Sunrise appliances
Homeअर्थतन्त्रदसैंको मुखमा रित्तिए खाद्यका डिपो

दसैंको मुखमा रित्तिए खाद्यका डिपो

सिर्दिवास डिपोबाट गत आर्थिक वर्ष ढुवानी भएको चामल बिक्री हुँदै सुपथ मूल्य पसलमा चामल मात्रै

गोरखा — चालु आर्थिक वर्षको तीन महिनासम्म उत्तरी गोरखाका खाद्यको डिपो र बिक्री केन्द्रमा चामल ढुवानी हुन सकेको छैन । ठेक्का प्रक्रियामा भएको ढिलाइले चामल ढुवानी हुन नसकेको हो । ठेक्का स्वीकृत भएर सम्झौता प्रक्रिया बाँकी रहेकाले दसैंअघि चामल ढुवानी नहुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय गोरखाले जनाएको छ ।

दसैंको मुखमा चुमनुब्री गाउँपालिका–३ सिर्दिवासस्थित फिलिममा रहेको डिपोबाट गत आर्थिक वर्षमा मौज्दात रहेको करिब दुई सय क्विन्टल चामल बिक्री भएको छ । सिर्दिवासस्थित फिलिमको डिपोमा अझै दुई सय क्विन्टल चामल मौज्दात रहेको कम्पनीका गोरखा शाखाका सूचना अधिकारी शिव सुनारले जनाए ।

गत वैशाखमा स्थापित चुमनुब्री–६ चुम्लिङ, वडा ४ को नामरुङ विक्री केन्द्र तथा धार्चे–५ माछाखोला डिपोमा भने गोदाम रित्तिएको छ । चुम्लिङ र नामरुङ बिक्री केन्द्रमा सम्बन्धित ठेकेदारले गोरखा शाखाबाट खरिद गरेर लगेको चामल बिक्री हुने गर्छ । दुवै बिक्री केन्द्रमा चामल नपाएपछि उक्त क्षेत्रका केही बासिन्दा पनि फिलिमको बिक्री केन्द्रमा चामल खरिदका लागि पुगेका थिए । ‘एक साताअघि ठेक्का स्वीकृत भएको छ, सम्झौताका लागि १५ दिनको म्याद हुन्छ,’ उनले भने, ‘प्रक्रिया पूरा गर्दा कात्तिक १३ पछि मात्र सम्झौता हुने भयो, सम्झौतालगत्तै चामल ढुवानी सुरु हुन्छ ।’

सिर्दिवासको फिलिम डिपोमा गत आर्थिक वर्ष ढुवानी भएको चामल पर्याप्त रहेको र विक्री जारी रहेको उनले बताए । ‘अझै दुई सय क्विन्टल चामल मौज्दात छ, तिहारअघि पनि मौज्दात चामल विक्री हुन्छ,’ उनले भने । नामरुङ र चुम्लिङ बिक्री केन्द्रमा भने ठेकेदारसँग सम्झौता प्रक्रिया टुंगिएलगत्तै ढुवानी सुरु गर्ने कार्यालयको तयारी छ । चालु आर्थिक वर्ष माछाखोला डिपो, चुम्लिङ र नामरुङ बिक्री केन्द्रका लागि ५/५ सय क्विन्टल तथा सिर्दिवास डिपोका दुई हजार क्विन्टल चामलको कोटा स्वीकृत भएको छ ।

गोरखाबाट सिर्दिवास डिपोमा र नामरुङ बिक्री केन्द्रका लागि यस वर्ष दूधपोखरी निर्माण सेवा एन्ड सप्लायर्सले ढुवानीको ठेक्का पारेको छ । त्यस्तै गोरखाबाट माछाखोला डिपो, चुम्लिङ विक्री केन्द्र र तनहुँको विमलनगरबाट सिर्दिवास डिपोका लागि लिलेन घले कन्स्ट्रक्सनले ढुवानीको जिम्मा पाएको छ । एक साताअघि मात्रै ठेक्का स्वीकृत भएको र सम्झौता प्रक्रिया बाँकी नै रहेको सुनारले जानकारी दिए । गोरखा शाखाबाट सिर्दिबास एक हजार र विमलनगर एक हजार क्विन्टल चामल ढुवानी हुने गरी ठेक्का लागेको छ ।

