हरेक वर्ष भदौ १ गतेका दिन उपत्यकाको दक्षिणपश्चिमस्थित ऐतिहासिक प्राचीन बस्ती कीर्तिपुरमा बाघभैरव देवताको जात्रा गरिन्छ । स्वयम्भू र पशुपतिनाथको प्रादुर्भाव हुनुअगावै पुरानो बस्ती कीर्तिपुर, मातातीर्थ र साँगासँगै विस्तार भएको हो भन्ने कुरा गोपाल वंशावलीमा उल्लेख गरिएको छ ।
गोपालवंशी गोपालकमध्ये एक जनाको गाईले रातिराति काठमाडांैको गौशाला देवपाटन हाल पशुपतिनाथ रहेको स्थानमा थुनबाट सबै दूध झारेर आउने गर्दो रहेछ । यो कुरा थाहा पाएर गोपालका नाइके त्यस स्थानमा गई खनेर हेर्दा ऊ अग्निको ज्वाला निस्केर भष्म भएछ । पछि उसकै छोरा भुक्तमानले त्यही स्थानमा पशुपतिनाथको स्थापना गरिएको हो, भनिन्छ । भुक्तमानपछि जय गुप्त, परम गुप्त, भीम (हर्ष) गुप्त, भीम गुप्त द्वितीय, मणि गुप्त, विष्णु गुप्त र जययक्ष गुप्तसम्म आठ पुस्ता गोपालवंशीको राज्य मातातीर्थमा चलेको थियो, भनिन्छ ।
इतिहासका लेखक वासुपासाले ‘नरगो’ कीर्तिपुरको प्राचीन बस्ती भएकाले जहाँ खनेर हेरे पनि अझै पनि भग्नावशेष भेटिन सक्ने कुरा उल्लेख गरेका छन् । त्यस सयममा जंगलैजंगल भइरहेको कीर्तिपुरको डाँडामा ‘नरगो’ का गोठाला केटाकेटीले भेडाबाख्रा चराउन जान्थे । ती गोठालाले त्यहाँ माटोको बाघ बनाई खेलिरहेको बेलामा बाघको जिब्रो राख्न पात खोजेर ल्याउँदा त्यहाँ चराइरहेका सबै भेडाबाख्रा बाघले खाइसकेको रहेछ । गोठाला केटाहरूले यस्तो दृश्य देखेर डराई गाउँका मानिसलाई भन्न जाँदा सबै गाउँले आउँदा यस्तो आश्चर्यजनक दृश्य देखेछन् । जंगलको चारैतिरबाट बाघ कराएको आवाज सुनेर डराएर त्यहाँका सबै मानिस काठमाडौंको हाँडीगाउँमा बस्ती नै सरेको थिए, भनिन्छ ।
ती मानिस बसाइँ सरेपछि पांगा र नगांका ज्यापुरुलाई पनि बाघले दुःख दिन थालेछ । भेडा, बाख्रा, बोका, राँगालगायतका चौपाया खाएर बाघले दुःख दिएकाले मानिस त्रासमा बाँच्नुपर्ने भयो । यस्तो दुःख र त्रासबाट कसरी पार पाउन सकिन्छ भन्दै जान्ने एक जना तान्त्रिकलाई देखाउँदा माटोको बाघको शरीरमा भैरव वहन आएकाले यस्तो भएको हो भनेछन् । अब त्यो बाघलाई शान्त पार्न हरेक वर्ष सिंह संक्रान्ति अर्थात् भदौ १ गते भेडा, बोका र राँगा बलि दिएर बाघभैरवको जात्रा गर्नुपर्ने बताएछन् । त्यही बेलादेखि बाघभैरवको मन्दिर बनाएर पूजाआजा गरी जात्रा चलाउँदै आएको हो, भन्ने गरिन्छ ।
बाघभैरवस्थानमा चढाई राखेको कालु पाण्डेको ढाल, तरबार र पोसाकपछि राष्ट्रिय संग्रहालय छाउनीमा लगी प्रदर्शनका लागि राखिएको थियो
ने.सं. ३३५ मा पाटन पिम्बहालका महापात्र जगतपाल वर्माले बाघभैरव देवाताको पुरानो मन्दिर भत्काएर पुनर्निर्माण गराई तीनतले प्यागोडाशैलीमा मन्दिर बनाएर भव्य रूपमा जात्रा चलाएका हुन् । हालसम्म पनि प्रत्येक वर्ष भदौ १ गतेका दिन बाघभैरवको जात्रा गरेर मेला पर्व मनाइँदै आएको छ । यो दिन बाघभैरवको सानो खट चार जनाले बोकेर सन्ध्याकालमा कीर्तिपुरका सबै स्थानमा घुमाउँदै पूजा थाप्न जाने गरिन्छ । घरैपिच्छेका भक्तजनले खटमा रहेका बाघभैरव देवताको मूर्तिमा पूजा गर्छन् । यसरी देवताको खट कीर्तिपुरमा घुमाउँदा खटको पछिपछि हुलका हुल भक्तजन हिँड्ने गर्छन् । ती भक्तजनमा कोही धूप बाल्ने, कोही लावा छर्ने, कोही धूपबत्ती बाल्ने पनि हुन्छन् ।
