Sunrise appliances
Homeमुख्य समाचारकिर्तिपुर नगरपालिकामा विशेष पोलियो खोप अभियान सुरु: सबै ५ वर्षमुनिका बालबालिकालाई अनिवार्य...

किर्तिपुर नगरपालिकामा विशेष पोलियो खोप अभियान सुरु: सबै ५ वर्षमुनिका बालबालिकालाई अनिवार्य खोप प्रदान गरिने

किर्तिपुर नगरपालिका-८ – किर्तिपुर नगरपालिकाको स्वास्थ्य विभागले आफ्नो क्षेत्रभित्रका सबै घरमा ५ वर्षमुनिका बालबालिकालाई पोलियो खोप खुवाउने योजना बनाएको छ। यो विशेष पोलियो खोप अभियान साउन ९ गते सुरु हुनेछ। आज पालिकाले सम्पूर्ण वडाका जनप्रतिनिधिहरूलाई बोलाएर अभियानबारे जानकारी र छलफल गरेको थियो। नियमित खोप लिएका बालबालिकालाई पनि यो खोप अनिवार्य रूपमा उपलब्ध गराउन अनुरोध गरिएको छ।

पोलियो खोप ६ हप्ता, १० हप्ता र १४ हप्ता गरी ३ पटक मुखबाट (ओरल पोलियो भ्याक्सिन – ओपीभी) खुवाइन्छ। यस्तै, १४ हप्ता र ९ महिनाको उमेरमा सुईबाट (इनएक्टीभेटेड पोलियो भ्याक्सिन – आइपीभी) दिइन्छ।

किर्तिपुर नगरपालिकामा तथ्यांक अनुसार ९७% बालबालिकालाई पोलियो खोप दिइसकेको र हाल ३% बाकी रहेको पालिकाका स्वास्थ्य विभागका प्रमुख सन्तमान मानन्धरले बताए। उनका अनुसार महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीको टोली घरघरमा गएर पोलियो खोप खुवाउनेछ। यो खोप जन्मेदेखि ५ वर्षमुनिका सबै बालबालिकाका लागि हो।

विशेष अभियानको कारण:

नेपालमा सन् २०१० पछि व्यक्तिमा पोलियोको भाइरस देखिएको छैन। मानन्धरका अनुसार, पोलियो उन्मूलन रणनीतिअनुरूप सन् २०१७ देखि वातावरणीय निगरानी भइरहेको थियो। उपत्यकाका विभिन्न ५ ठाउँको ढलबाट महिनाको २ पटक नमूना लिएर पोलियो भाइरसको जाँच गरिन्थ्यो। यसै क्रममा सन् २०२४ (२०८१ जेठ १३ गते) काठमाडौँको टुकुचा र बागमती दोभानमा वागमती नदीतर्फको खण्डबाट (ढलबाट आएको पानी) लिइएको नमूनामा डिप्राइभ्ड पोलियो भाइरस-३ भेटियो। यसको रिपोर्ट २०८१ असार २९ गते आएको थियो। प्रयोगशाला परीक्षणमा यो भाइरस मुखबाट दिइने पोलियो भाइरसको उत्परिवर्तन भएको पत्ता लागेको हो।

उनका अनुसार, यही ठाउँमा जेठ २२ गते पनि नमूना लिइएको थियो तर यसमा भने भाइरस देखिएन। यसको अध्ययन भइरहेको मानन्धरले बताएका छन्।

प्रयोगशाला परीक्षणको नतिजाअनुसार, सो पोलियो भाइरस पोलियो खोपबाट उत्पन्न भएको पुष्टि भएको छ। पोलियो मुक्त देश घोषणा भएको २० वर्षपछि वातावरणमा पोलियो भाइरस देखिनुले चिन्ता उब्जाएको छ।

वातावरणीय निगरानीका लागि काठमाडौँ उपत्यका बाहिर विराटनगर, जनकपुर र पोखराका एक-एक ठाउँबाट महिनाको १ पटक नमूना लिने गरिएको छ। नेपालमा पोलियो उन्मूलन रणनीति २०२२–२०२६ का कार्यक्रम सञ्चालन भइरहेका छन्। सन् २०१० बाट व्यक्तिमा पोलियो नदेखिएपछि सन् २०१४ मा पोलियो मुक्त देश घोषणा गरिएको थियो।

बालबालिकामा शीघ्र लुलो पक्षघातका लक्षण देखिएमा तत्काल खबर गर्न महानगरपालिकाले अनुरोध गरेको छ। यसमा बालबालिकाका कुनै पनि अंग लुलो हुने, एक भाग नचल्ने जस्ता लक्षण हुन्छन्। पोलियोको असर ५ वर्षमुनिका बालबालिकामा धेरै हुन्छ। यस्ता लक्षण १५ वर्ष उमेरसम्मका बालबालिकामा देखिन सक्ने, विभागले बताएको छ।

पोलियो जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि हुन सक्छ। ५ वर्षमुनिका बालबालिका सबैभन्दा धेरै जोखिममा हुन्छन्। पोलियोको भाइरस दूषित खाना र पानीबाट सर्छ। यसकारण खाना र पानीको सफाइसँगै वातावरणीय स्वच्छतामा ध्यान दिन आवश्यक छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू