मङ्सिर १६ गते हुने उपनिर्वाचनलाई केन्द्रित गर्दै नेकपा एमालेका मेयर पदका उम्मेदवार डा. सुरेन्द्र मानन्धरले आफ्नो चुनावी अभियानलाई तीव्र बनाउँदै लगेका छन्। हाल घरदैलो कार्यक्रममा व्यस्त रहेका उनले कीर्तिपुर नगरपालिका वडा नं. ६ को टौदह क्षेत्रलाई केन्द्रमा राख्दै स्थानीय जनतासँग प्रत्यक्ष संवाद गरेका छन्।
आज बिहानैदेखि डा. मानन्धर आफ्नो टोलीका सदस्यहरूसहित टौदह वरपरका बस्तीमा पुगेर स्थानीयबासिन्दाको समस्या, माग र अपेक्षाहरू सुन्ने काममा सक्रिय देखिए। उनले जनताको प्रश्न र गुनासो सुन्नुका साथै आफ्ना आगामी योजनाहरूबारे पनि जानकारी गराउँदै कीर्तिपुरको समृद्धि र विकासका लागि आफुलाई विश्वास र साथ दिन अपिल गरेका छन्।
टोलीसँगै रहेका स्थानीय पार्टी कार्यकर्ता र समर्थकहरूले डा. मानन्धरको नेतृत्व क्षमता र विकासप्रतिको प्रतिबद्धता औंल्याउँदै उनीप्रति समर्थन जुटाउन सक्रिय भूमिका खेलेका छन्। टौदह क्षेत्रका स्थानीयहरूले पनि उनीसँग आफ्ना दैनिक समस्याहरू, पूर्वाधार विकासका कमी, र स्थानीय सरकारप्रतिको अपेक्षाहरू राखेर खुला रूपमा छलफल गरेका थिए।
चुनावी अभियानकै क्रममा डा. मानन्धरले टौदहको पर्यटकीय, सांस्कृतिक र आर्थिक सम्भावनालाई नयाँ उचाइमा पुर्याउन विशेष प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गरे। साथै, उनले टोल-टोलमा पुगेर जनतासँगको संवादलाई आगामी दिनमा अझ सशक्त बनाउने बताउँदै सबै क्षेत्रका जनताको विश्वास जित्ने आफ्नो योजना रहेको प्रस्ट पारे।
नेकपा एमालेका उम्मेदवारका रूपमा डा. सुरेन्द्र मानन्धरको चुनावी गतिविधिले मतदाताको ध्यान खिच्न सफल भएको देखिएको छ भने उनले कीर्तिपुरको भविष्यप्रति आफ्नो दृष्टिकोण र प्रतिबद्धता पेस गर्ने क्रम जारी राखेका छन्।