कीर्तिपुर कुनै बेला घरेलु तानमा बुनेका कपडाहरूको केन्द्र थियो। पद्मकन्या (पिके) क्याम्पस लगायत अन्य थुप्रै क्याम्पस का छात्राहरू अनिवार्य रूपमा घरेलु तानले बनेका सारीहरूमा देखिन्थे। तिनीहरूका लागि यो केवल युनिफर्म थिएन, कीर्तिपुरको सांस्कृतिक पहिचानको प्रतीक थियो। कीर्तिपुरका घर-घरमा हाते तान चल्थे, जसले बुनेका कपडाहरू भोलानाथ लगायत थुप्रै व्यापारीहरूले काठमाडौंका बजारसम्म पुर्याउँथे।
तर, समयसँगै यो सांस्कृतिक सम्पदा हराउँदै गयो। २०४६ सालपछि विदेशी कपडाहरूले नेपाली उत्पादनलाई विस्थापित गर्न थाले। युनिफर्म अनिवार्यता हटेसँगै घरेलु तानहरूको माग घट्न थाल्यो। कीर्तिपुरको पहिचान बनेका तानहरू बिस्तारै इतिहासको पानामा सीमित हुँदै गए। विद्युत्तीय तानहरू भित्रिए पनि ती पुराना तानहरूको प्रतिस्थापन हुन सकेन। आधुनिकता र बजार प्रतिस्पर्धामा कीर्तिपुरका तानहरू टिक्न सकेनन्।
आज, कीर्तिपुरका घर-घरमा धूलोले छोपिएका तानहरू हेर्दा, कुनै बेला यो शहरको चिनारी बनेको व्यवसाय लोप भएको अनुभूति हुन्छ। बाह्य उत्पादनहरू सस्तो र आकर्षक भएपछि स्थानीय उत्पादनले बजार पाउन छोड्यो। अनि, समयानुकूल प्रविधि र व्यवसायिक रणनीति अपनाउन नसक्दा कीर्तिपुरको हस्तकला सुक्दै गयो।
कीर्तिपुरको कपडा बुन्ने परम्पराले आज अतीतको धरोहरको रूपमा मात्रै आफूलाई बचाइरहेको छ। कुनै बेला सांस्कृतिक धरोहरले भरिपूर्ण यो सहर आज आफ्नै पहिचान खोज्न संघर्षरत छ। यो केवल कपडा बुन्ने तानहरूको कथा मात्र होइन, यो हाम्रो पहिचान र मौलिकताको लोप हुने त्रासद कथासँग पनि गहिरो रूपमा जोडिएको छ।
यदि समयमै ध्यान दिइएन भने, कीर्तिपुरका तानहरू जस्तै , सिंगो सहरको सांस्कृतिक सम्पदा पनि कहिल्यै फिर्ता नहुने गरी हराउनेछ।