पर्वत, फागुन २६ गते । सरकारले माध्यमिक तहसम्मको पठन पाठन निःशुल्क उपलब्ध गराउँदै आएको छ । उच्च शिक्षा पढ्नका लागि भने विद्यार्थीले शुल्क भुक्तानी गर्नुपर्ने व्यवस्था छ । आर्थिकरुपमा सबल विद्यार्थीले शुल्क तिरेरै भएपनि गुणस्तरीय शिक्षा लिइरहेका छन् ।
आर्थिकरुपमा विपन्न परिवारका विद्यार्थीले भने बिचैमा पढाई छाडेर बस्नुपर्ने वा विदेश पलायन हुने गरेको अवस्थालाई मध्यनजर गर्दै पर्वतको महाशिला गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई अनुदान उपलब्ध गराउन थालेको छ । उच्च शिक्षामा राम्रो विषय लिएर पढ्ने विद्यार्थीको सङ्ख्या न्यून हुँदै जाँदा मुलुकमा मात्र हैन पालिकामा पनि आवश्यक दक्ष जनशक्तिको अभाव भएपछि अनुदान नै दिएर पढाउन थालिएको हो ।
दक्ष जनशक्तिको उत्पादनका लागि उच्च शिक्षासम्म पढ्न प्रोत्साहित गर्ने उद्देश्यले यो कार्यक्रम लागू गरिएको गाउँपालिका कार्यालयले जनाएको छ । गाउँपालिकाले उच्च मावि र स्नातक वा स्नातकोत्तर अध्ययन गर्ने विद्यार्थीलाई छुट्टाछुट्टै अनुदान दिने भएको हो । उच्च माविमा गणित, विज्ञान तथा स्टाफ नर्स अध्ययन गर्ने विद्यार्थीलाई प्रोत्साहन स्वरूप वार्षिक ५० हजार उपलब्ध गराइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पराजुलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार यस वर्ष विपन्न तथा जेहेन्दार छ जना विद्यार्थीलाई उक्त अनुदान उपलब्ध गराइनेछ । विपन्न तथा असहाय परिवारका विद्यार्थीलाई उच्च शिक्षामा सहज पहुँच पुर्याउनका लागि मेडिकल, इन्जिनियरिङ, कृषि र भेटेरिनरी विषयमा स्नातक तह अध्ययन गरिरहेका वा अध्ययन गर्न इच्छुकलाई पनि अनुदान दिइने पराजुलीले बताउनुभयो । “यस्ता विद्यार्थीलाई वार्षिक एक लाख अनुदान उपलब्ध गराइने छ । जतिसुकै सङ्ख्यामा भए पनि स्नातक तहका विद्यार्थीलाई अनुदान दिने छौँ”, उहाँले भन्नुभयो ।
आर्थिक अभावका कारण कोही पनि विद्यार्थी गुणस्तरीय शिक्षा लिनबाट वञ्चित नहोउन् भन्ने उद्देश्यले विद्यार्थी अनुदान कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले गत आइतबार सूचना जारी गरी १५ दिनभित्र इच्छुक विद्यार्थीलाई पालिकामा सम्पर्क गर्न आग्रह गरिसकेको छ । अहिले पनि गाउँपालिकामा कृषि, पशु, स्वास्थ्यसम्बन्धी जनशक्ति र गणित तथा विज्ञान पढाउने शिक्षकको अभाव रहेको भन्दै यी विषय अध्ययन गर्ने विद्यार्थीलाई वार्षिक एक एक लाखका दरले चार वर्षसम्म अनुदान दिइने अध्यक्ष भुसालले जानकारी दिनुभयो ।
पालिकामा विज्ञान र गणित पढाउने शिक्षकको अभाव लामो समयदेखि खड्किँदै आएको भन्दै पटक पटक सूचना गर्दा पनि यी विषयका शिक्षक पदपूर्ति गर्न नसकिएको अध्यक्ष भुसालको भनाइ छ । “पालिकाभित्रबाट उच्च शिक्षा पढ्ने विद्यार्थीलाई चार वर्षसम्म सहयोग गर्नेछौँ । उक्त कार्यक्रम दक्ष जनशक्ति उत्पादन गर्न लागू गरिएको हो”, उहाँले भन्नुभयो । उक्त सुविधा लिने विद्यार्थीले पढाइ सकिएपछि न्यूनतम दुई वर्ष पालिकामा सेवा गर्नुपर्ने सर्त राखिएको गाउँपालिकाका अध्यक्ष भुसालले बताउनुभयो ।
यस्तो अनुदानले विद्यार्थीलाई मासिक शुल्क भुक्तानी र स्टेशनरी खरिद लगायतमा सहजता हुने अपेक्षा पालिकाको छ । पछिल्ला केही वर्षयता गाउँपालिकाले शिक्षाको गुणस्तर वृद्धिलाई जोड दिँदै आएको छ । पालिकाका सबै सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पनि पठनपाठन थालिएसँगै विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ । जिल्लाका सात पालिकामध्ये निजी विद्यालय नभएको महाशिला मात्रै रहेको अध्यक्ष भुसालले बताउनुभयो ।