लार्के सडकको ट्र्याक खुल्ने क्रममा माछाखोलासम्म सवारी चल्न सुरु भएपछि भने खाद्यको माछाखोला डिपोबाट चामलको विक्री ठप्प छ । सवारी चलेसँगै माछाखोलामा खाद्यको भन्दा बजारको चामल सस्तो परेपछि उपभोक्ताले खाद्यको चामल खरिदमा रुचि देखाएका छैनन् । गत आर्थिक वर्ष ५ सय क्विन्टल चामलको कोटा स्वीकृत भएको माछाखोलामा विक्री दर घट्दा ६५ क्विन्टल मात्र ढुवानी भएको थियो । माछाखोला डिपोबाट धार्चे गाउँपालिका, फिलिमको डिपोबाट चुमनुब्रीका बासिन्दाले खाद्यान्न खरिद गर्दै आएका छन् । सिर्दिवासको डिपोसम्म अपायक परेपछि सामागाउँ, ल्हो, प्रोक, बिहिका बासिन्दाका लागि नामरुङ र छेकम्पार र चुम्चेतका बासिन्दाको सहजताका लागि चुम्लिङमा बिक्री केन्द्र स्थापना गरिएको थियो । सरकारले ढुवानी अनुदानमा दुर्गमका बासिन्दालाई चामल बिक्री गर्दै आएको छ ।

दसैं, तिहार र छठ पर्वलाई लक्ष्य गरेर कम्पनीले सञ्चालन गरेको सुपथ छुट पसलबाट ९३ क्विन्टल (४७५ बोरा) चामल बिक्री भएको छ । सुपथ मूल्य पसलबाट चामल मात्र विक्री हुदै आएको छ । असोज २१ बाट स्टिम जिरा मसिनो चामल प्रतिकिलो ७ रुपैयाँ छुटमा बिक्री भएको छ । खाद्यको चामल छुटमा बिक्री भएपछि दैनिक ७० देखि ८० जना उपभोक्ता डिपो पुग्ने गरेका छन् । ‘१ सय ७५ रुपैयाँ भए पनि सस्तो पर्ने भएपछि खाद्यको चामल लिन आएका हौं,’ गोरखा नगरपालिका–८ की कुमारी बयलकोटीले भनिन् ।

सुपथ मूल्य पसलमा चामल मात्र बिक्री हुँदै आएको छ । चामल खरिद गर्ने उपभोक्ता चिनी, तेललगायत अन्य उपभोग्य सामग्रीबारे पनि जिज्ञासा राख्ने गरेका छन् । चामलबाहेक भान्सामा चाहिने उपभोग्य सामग्री सुपथ छुट पसलमा नरहेको ज्येष्ठ नागरिक संघका अध्यक्षसमेत रहेको गोरखा नगरपालिका–६ का मोहनलाल श्रेष्ठ बताउँछन् । ‘सुपथ मूल्य पसल देखावटी र बनावटी भयो, चामल मात्र पाउने पसलको उद्घाटन भएको छ,’ उनले भने, ‘यसले जनतालाई दिन खोजेको के, भान्सामा अनिवार्य चाहिने चामल, दाल, नुन, तेल, चिनि त हुनुपर्थ्यो, चामल मात्र छ, यो कस्तो सुपथ पसल भयो ?’

सुपथ मूल्य पसलबाट यसअघि प्रतिकिलो ८६ रुपैयाँ पर्ने स्टिम जिरा मसिनो चामल छुटपछि प्रतिकेजी ७९ रुपैयाँमा उपभोक्ताले किनेका छन् । ‘एक जनालाई एक बोराका दरले चामल उपलब्ध गराएका छौँ,’ गोरखा शाखाका सूचना अधिकारी सुनारले भने, ‘२५ किलोको बोरा खरिद गर्दा यसअघि २१ सय ५० पर्ने चामल छुटपछि १९ सय ७५ मा खरिद गर्न सक्नुहुन्छ ।’

६ दिनमा चार सय ५७ जनाले खाद्यको चामल खरिद गरेको सुनारले जानकारी दिए । दुई सय क्विन्टल चामल छुटमा बिक्रीका लागि खाद्य केन्द्रीय कार्यालबाट स्वीकृति आएको छ । सदरमुकामस्थित खाद्यको गोदाममा चार सय ४० क्विन्टल चामल मौज्दात रहेकाले सुपथ मुूयमा बिक्रीका लागि थप दुई सय क्विन्टल चामलको स्वीकृत लिने कार्यालयको तयारी छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू