काठमाडौं, ९ फागुन
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार संयुक्त बैण्ड कन्सर्ट कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी संगीत विद्यालयका म्युजिसियन र बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्का म्युजिसियनबाट संयुक्त रूपमा उक्त कन्सर्ट सम्पन्न भएको हो ।
सो अवसरमा नेपाल प्रहरी संगीत विद्यालयका तर्फबाट प्रहरी नायव उपरीक्षक भुला राज खनाल समेतको टोली र बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्का तर्फबाट क्याप्टेन Esther Hayes समेतको टोलीद्वारा विभिन्न सुमुधर धुन प्रस्तुत गरिएको थियो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले Defence Attache, Colonel, Paul Smith र बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्को तर्फबाट क्याप्टेन Esther Hayes लाई कृतज्ञताको चिनो प्रदान गर्नुभयो । सोही अवसरमा Defence Attache, Colonel, Paul Smith र क्याप्टेन Esther Hayes ले प्रहरी महानिरीक्षक कुँवरलाई समेत कृतज्ञताको चिनो प्रदान गर्नुभयो ।
वि.सं.२००९ सालमा शुरु भएको नेपाल प्रहरी संगित विद्यालय बैण्डद्वारा विभिन्न राष्ट्रिय दिवस, खेलकुद, संगठनका विभिन्न कार्यक्रम एवं विभिन्न स्थलहरूमा समयसमयमा सहभागिता र कन्सर्टको आयोजना गर्ने गरेको छ । बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज् र नेपाल प्रहरी संगित विद्यालयको सम्बन्ध सन् २००४ सालदेखि नै रहँदै आएको छ । संयुक्त रूपमा यी दुवै बैण्डहरूद्वारा समन्वय र सहकार्यमा संयुक्त तालिम र कन्सर्टहरू हुने गरेका छन् ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष तथा पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्का प्रतिनिधिहरू लगायत अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।