काठमाडौं, वैशाख १७ – आज बुधबार देशभर वैदिक परम्पराअनुसार अक्षय तृतीया पर्व श्रद्धा एवं भक्तिपूर्वक मनाइँदैछ। प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन पर्ने यो पर्वलाई “अक्षय फल प्राप्त हुने” विश्वासका साथ मनाउने गरिन्छ।
धार्मिक ग्रन्थअनुसार आजको दिन गरिएको स्नान, दान, जप, ध्यानजस्ता पुण्यकर्म कहिल्यै क्षयी (नाश) नहुने भएकाले यस पर्वको विशेष महत्व रहेको बताइन्छ। विशेषतः गर्मी याममा लाभदायी मानिने सातु र सर्वतको दान र सेवन यस दिनको मूल कर्म मानिन्छ।
शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गरिने, स्नान गरेर शुद्ध भई पूजासामग्री तयार पारिने परम्परा छ। दियो, कलश र गणेशको पूजा गरी अष्टदल लेखिएको तामाको थाली कलशमाथि राखी, त्यसमा भगवान् विष्णुको सोह्र शृंगारसहित पूजा गरिन्छ।
पुरोहितमार्फत वैदिक विधिअनुसार पूजा सम्पन्न गरिसकेपछि तामाको वा माटोको भाँडामा राखिएको शुद्ध जलमा दालचिनी, ल्वाङ, सुकुमेल, अलैंची, मह, चिनी, सख्खर र मिश्री मिसाई तयार पारिएको सर्वत तथा जौको सातु दान गरिन्छ।
धर्मशास्त्रविद् एवं वाल्मीकि विद्यापीठका धर्मशास्त्र विभाग प्रमुख प्रा. डा. देवमणि भट्टराईका अनुसार, “गर्मीबाट शरीरलाई बचाउन सातु र सर्वतको सेवन उपयोगी हुन्छ। यसले शक्ति बढाउने मात्र नभई शरीरको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न समेत सहयोग गर्छ।”
वैदिक सनातन परम्परा अनुसार शरीर, मन र आत्माको शुद्धिकरणसहित जनकल्याणका लागि अक्षय तृतीया पर्वले सामाजिक र धार्मिक सन्देश बोकेको छ।
यस पर्वको अवसरमा विभिन्न मठमन्दिर र तीर्थस्थलमा विशेष पूजाआर्जना, दान तथा भजनकीर्तन कार्यक्रम आयोजना गरिएको छ।