पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्वस्थ भइ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएकी छन्। स्वास्थ्यमा जटिलता देखिएपछि गत राति अस्पताल पुर्याइएकी उनलाई श्वासप्रश्वासमा समस्या, घाँटीमा कफ जम्नेसँगै छातीमा समेत संक्रमण भएको पुष्टि गरिएको छ।
पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणि पाठकले जानकारी दिएअनुसार ९६ वर्षीया पूर्व मुमा बडामहारानी रत्नको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको छ। चिकित्सकहरूले अवस्था सामान्य रहेको बताएका भए पनि उनलाई थप निगरानी र उपचारका लागि केही दिन अस्पतालमै राखिने जनाइएको छ।