काठमाडौँ । पछिल्लो पाँच वर्षमा त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीको भर्ना दर उच्च भए पनि स्नातक तहदेखि पीएचडीसम्मको दीक्षान्त दर निकै कम देखिएको छ। शैक्षिक वर्ष २०७५ देखि २०८० सम्म २८ लाख ३३ हजार २६५ विद्यार्थी भर्ना भएका भए पनि, यस अवधिमा तीन लाख ७२ हजार १८ विद्यार्थी मात्रै दीक्षित भएका छन्। यो अनुपातले भर्ना भएका विद्यार्थीको १३.१३ प्रतिशत मात्रै स्नातक गर्न सफल भएका छन्, जसले शैक्षिक प्रणालीमा सुधारको आवश्यकतालाई स्पष्ट पारेको छ।
त्रिविको तथ्याङ्कअनुसार हरेक वर्ष औसत ५ लाख विद्यार्थी भर्ना हुने गरेका छन्, तर पास हुने दरमा भने ठूलो गिरावट देखिएको छ। सामान्यतया, वार्षिक ६० देखि ७० हजार विद्यार्थी मात्र दीक्षित हुने गरेका छन्। शैक्षिक वर्ष २०७५/७६ मा ४ लाख १५ हजार ४८२ विद्यार्थी भर्ना हुँदा ७० हजार ५६१ मात्र दीक्षित भए। त्यसैगरी, २०७६/७७ मा ४ लाख १५ हजार ७७७ भर्ना हुँदा ५७ हजार १८३ दीक्षित भए। २०७७/७८ मा भने ४ लाख २२ हजार ६५३ विद्यार्थी भर्ना भए पनि, दीक्षित हुने संख्या घटेर ३० हजार १९९ मा सीमित रह्यो।
तथ्याङ्कले यो प्रवृत्ति निरन्तर देखाइरहेको छ, २०७८/७९ मा ४ लाख ५४ हजार ६५ विद्यार्थी भर्ना हुँदा ६३ हजार २२३ दीक्षित भए भने, २०७९/८० मा ५ लाख ३७ हजार ५६९ विद्यार्थी भर्ना हुँदा ७७ हजार १०३ ले मात्रै दीक्षान्त पाए। हालैको शैक्षिक वर्ष २०८०/८१ मा पनि ५ लाख ८७ हजार ७१९ विद्यार्थी भर्ना भएका थिए, तर दीक्षित हुने विद्यार्थीको संख्या ७३ हजार ७४९ मा मात्र रह्यो।
त्रिविको प्रशासनले यो विषम भिन्नतालाई मध्यनजर गर्दै दीक्षान्त दरमा सुधारका योजना अघि सारेको छ। उपकुलपति प्राडा केशरजंग बरालले परीक्षा व्यवस्थापन र शैक्षिक गुणस्तर सुधारमा ध्यान केन्द्रित गर्दै, पासदर बढाउने विभिन्न सुधारात्मक कार्यहरू अघि बढाइरहेको जानकारी दिएका छन्। विश्वविद्यालयले नयाँ नीतिहरू लागू गरेर विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै दीक्षान्तको सम्भावना वृद्धि गर्ने प्रतिबद्धता जनाएको छ।