काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा पूर्वमन्त्री पीएल सिंहको ८८ वर्षको उमेरमा निधन भएको छ। सिंहको निधन गएराति १ बजे ठमेलस्थित चाक्सीबारी निवासमा भएको हो।
नेपाली राजनीतिमा विशेष योगदान पुर्याएका सिंहले गणेशमान सिंहको सहयोगीका रूपमा लामो समय काम गरे। उनी नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहको निवासमा बस्दै आएका थिए।
उनको निधनको शोकमा काठमाडौं महानगरपालिकाले आज (सोमबार) सार्वजनिक बिदा घोषणा गरेको छ। महानगरले अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द गरी श्रद्धाञ्जलि व्यक्त गरेको छ।
२०४९ सालमा नेपाली कांग्रेसबाट काठमाडौं नगरपालिकाको मेयरमा निर्वाचित भएका पीएल सिंहले आफ्नो कार्यकालमा ऐतिहासिक योगदान गरे। उनकाे नेतृत्वमा २०५२ साल मंसिर २९ गते काठमाडौं नगरपालिकालाई महानगरपालिकामा स्तरोन्नति गरिएको थियो। यो कदमले काठमाडौंलाई शहरी व्यवस्थापनमा नयाँ युगतर्फ अग्रसर गराएको थियो।
पछिल्लो समय स्वास्थ्य समस्याले सिंहलाई कमजोर बनाएको थियो। गत वर्ष पेटको शल्यक्रिया गराएपछि उनी घरमै स्वास्थ्यलाभ गरिरहेका थिए।
सिंहको निधनसँगै नेपाली कांग्रेसले आफ्नो एक निष्ठावान र परिश्रमी नेताको गुमाएको छ भने नेपाली राजनीति र शहरी व्यवस्थापनले एक कुशल नेतृत्वकर्तालाई गुमाएको छ।
पीएल सिंहप्रति श्रद्धाञ्जलि अर्पण गर्दै काठमाडौं महानगरपालिकाले उनको योगदानको सम्झनामा शोक व्यक्त गरेको छ। उनको अन्त्येष्टि सम्बन्धी जानकारी पछि सार्वजनिक गरिनेछ।