नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीले बडादशैं, तिहार, छठ, र नेपाल सम्बत ११४५ का अवसरमा कीर्तिपुरको ऐतिहासिक बाघभैरव मन्दिर परिसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्य प्रमुख अतिथिका रूपमा सहभागी थिइन्। शुभकामना आदानप्रदानसहित सम्पन्न कार्यक्रममा एमालेले स्थानीय तहका नेताकार्यकर्ता, शुभेच्छुक, र आम नागरिकहरूसँग सामूहिक भेटघाट गर्दै आगामी राजनीतिक रणनीति र आफ्नो प्रतिबद्धता प्रकट गरेको छ।
मंसिर १६ मा हुने उपनिर्वाचन नजिकिँदै गर्दा कीर्तिपुरलगायत मुलुकभर राजनीतिक तापमान बढ्दो क्रममा छ। विपक्षी दलहरू आफ्नो उम्मेदवार चयनमा स्पष्टता ल्याउँदै सक्रियतासाथ प्रचारप्रसारमा लागिरहेका छन् भने, एमालेले अझै कीर्तिपुर नगरपालिकाका लागि उम्मेदवार घोषणा नगरेकोले स्थानीयस्तरमा कौतुहलता र प्रतीक्षाको अवस्था सृजना भएको छ।
उपनिर्वाचनलाई लक्षित गर्दै, उपाध्यक्ष शाक्यले जनतासँगको संवाद र एकताको महत्वलाई जोड दिइन्। उनले सर्वसम्मत रूपमा एकताबद्ध भएर आवश्यक पदहरूमा सिफारिस गर्न स्थानीय तहका नेताहरूलाई आग्रह गर्दै भनिन्, “पार्टीको केन्द्रले सर्वसम्मत सिफारिसलाई स्वीकार्न तयार छ। हामीलाई पछिल्लो समय आएका समस्याहरूलाई सच्याउँदै कीर्तिपुरलाई पुनः एमालेको किल्ला बनाउन आवश्यक छ।” शाक्यले विगतका गल्तीहरूलाई सुधार्ने प्रतिवद्धता व्यक्त गर्दै पार्टीको पक्षमा जनमत जुटाउन सबैलाई एकताबद्ध भएर लाग्न अनुरोध गरिन्।
कार्यक्रममा उपाध्यक्ष शाक्यको सम्बोधनले कीर्तिपुर नगरवासीहरूलाई उपनिर्वाचनप्रति थप उत्सुक बनाएको छ। एमालेको उम्मेदवार घोषणा गर्न भइरहेको ढिलाइले नगरपालिकामा जनसरोकार र विविध अड्कलबाजी उत्पन्न गरिरहेको बेला, चियापान कार्यक्रममार्फत जनसम्पर्कमा जोड दिएर पार्टीको सशक्त उपस्थिति जनाउने प्रयास गरिएको छ।
एमालेको उम्मेदवार घोषणा भएपछि उपनिर्वाचनको प्रतिस्पर्धा थप चर्किन सक्ने राजनीतिक विश्लेषणहरू व्यक्त गरिंदैछ।