काठमाडौँ: शुक्रबार साँझ पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई स्थलमार्गमार्फत पोखरा लगिने भएको छ। श्रोतका अनुसार लामिछानेको इच्छाअनुसार नै उनलाई गाडीबाटै पोखरा लैजान लागिएको हो।
लामिछानेसँग रास्वपाका उपसभापति डीपी अर्याल र कार्यवाहक प्रवक्ता मनिष झा पनि सँगै जाने बताइएको छ। लामिछानेको पक्राउपछि उनको साथमा पार्टीका उच्चस्तरीय नेताहरूको उपस्थितिलाई पनि महत्वका साथ हेरिएको छ। पार्टीका वरिष्ठ नेता स्वर्णिम वाग्ले हाल तनहुँमा रहेका छन् र उनी त्यहाँबाट पोखरातर्फ प्रस्थान गर्ने योजना रहेको छ।
रास्वपाका अन्य नेता तथा कार्यकर्ताहरू पनि भोलि पोखरा जाने तयारीमा रहेको जानकारी प्राप्त भएको छ। लामिछानेको यस घटनापछि पार्टीको आन्तरिक स्थिति र आगामी कदमलाई लिएर पोखरामा महत्वपूर्ण छलफल र रणनीति निर्माण हुने अपेक्षा गरिएको छ।