
नेपाल स्टक एक्सचेञ्ज (NEPSE) अन्तर्गत सञ्चालन भइरहेका विभिन्न ट्रेडिङ्ग म्यानेजमेन्ट सिस्टम (TMS) पोर्टलहरू सोमबार दिउँसोदेखि निरन्तर रुपमा बन्द भएका छन्। प्रयोगकर्ताहरूले TMS-42, TMS-32 र TMS-58 लगायतका प्रणालीमा पहुँच गर्न नसकेको गुनासो गरेका छन्। यी पोर्टलहरूमा लगइन गर्ने प्रयास गर्दा “This site can’t be reached” भन्ने सन्देश देखिने गरेको छ।
स्रोतका अनुसार, Generation Z (Gen Z) का युवाहरूको देशव्यापी विरोध प्रदर्शनसँगै अनलाइन प्रणालीमा ठूलो चाप पर्न गएकाले यस्तो समस्या उत्पन्न भएको हुनसक्ने अनुमान गरिएको छ। केही प्रयोगकर्ताले प्रणालीमा लगातार टाइम–आउट त्रुटि देखिएको बताएका छन् भने कतिपयले अर्डर राख्न नसकेर कारोबार रोकिएको गुनासो सार्वजनिक गरेका छन्।
नेपाल स्टक एक्सचेञ्जको TMS प्रणालीमा लगानीकर्ताले अनलाइन अर्डर राख्ने, शेयर खरिद–बिक्री गर्ने तथा आफ्ना पोर्टफोलियो व्यवस्थापन गर्ने सुविधा लिएका हुन्छन्। यस्ता पोर्टलहरू बन्द हुँदा प्रत्यक्ष रूपमा दैनिक शेयर कारोबारमा असर पर्न जाने निश्चित देखिन्छ।
अहिले TMS-42, TMS-32 र TMS-58 ठप्प भएको पुष्टि भएको भए पनि अन्य पोर्टलहरू समेत बन्द हुनसक्ने आशंका गरिएको छ। यसबारेमा नेप्सेले भने आधिकारिक जानकारी सार्वजनिक गरेको छैन।

