Sunrise appliances
Homeदेशज अन्तरवार्ताजनउत्तरदायी नेतृत्व: वडा नं. १० को विकासमा नरेश महर्जनको अटल प्रतिबद्धता

जनउत्तरदायी नेतृत्व: वडा नं. १० को विकासमा नरेश महर्जनको अटल प्रतिबद्धता

नरेश महर्जन, जसले बाल्यकालदेखि नै टोल र समाजका हरेक सामाजिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्, २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट किर्तिपुरको वडा नं. १० को अध्यक्ष पदमा उम्मेदवार बन्न पुगे। दुर्भाग्यवश, थोरै मतले पराजित भए पनि महर्जनले आफ्नो सामाजिक सक्रियतालाई कहिल्यै मत्थर हुन दिएनन्। पाँच वर्षसम्म निरन्तर टोल, समाज, र वडा स्तरका विकास निर्माणमा उनको अटल चासो र समर्पणले उनलाई फेरि पनि जनताको प्रिय बनाएर उभ्यायो।

उनको यो अथक सेवा र निष्ठा, समयसँगै, अझै प्रबल हुँदै गयो। पाँच वर्षको अथक परिश्रम र समर्पणपछि, २०७९ साल वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा, नेपाली कांग्रेसले पुनः महर्जनलाई वडा अध्यक्षको उम्मेदवारका रूपमा अगाडि सारे। यसपटक उनले मात्र होइन, उनको नेतृत्वमा दलित महिला कोटाका सदस्यबाहेक सम्पूर्ण टिमले ऐतिहासिक विजय हासिल गर्यो। यो विजय महर्जनको अदम्य इच्छाशक्ति, समाज सेवाप्रतिको दृढ प्रतिबद्धता र विकासप्रतिको अटल ध्येयको प्रमाण हो। उनै नरेश महर्जन सँगै देशज न्युज.कम ले गरेको कुराकानीको सम्पादित अंश:

१. वडा नं. १० को अध्यक्ष पदमा निर्वाचित भएपछि मुख्यत: के कस्ता कामहरू गर्नुभयो?

जब म वडा नं. १० को अध्यक्षमा निर्वाचित भएँ, मैले किर्तिपुर नगरपालिकामा लगभग पच्चीस वर्षदेखि थुप्रिएको ढल निकासको गम्भीर समस्यालाई प्राथमिकता दिएर सम्बोधन गरें। अहिले ढलको व्यवस्थापन पूर्ण रूपमा सम्पन्न भएको छ। साथै, किर्तिपुर नगरपालिका आन्तरिक र बाह्य पर्यटकहरूको प्रमुख केन्द्र भएको हुँदा, सांस्कृतिक सम्पदाहरूको संरक्षण तथा मठ-मन्दिर, पोखरी, र मिचिएको सार्वजनिक जग्गाहरूको पुनःव्यवस्थापन गरियो। यसका साथै विभिन्न सार्वजनिक स्थलमा रहेका व्यक्तिगत शौचालयहरू हटाएर स्वच्छ र सौन्दर्यपूर्ण वातावरण निर्माणमा ध्यान केन्द्रित गरिएको छ।

२. तपाईँले आफ्नो वडामा कुन योजनाहरूलाई मुख्य प्राथमिकता दिनुभएको छ?

किर्तिपुर सांस्कृतिक सम्पदाले भरिपूर्ण नगरपालिका हो, त्यसैले मैले यसलाई हाम्रो प्रमुख योजना बनाएको छु। मठ-मन्दिरहरू, जात्रा, देवी नाच, लाखे नाचजस्ता परम्परागत संस्कृतिहरूलाई पर्यटकहरूको आकर्षणको केन्द्र बनाउने योजना अघि बढाएका छौँ। साथै, यस योजना अन्तर्गत विभिन्न स्थानहरूमा काला ढुङ्गा छापेर बाटो तथा पेटी बनाउने कार्यलाई पनि प्राथमिकता दिइएको छ। यसका लागि बजेट निकासा भइसकेको छ, र यो वर्षभित्रै सम्पूर्ण कार्य सम्पन्न गर्ने हाम्रो उद्देश्य रहेको छ।

३. पाँच वर्षे कार्यकालको दुई वर्ष बितिसक्दा आगामी तीन वर्षका योजना के के छन्?