यस जात्राको अर्को एउटा विशेषता भनेको बाघ भैरवको मन्दिरमा १ सय ८ पटक परिक्रमा गरेमा मनोकामना पूरा हुन्छ भन्ने जनविश्वास रही आएको छ । यसरी मन्दिर परिक्रमा गर्नेहरूले सन्ध्याकालको चार बजेदेखि रात्रिको दुई÷तीन बजेसम्म पनि मन्दिर परिक्रमा गर्ने काम चलिरहेको देख्न सकिन्छ ।
१२ वर्षमा एकपटक बाघभैरवको भव्य जात्रा गरिन्छ । १२ वर्षे मेलाको रूपमा मनाइने जात्रामा विभिन्न देवीदेवताको नाच पनि देखाउने गरिन्छ । यसरी देखाइने नाचमा भैरव, बारही, गणेश, कुमारी, ब्रह्मायणी, रुद्रायणी, श्वेतभैरव, सिम्बा, धुम्बासहित १२ जना देवताको नाच प्रदर्शन गरिन्छ । सर्वप्रथम कीर्तिपुरमै उमामहेश्वरको मन्दिर अगाडि पःमाः खलकले वस्त्र चढाएर देवताको नाच नचाउने सुरुवात गर्छन् । यसरी नाच प्रर्दशन गर्ने सन्दर्भमा विभिन्न स्थानमा गरी १८ स्थानमा नाच प्रदर्शन गर्नुपर्छ । देवीदेवताको यो नाच हनुमानढोकामा पनि प्रदर्शन गर्न ल्याउनुपर्छ । बाघभैरव देवताको पुजारी न्हुच्छे दर्शनधारीका अनुसार १२ वर्षे जात्रा र नाचका लागि एक वर्षअघिको गथांमुगः चःह्रे अर्थात् घन्टाकर्ण चतुदर्शीदेखि अर्को वर्षको गुथांमुगः चःह्रेसम्म नाच सिकाउनुपर्छ । यो नाचलाई बेजोड गथुप्याखं पनि भन्ने गरिन्छ ।
यही बाघभैरवको शक्तिका प्रभावले ने.सं. ८८४ मा गोरखाका राजा पृथ्वीनारायण शाहलाई कीर्तिपुरका सेनाले तीनपटकसम्म युद्धमा हराई फर्काउन सकेको इतिहास पाइन्छ । वासुपासाले लेखेका छन्, ‘यही युद्धमा पृथ्वीनारायणका भाई सुरप्रताप शाहको आँखा फुटाइदिएको थियो । अनि त्यही युद्धमा सरदार कालु पाण्डेलाई मारिदिएको थियो । कालु पाण्डेका ढाल, तरबार र पोसाक यही बाघभैरवस्थानमा चढाई राखेको थियो रे । पछि ती सामग्री राष्ट्रिय संग्रहालय छाउनीमा लगी प्रदर्शनका लागि राखिएको हो ।’
बाघभैरवलाई गोरखाका राजा पृथ्वीनारायण शाहको कुकृत्य देख्ने एउटा साक्षी देवताका रूपमा पनि लिने गरिन्छ
कीर्तिपुरहरूका इष्टदेवता बाघभैरवको मन्दिरबाहिर ने.सं. ७९६ मा बनाइराखेको सेतो कमेरोले पोतिएको नारायणको मन्दिर, देय पुखु (देव पोखरी) र वरिपरि कलात्मक घर पनि देखिन्छन् । देय पुखुमा हरेक वर्ष गाईजात्राको दिन कीर्तिपुरका युवाले पोखरीमा फालिएको राँगाको टाउको समाउने र प्रतियोगिता गर्ने गरिन्छ । जंगली समयको खेल भन्न सकिने यस खेलमा राँगाको टाउको ल्याउन सक्ने व्यक्तिलाई त्यही वर्षका सबैभन्दा भाग्यमानी मानिस ठान्ने गरिन्छ ।
बाघभैरवलाई गोरखाका राजा पृथ्वीनारायण शाहको कुकृत्य देख्ने एउटा साक्षी देवताका रूपमा पनि लिने गरिन्छ । पृथ्वीनारयण शाहलाई युद्धमा कीर्तिपुरका एक जना सिपाहीले काटेर मार्न खोज्दा अर्को सिपाहीले छेकेर युद्धको नियमअनुसार राजालाई राजाले मात्र मार्न पाउँछ हामीले हुँदैन भनी नमारी बचाएको हो, भनिन्छ । त्यसपछि युद्ध भइरहेको स्थानबाटै पृथ्वीनारायण शाहलाई एक जना खड्गी र अर्को पुतवार नेवारले थानकोटबाट फर्काएर पठाएको भन्ने भनाइ छ ।
तर, यस्तो गुणको बदला उल्टै पछि फेरि पृथ्वीनारायण शाहले आक्रमण गरेर राजा ज्ञानप्रजा मल्ल र रानी कीर्तिलक्ष्मीलाई मारिसकेपछि निहत्था कीर्तिपुरका जनताको नाक काटेर १२ धार्नी नाक पृथ्वीनारायण शाहले थानकोटको त्रिभुवन पार्कनजिक न्हायद्वं भन्ने स्थानमा पुरिदिए । युद्धको धर्मविपरीत सर्वसाधारण जनताको नाक काटेर पुरिदिएकाले हालसम्म पनि पृथ्वीनारायण शाहको त्यस कुकृत्यलाई सम्झेर न्हायद्वं पुग्नेबित्तिकै कीर्तिपुरेहरूले थुक्ने गर्छन् ।