चन्द्रागिरि नगरपालिका भित्र रहेको ६,२०८ किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध सुरक्षा प्रदान गर्ने उद्देश्यसहित राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत एचपीभी (ह्युमन पापिलोमा भाइरस) खोप अभियान सुरु भएको छ।
आज मिति २०८१ माघ २२ गते, चन्द्रागिरि नगरपालिका–४ स्थित श्री चुनदेवी माध्यमिक विद्यालयमा आयोजित एक विशेष समारोहका बीच नगर प्रमुख घनश्याम गिरीले खोप अभियानको औपचारिक शुभारम्भ गर्नुभयो। नगर क्षेत्रका किशोरीलाई क्यान्सरविरुद्ध सुरक्षित राख्ने यो अभियान १५ दिनसम्म सञ्चालन हुनेछ।
नगरपालिकाले अभियानलाई प्रभावकारी बनाउन १५ वटै वडामा ७० वटा खोप केन्द्र सञ्चालन गरेको छ। यस कार्यक्रम अन्तर्गत नगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई एचपीभी खोप प्रदान गरिनेछ।
स्वास्थ्य विशेषज्ञहरूका अनुसार एचपीभी खोपले पाठेघरको मुखको क्यान्सर विरुद्ध प्रतिरोधात्मक क्षमता विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। यस अभियानलाई सफल बनाउन नगरपालिकाले स्वास्थ्यकर्मी, विद्यालय प्रशासन, अभिभावक तथा सरोकारवालाहरूको समन्वयमा व्यापक जनचेतना अभियान समेत सञ्चालन गरिरहेको छ।
चन्द्रागिरि नगरपालिकाले किशोरीहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै आगामी दिनहरूमा पनि यस्ता स्वास्थ्य पहलहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।