Sunrise appliances
Homeकाठमाडौंपूर्वराष्ट्रपति यादव र पूर्वमन्त्री उपाध्याय महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कारबाट सम्मानित

पूर्वराष्ट्रपति यादव र पूर्वमन्त्री उपाध्याय महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कारबाट सम्मानित

काठमाडौँ, १३ फागुन : राष्ट्रपति रामचन्द्र पौडेलले ‘महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार तथा सम्मान–२०८०’ पूर्वराष्ट्रपति डा रामवरण यादवलाई प्रदान गर्नुभएको छ । वर्तमान संविधान निर्माणक्रममा समन्वयकारी भूमिका निर्वाह गरेर संविधानसभाबाट जनताले बनाएको संविधान जारी गर्न महत्वपूर्ण योगदान पु¥याएबापत सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा यादवलाई सो पुरस्कार प्रदान गरिएको हो । महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानद्वारा आज राष्ट्रपति भवनमा आयोजित १०३औँ महेन्द्रनारायण निधि जन्मजयन्ती पुरस्कार तथा सम्मान कार्यक्रममा राष्ट्रपति पौडेलले प्रथम राष्ट्रपति डा यादवलाई सो पुरस्कार प्रदान गर्नुभयो । राष्ट्रपति पौडेलले महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार तथा सम्मान २०७९, लोकतान्त्रिक आन्दोलनका अग्रज योगप्रसाद उपाध्याय, प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कार तथा सम्मान २०८० समाजसेवी दुर्गा घिमिरे तथा प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कार तथा सम्मान २०७९ सङ्गीत साधक सरिता मिश्रलाई प्रदान गर्नुभयो । त्यस अवसरमा राष्ट्रपति पौडेलले देश, जनता र समाजलाई केन्द्रमा राखेर राजनीति गर्नुभएका नेता निधिले गरिब, पिछडिएका र आर्थिक अवस्था कमजोर भएका वर्गको उत्थानमा ध्यान दिनुभएको स्मरण गर्नुभयो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले निर्दिष्ट गरेका कामप्रति हाम्रो ध्यान अझै जान नसक्दा कतै जनतामा निराशा छाएको हो कि भनेर चिन्ता प्रकट भइरहेको राष्ट्रपतिले उल्लेख गर्नुभयो । राष्ट्रपति पौडेलले कतिपय सन्दर्भमा हाम्रा आफ्नै राजनीतिक र शासकीय कमजोरीले यस्तो अवस्था उत्पन्न भएको होइन भन्दै कतै हाम्रा कमजोरीलाई व्यवस्थाका कमजोरी भनेर लोकतन्त्रको आदर्शलाई अपव्याख्या गर्ने काम त भइरहेको छैन भन्ने प्रश्न गर्नुभयो । “मलाई लाग्छ यसो हुनुमा निश्चय नै अनेक कारण छन् तर हाम्रा कमजोरी पनि त्यसका कारण हुन् । अतः त्यसलाई हाम्रो राजनीतिक निष्ठाले जित्नुपर्छ र लोकतन्त्रको पवित्रतालाई स्थापित गर्दै यसलाई अझ परिणाममुखी बनाउन आवश्यक छ”, उहाँले भन्नुभयो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन र यसैका माध्यमबाट मुलुकसामु देखापरेका यावत समस्या समाधान गरी जनताले अपेक्षा गरेअनुरूप आर्थिक रुपमा समृद्ध नयाँ नेपालको निर्माण गर्न निधिजस्ता अग्रज नेताहरूको अटल विश्वास रहेको कल्याणकारी राज्य प्रणालीको अवधारणा, सिद्धान्त, मूल्य, मान्यता र आदर्श आज पनि उत्तिकै सान्दर्भिक रहेको राष्ट्रपतिले बताउनुभयो । “२००७ सालको क्रान्तिदेखि नै लोकतन्त्र स्थापना र पुनःस्थापनाका आन्दोलनहरूमा अग्रपङ्क्तिमा रहेर सक्रिय रहनुभएका महेन्द्रनारायण निधि नेपालको लोकतान्त्रिक आन्दोलनका शीर्ष तथा गान्धीवादी नेता हुनुन्थ्यो, निधिजीको स्मृति दिवसमा म उहाँंप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दछु”, राष्ट्रपति पौडेलले भन्नुभयो । उहाँले करिव पाँच दशक अहिंसा, शान्ति, लोकतन्त्र र सर्वसाधारण नागरिकसँग रहेर समुदायबीच सद्भावका पक्षमा, सामाजिक न्यायका पक्षमा निधिले गर्नुभएको काम हामी सबैका लागि सँंधै प्रेरणाको स्रोत भएको बताउनुभयो । सम्मानित प्रथम राष्ट्रपति यादवले महेन्द्रनारायण निधिको राजनीतिक योगदानको स्मरण गर्नुभयो । “प्रजातन्त्रको दियो बाल्ने महेन्द्रनारायण निधिको त्याग तपस्या र बलिदानको पछिपछि हामी लागेका हौँ । उहाँको आचारण, निष्ठा र प्रजातन्त्रप्रतिको प्रतिबद्धताले हामीलाई मार्गनिर्देश ग¥यो”, उहाँले भन्नुभयो, यस्तै, प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कारबाट सम्मानित दुर्गा घिमिरेले पुरस्कारका लागि प्रतिष्ठानप्रति आभार प्रकट गर्दै प्रजातन्त्रका लागि आन्दोलनदेखि जेलजीवनको भोगाइको स्मरण गर्नुभयो । उहाँले बेचबिखनमा परेका महिलाको उद्धार र आर्थिक सशक्तिकरणको अभियानमा अझ बढी दृढ सङ्कल्पित भएर अघि बढने बताउनुभयो ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू