कीर्तिपुर नगरपालिका पुनः प्रशासनिक अस्थिरताको चपेटामा परेको छ। हिजो फागुन २१ गते सरकारद्वारा गरिएका ९२ उपसचिवहरूको सरुवा तथा पदस्थापन निर्णयले नगरपालिकाको प्रशासनिक स्थायित्वलाई प्रभावित पार्ने देखिन्छ।
यस निर्णयअनुसार, कीर्तिपुर नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकाललाई सर्लाही जिल्लाको बागमती नगरपालिकामा सरुवा गरिएको छ। ढकालले ०८१ वैशाख २६ गते मात्र कीर्तिपुरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका थिए। एक वर्ष पनि नबित्दै उनको सरुवा गरिनु प्रशासनिक अस्थिरताको संकेत मान्न सकिन्छ।
त्यसैगरी, कञ्चनपुरको वेदकोट नगरपालिकामा कार्यरत रामदत्त भट्टलाई कीर्तिपुरमा काज सरुवा गरिएको छ। प्रशासनिक नेतृत्वमा भएको यो हेरफेरले स्थानीय प्रशासनिक प्रक्रियामा केही समय असहज अवस्था सिर्जना गर्ने अनुमान गरिएको छ।
प्रमुख प्रशासकीय अधिकृतहरूको बारम्बार हुने सरुवाले स्थानीय सरकारको कार्यसम्पादनमा असर पार्ने, दीर्घकालीन योजनाहरू प्रभावित हुने र नगरवासीलाई सेवा प्रवाहमा असहजता आउने चिन्ता व्यक्त गरिएको छ। कार्यकाल पूरा नहुँदै, आर्थिक वर्षको उत्तरार्द्ध समयमा गरिने प्रशासन प्रमुखको सरुवाले आम सेवाग्राही मर्कामा पर्ने त छँदैछ, स्थानीय तहको कार्य सम्पादन मूल्यांकननै प्रभावित हुने गरेको छ । र प्रभावकारी प्रशासनका लागि स्थानीय तहमा स्थायित्व कायम गर्नुपर्ने आवाज उठ्न थालेको छ।