काठमाडौं — थाइल्यान्डमा जारी आईसीसी महिला टी–२० विश्वकप एसियाली क्षेत्र छनोट प्रतियोगिताको सुपर–३ चरणमा नेपालले विजयी सुरुवात गरेको छ। सोमबार सम्पन्न खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई पाँच विकेटले पराजित गर्दै प्रतियोगिताको दोस्रो चरणमा महत्वपूर्ण दुई अंक जोड्न सफल भएको हो।
युएईले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। निर्धारित २० ओभरमा उसले सात विकेटको क्षतिमा ११४ रन बनायो। जवाफी ब्याटिङमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै १९.३ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
सुपर–३ चरणमा नेपालले अब आफ्नो दोस्रो खेल मंगलबार आयोजक थाइल्यान्डविरुद्ध खेल्नेछ। यस चरणमा सहभागी तीनवटै टोलीले एकअर्कासँग एक–एक खेल खेल्नेछन्।
प्रतियोगिताको सुपर–३ चरणपछि अंक तालिकाको शीर्ष दुई स्थानमा रहने टोलीले आगामी महिला टी–२० विश्वकपको विश्वस्तरीय छनोट प्रतियोगितामा स्थान बनाउनेछन्। सो छनोट प्रतियोगितामा कुल १० टोली सहभागी हुनेछन्, जसबाट अन्ततः चार टोलीले सन् २०२६ मा आयोजना हुने महिला टी–२० विश्वकपमा स्थान सुरक्षित गर्नेछन्।
हालसम्म बङ्गलादेश, स्कटल्यान्ड र अमेरिका विश्वस्तरीय छनोटमा स्थान बनाइसकेका छन्। बाँकी सात स्थानका लागि एसिया, युरोप, अफ्रिका र पूर्वी एसिया–प्यासिफिक क्षेत्रबाट छनोट प्रक्रिया जारी छ। एसियाबाट दुई, युरोपबाट दुई, अफ्रिकाबाट दुई र पूर्वी एसिया–प्यासिफिकबाट एक टोली छनोट हुनेछन्।
नेपालका लागि सुपर–३ चरणको पहिलो जितले विश्वस्तरीय छनोटतर्फको सम्भावनालाई बलियो बनाएको छ। थाइल्यान्डविरुद्धको दोस्रो खेल निर्णायक बन्नेछ।