हाम्रो मुख्य उद्देश्य हरेक योजना दीगो रूपमा अघि बढाउनु हो। विगतमा धेरै योजना दोहोर्याएर गर्नुपर्ने अवस्था देखियो, जुन जानाजानी या नजानेर गरिएको थियो। अबको बाँकी कार्यकालमा, हामीले ढल र बाटोका कामहरू दीगो रूपमा अघि बढाएका छौँ, जसले कम्तीमा पच्चीस वर्षसम्म निरन्तरता पाउनेछन्। यसपछि आउने बजेटलाई शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता आधारभूत आवश्यकताहरूमा केन्द्रीत गर्नेछौँ, ताकि विकासको दिगोपन सुनिश्चित होस्।

४. निर्वाचनको समयमा जनतासामु गरेको प्रतिवद्धता कति पूरा भए र कति बाँकी छन्?

सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्धन गर्ने हाम्रो मुख्य प्रतिवद्धता हो। युवा वर्गलाई खेलकुदमा सक्रिय बनाउँदै, विभिन्न समितिहरू गठन गरी त्यसको संयोजकमार्फत युवाहरूलाई परिचालन गरिरहेका छौँ। वडा नं. १० लाई खेलकुदको क्षेत्रमा उत्कृष्ट बनाउन यसपाली खेल मैदान निर्माण गर्ने वचन पूरा गर्नेछौँ, जसले यस क्षेत्रलाई खेलकुदमा उत्कृष्टता प्राप्त गर्न मद्दत पुर्‍याउनेछ।

५. जनप्रतिनिधिको रूपमा दुई वर्षे सेवा गर्दा के कस्ता चुनौतीहरू सामना गर्नु भयो?

जनताले जिम्मेवारी सुम्पिएपछि त्यो जिम्मेवारीलाई चुनौती भन्न मिल्दैन। जनताको अपेक्षा पूरा गर्नु हाम्रो प्रमुख कर्तव्य हो। प्रत्येक जिम्मेवारीलाई इमानदारीपूर्वक र निष्ठापूर्वक पूरा गर्दै अगाडि बढिरहेका छौँ।

६. तपाईं कुनै विषयगत समितिको संयोजक हुनुहुन्छ भने, के कस्ता कामहरू सम्पन्न भएका छन्?

मैले किर्तिपुर नगरपालिकाको पर्यटन तथा संस्कृति सम्पदा समितिमा संयोजकको भूमिका निर्वाह गरिरहेको छु। यद्यपि, समितिलाई पर्याप्त रूपमा सक्रिय बनाउन नगरपालिकाले समयमै ध्यान दिएन। तर, हालैका दिनहरूमा विषयगत समिति सक्रिय भएको पाइएको छ, र हामी आफ्नो जिम्मेवारी निर्वाह गर्न सधैं तयार छौँ। पर्यटन क्षेत्रको विस्तारका लागि ठोस योजनाहरू अगाडि बढाइरहेका छौँ।

७. किर्तिपुरमा मापदण्ड विपरीत घर निर्माण भइरहेको छ। यसमा वडा र नगरपालिकाको नीति कस्तो छ?

यस विषयलाई प्राथमिकताका साथ उठाउनु भएकोमा धन्यवाद। मापदण्ड विपरीत निर्माण भएका घरहरूलाई नगरपालिकाले आदेश दिएपछि भत्काउन सकिन्छ। वडा तहमा पनि हाम्रो अधिकार कायम छ, र त्यसलाई हामीले आवश्यकतानुसार प्रयोग गरेका छौँ। साढे चार तल्लाको नक्सा पास भएर पुन: थप दुई तल्ला बनाउने प्रवृत्ति देखिएमा, कर रोक्का गर्ने र कारबाहीका लागि नगरपालिकालाई पत्राचार गर्ने व्यवस्था गरिएको छ। यसले अनियमित निर्माणप्रति कठोर कदम चाल्ने संकेत दिन्छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू