काठमाडौँ — विश्व पर्यटन दिवस २०८१ को अवसरमा काठमाडौँको ऐतिहासिक वसन्तपुर दरबार क्षेत्रमा १ हजार कलाकारको धिमे बादन र नृत्यको भव्य प्रस्तुति सम्पन्न भएको छ। सांस्कृतिक कार्यक्रममार्फत पर्यटक आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा ३५० जना धिमे बाद्य कलाकारले माजुदेगको सिँढीबाट धिमे (ठूलो धिमे) र धुन्याबाट कार्यक्रमको शुभारम्भ गरेका थिए। कार्यक्रमको थप विशेषता भनेको ६५० जना नृत्य कलाकारले गद्दी बैठक अगाडि र शिवपार्वती डवलीमा परम्परागत नेवारी बाजागाजाका धुनमा नृत्य प्रस्तुत गरेका थिए ।
धिमे बादन र नृत्यलाई प्रसिद्ध सांस्कृतिक निर्देशक सुदनमान मुनिकारले निर्देशन गरेका थिए। प्रस्तुतिमा ६ वर्षदेखि ६५ वर्ष उमेर समूहका कलाकारहरु सहभागी थिए, जसमा धरान लगायत उपत्यका बाहिरका क्षेत्रहरूबाट पनि कलाकारहरूको सहभागिता थियो। यसले कार्यक्रमको सांस्कृतिक विविधता र महत्वलाई अझ उचाइमा पुर्याएको थियो।
साथै, झोछेँ प्रवेश मार्गतर्फ १२५ जना कलाकारले फ्युजन अर्केष्ट्रा प्रस्तुत गरेका थिए। यसमा नेपाल प्रहरी संगीत विद्यालय, नेपाली सेनाको गुर्जु पल्टन, स्थानीय खलपुचःका बाद्यबादन समूह र चर्चित कुटुम्ब व्याण्डका कलाकारहरूले संयुक्त प्रस्तुति दिएका थिए। फ्युजन अर्केष्ट्रामा पहिलोपटक दबदब समूहको पनि सहभागिता रहेको थियो, जसमा चर्या नृत्य, मयुर नृत्य र नेवारी नृत्य समेत प्रस्तुत गरिएको थियो।
काठमाडौँ महानगरपालिकाको सहकार्यमा काठमाडौँ दरबार स्क्वायर पर्यटन प्रवर्धन संघद्वारा आयोजित यो कार्यक्रम असोज ११ र १२ गते सम्पन्न हुने तयारी थियो। तर, अविरल वर्षाका कारण रोकिएको कार्यक्रम अन्ततः हिजो भव्य रूपमा सम्पन्न गरिएको हो। कार्यक्रमको माध्यमबाट पर्यटकहरूलाई सांस्कृतिक धरोहरसँग जोड्ने र पर्यटन प्रवर्धन गर्ने उद्देश्य राखिएको थियो।
कार्यक्रमका थप आकर्षणमा हस्तकला, मौलिक खाना स्टल तथा नेपाली उत्पादनका सामग्रीहरूको प्रदर्शनी पनि समावेश थिए। विशेषगरी, पर्यटकहरूलाई वसन्तपुर दरबार क्षेत्र घुमाउन परम्परागत वग्गीमा यात्रा गराइएको थियो। औपचारिक कार्यक्रमका अवसरमा काठमाडौँ घुम्न आएका विदेशी पर्यटकहरूलाई सम्मानस्वरूप नेपाली टोपी लगाएर स्वागत गरिएको थियो।
सांस्कृतिक र कलात्मक प्रस्तुति मार्फत पर्यटन प्रवर्धन गर्न यो कार्यक्रमले नयाँ आयाम प्रस्तुत गरेको छ।