काठमाडौं, फागुन २३– फागु पूर्णिमा अर्थात् होली पर्वको औपचारिक शुभारम्भको संकेतस्वरूप शुक्रबार काठमाडौंको वसन्तपुरमा परम्परागत रूपमा चीर ठड्याइएको छ।

हनुमानढोका दरबारको दक्षिण पटाङ्गिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा ३२ फिट अग्लो तीन तहको गजुर जस्तो देखिने रंगीविरंगी चीर ठड्याइएको हो। रंगीन कपडाका ध्वजापताकासहित ठड्याइएका चीरले काठमाडौं उपत्यकालगायत देशभर होली पर्व सुरु भएको संकेत गर्छ।

चीर ठड्याएपछि नेपाली सेनाको गुर्जु पल्टनद्वारा हर्ष बढाइ गरिँदै परम्परागत सलामीसमेत प्रस्तुत गरिएको थियो। नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्ष चीर ठड्याउनका लागि शुक्रबारको साइत उत्तम रहेको घोषणा गरेको थियो, जसअनुसार विधिपूर्वक चीर ठड्याइयो।

धार्मिक र सांस्कृतिक महत्व
होली पर्वलाई वसन्त ऋतुको आगमनसँग जोडेर रङ, उत्साह र भाइचाराको प्रतीकका रूपमा मनाइन्छ। पौराणिक कथनअनुसार, असुर राजा हिरण्यकश्यपुका पुत्र प्रह्लाद भगवान विष्णुका अनन्य भक्त थिए। तर, हिरण्यकश्यपुले विष्णुपूजाप्रति असन्तुष्टि जनाउँदै आफ्नी बहिनी होलिकाको सहयोगमा प्रह्लादलाई मार्ने षड्यन्त्र रचेका थिए।

होलिकालाई आगोले असर नगर्ने वरदान प्राप्त थियो, जसका आधारमा उनले प्रह्लादलाई काखमा लिएर आगोमा बसिन्। तर, धार्मिक विश्वासअनुसार भगवान विष्णुको कृपाले होलिका नै भष्म भइन्, भने प्रह्लाद सुरक्षित रहे। यही घटनाको प्रतीकका रूपमा होली पर्व मनाइन्छ, जसमा असत्यमाथि सत्यको विजयको सन्देश छ।

चीर ठड्याइएसँगै काठमाडौं उपत्यकासहित देशभर होलीको उमङ्ग सुरु भएको छ। फागुन २९ गते हिमाली तथा पहाडी भूभागमा होली मनाइनेछ, भने चैत्र १ गते तराईमा धुमधामका साथ फागु पर्व मनाइने छ।


