङ्ख्यक समुदायका पत्रकारहरूलाई निरन्तर पत्रकारितामा लाग्न आग्रह गर्दै पत्रकारिता पेसा अन्य पेसाभन्दा फरक भएको बताउनुभयो ।

उहाँले अल्पसङ्ख्यक समुदायभित्रकै पत्रकारका लागि राम्रो अवसर र सम्भावना भएकाले मिडियामा काम गर्न आग्रह गर्नुभयो । कालपृष्ठ दैनिकका सम्पादक कमल खत्रीले विषयवस्तुको गहिराइमा पुगेर काम गर्न आवश्यक भएको भन्दै अल्पसङ्ख्यक समुदायका मुद्दालाई सञ्चारमाध्यमले उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । अवधी पत्रकार सङ्घ नेपालका संस्थापक अध्यक्ष सूर्यलाल यादवले अल्पसङ्ख्यक समुदायको सशक्तीकरणले यो समुदाय ‘मिडिया’को मूलप्रवाहमा आउने उल्लेख गर्दै पत्रकारितामा दिगोरूपमा लाग्ने काम सहज नभएको बताउनुभयो ।

त्यस अवसरमा लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल यादवले अल्पसङ्ख्यक समुदायका मुद्दालाई सो समुदायले मात्रै गहन अध्ययन गर्न सक्ने उल्लेख गर्दै सत्य, तथ्य समाचारमात्र प्रकाशन हुनुपर्ने बताउनुभयो । उहाँले ग्रामीण क्षेत्रका जनजीविकासँग जोडिएका समस्यासहितको सवाललाई पत्रकारले पहिलो प्राथमिकताका साथ उठान गर्नुपर्नेमा जोड दिनुभयो । संस्थाले सञ्चालन गरेको परियोजनाअन्तर्गत लुम्बिनी प्रदेशको बाँके, बर्दिया, दाङ, कपिलवस्तु र रुपन्देहीबाट थारू र अवधीभाषी १५ जना पत्रकारले विभिन्न सवालमा खोजमूलक समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशन गरेका छन् ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू