Sunrise appliances
Homeकाठमाडौंकाठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरुमा नयाँ विद्यार्थीले भरिदैँ

काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरुमा नयाँ विद्यार्थीले भरिदैँ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका सबैजसो सामुदायिक विद्यालयमा नयाँ विद्यार्थी भर्नाको चाप बढेको छ । दरबार हाइस्कूल (भानु माध्यमिक विद्यालय), रानीपोखरी, शिवपुरी माध्यमिक विद्यालय (महाराजगञ्ज), पशुपति मित्र माध्यमिक विद्यालय (मित्रपार्क), रत्नराज्य माध्यमिक विद्यालय (मध्यबानेश्वर), विश्व निकेतन माध्यमिक विद्यालय (त्रिपुरेश्वर), ज्ञानोदय माध्यमिक विद्यालय (वाफल), गीतामाता माध्यमिक विद्यालय (बिजेश्वरी), कोटेश्वर सरस्वती माध्यमिक विद्यालय (कोटेश्वर) मा विद्यार्थी भर्नाको चाप धेरै छ । शैक्षिक सत्र २०८१ का लागि वैशाख २ गते भर्ना अभियान सुरु भएको हो । यो क्रम ७ गतेसम्म चल्नेछ ।

भित्री सहरी क्षेत्रमा भएका सामुदायिक विद्यालयहरुमा भर्नाका लागि जनप्रतिनिधिहरु अहिले घरदैलो कार्यक्रम सुरू गरेका छन् । अभिभावकहरुलाई छोराछोरी नजिकको सामुदायिक विद्यालयमा भर्ना गराउन अनुरोध गर्दै घरदैलाे गरेका हुन् । वडा नं. १८ को भक्त माध्यमिक विद्यालय (रक्तकाली) मा बालबालिका भर्ना गराउन आयोजना गरिएको प्रभातफेरीमा सहभागि वडाध्यक्ष न्हुच्छेकाजी महर्जनले भन्छन्, ‘महानगरपालिका भित्रका सामुदायिक विद्यालयहरु संस्थागत विद्यालयका प्रतिस्पर्धी होइनन् । यी त पूर्वाधार, साधन, स्रोत र उपकरणजस्ता भौतिक उपलब्धता, शिक्षण सिकाइका लागि शिक्षक तालिमले गुणस्तरीय शैक्षिक क्रियाकलापमा अगाडि छन् । विद्यालयमा अहिले शिक्षा दिने मात्र होइन, सिप पनि सिकाइन्छ । प्रारम्भिक बाल विकासका कक्षाले बालमैत्री वातावरण तयार भएको छ । एकीकृत सिकाइ र शिक्षामा सिप कार्यक्रमले विद्यार्थीहरुको सिकाइको दायरा फराकिलो भएको छ ।’

यस बर्ष ‘करले होइन रहरमा – हाम्रा बालबालिका सामुदायिक विद्यालयमा’ र ‘शैक्षिक रुपान्तरण अभियानमा सिर्जनात्मक सिकाइ, सामुदायिक विद्यालय अभिभावकको पहिलो रोजाइ’ नारासहित भर्ना अभियान चलिरहेको छ । बैशाख ९ गतेबाट कक्षा सञ्चालन हुनेछन् ।

सामुदायिक विद्यालयहरुमा ‘पुस्तकरहित शुक्रबार’ कार्यक्रमअन्तर्गत प्रारम्भिक बाल विकास कक्षादेखि कक्षा ३ सम्मका विद्यार्थीलाई एकीकृत सिकाइ गराउन थालिएको छ । कक्षा ४ देखि ८ सम्म सिर्जनात्मक सिकाइ क्रियाकलाप हुन्छन् । कक्षा ९ र १० मा शिक्षामा सिप कार्यक्रम नियमित चलिरहेका छन् । कक्षा कोठाहरुमा स्मार्ट बोर्डबाट सूचना प्रविधिमा आधारित शिक्षण क्रियाकलाप हुन थालेका छ । यस्ता कारण सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुको चाप बढेको हो । 

शिक्षकको क्षमता बढाउन शिक्षक तालिम सञ्चालन भएका छन् । शैक्षिक गुणस्तर सुधारका लागि यस बर्ष करिब २ अर्व ७५ करोड रुपैयाँ बिनियोजित छ । 

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू