चुम भ्यालीका प्रकाशका साहु (टासी) का छोरा, २३ वर्षीय छेतेन दोण्डुप, अहिले सामागाउँमा स्कुल पढाउँछन्। काठमाडौंमा १२ कक्षासम्मको शिक्षा पूरा गरेका छेतेनले आफ्नो गाउँमा शिक्षाको ज्योति फैलाउँदैछन्। तर, उनको जीवनमा एउटा गहिरो कथा छ, जसले उनको परिवार र विशेष गरी प्रकाशसँगको सम्बन्धलाई अझै गहिरो बनाएको छ।
छेतेनले आफ्नो जीवन र प्रकाशसँगको सम्बन्धबारे भावुक हुँदै भने, “हामी ठूलो मान्छे होइनौं। सबैले साहु भने पनि हामी धनी पनि होइनौं। हाम्रो आम्दानीको स्रोत भनेको त्यही किरा हो, त्यो पनि सँधै भेटिँदैन। मेरा बाउ आमाले पढ्नुभएको छैन, बोल्न पनि जान्नुहुन्न। तर, प्रकाश दाइले हाम्रो परिवारमा गरेको योगदानलाई समाजले बुझ्न सकेको छैन।”
प्रकाशलाई आफ्नो घरमा लाने काम छेतेनका काकाले गरेका थिए। गाउँमा दाजुभाइले एउटै श्रीमती बिहे गर्ने चलन थियो। त्यसै क्रममा छेतेनका बुबा र काकाको एउटै श्रीमती थिइन्, तर उनको मृत्यु पछि काका केरुङ गएर अर्को बिहे गरेर घरज्वाइँ बस्न गए। छेतेनका बुबाले पनि अर्को बिहे गरे। प्रकाश दाइ भने त्यतिबेलादेखि नै उनीहरूको घरमा थिए।
प्रकाशले सधैं छेतेनका बुबालाई ‘दाइ’ र आमालाई ‘दिदी’ भनेर सम्बोधन गर्थे। घरमा जे पाक्थ्यो, त्यसै खाएर उनी एउटै परिवारको सदस्य बनेर हुर्किए। छेतेनले सम्झँदै भने, “हामीलाई स्याहार सुसार गरेर हुर्काउने नै प्रकाश दाइ हो। मलाई घरको काम सिकाउने पनि उहाँ नै हो।”
प्रकाशले कहिल्यै पैसाको कुरा गरेनन्। उनी घरको सदस्य जस्तै भएर बसे। गाउँको परम्परागत घोडे जात्रामा घरको प्रतिनिधित्व गर्नुपर्ने र प्रकाश दाइले नै सधैं ड्रेस लगाएर त्यो जिम्मेवारी बहन गर्थे। गोठालोको जिम्मेवारीमा पनि प्रकाशको ठूलो भूमिका थियो। “प्रकाश दाइले चौंरीको सिजनमा जिम्मा लिइसकेका थिए, त्यसैले पठाउन अफ्ठ्यारो मानेको हो।”
प्रकाशको गोठालो काम मन पराउने कारण पनि थियो। जनावरसँगको उनको प्रेम अविश्वसनीय थियो। उनी सधैं कुकुर, विरालोका छाउराहरू ल्याउँथे र गोठमा चौंरीका बाच्छाबाच्छीलाई लुकी लुकी दुध खान दिन्थे। “हामीले नागरिकता बनाउन खोज्यौं, तर मिलेन।”
छेतेनले भावुक हुँदै भने, “प्रकाश दाइले हाम्रो घरमा जीवनको महत्वपूर्ण हिस्सा बिताए। यत्रो वर्ष सँगै बसेको मान्छे माया लाग्छ। तर उनको इच्छा भोजपुर जाने हो भने हामीले पनि सहयोग गर्नुपर्छ।”
प्रकाशको भविष्यलाई लिएर छेतेनको मनमा गहिरो चिन्ता छ। “प्रकाश मेरो बुबाजस्तै मान्छे हो। म भविष्यमा जे गर्न सक्छु, म गर्न तयार छु।” छेतेनको यो प्रतिबद्धता र प्रकाशसँगको सम्बन्धको माया साँच्चै प्रेरणादायक छ।
प्रकाशको भविष्यलाई उज्यालो बनाउन छेतेनले आफ्नो तर्फबाट सबै सम्भव सहयोग गर्ने वाचा गरेका छन्। यसरी, एउटा सानो गाउँमा हुर्केको सम्बन्धले भोजपुरसम्मको यात्रा तय गर्दैछ, जहाँ प्रेम, सहयोग, र प्रतिबद्धताको गहिराइ झल्किन्छ।