Sunrise appliances
Homeप्रदेशप्रदेश ३चाँगुमा डोजर आतङ्क रोक्न मिलेर अगाडि बढ्नुपर्छ’

चाँगुमा डोजर आतङ्क रोक्न मिलेर अगाडि बढ्नुपर्छ’

भक्तपुर, १४ जेठ : भक्तपुरको चाँगुनारायण क्षेत्रमा जताततै डोजर चलेका देखिन्छन् । हरिया डाँडा, प्राकृतिक सौन्दर्य, पुरातात्विक सम्पदा एवं प्रसिद्ध पर्यटकीस्थलका रूपमा परिचित यो क्षेत्र अहिले उजाड छ । कित्ताकाट र जग्गा सम्याउने नाममा जताततै डोजर चलाउने, माटो खन्ने र बालुवा निकासी गर्नेजस्ता समस्याले चाँगुनारायण क्षेत्रको पहिचान नै हराउने स्थानीयको चिन्ता छ । नगरपालिकाको वडा नं १ देखि ९ सम्म अधिकांश ठाउँमा डोजरले प्राकृतिक वातावरण नै खल्बल्याउन थालेपछि साना डाँडा भाँसिन थालेका छन् । भीर, पहिरोमा समेत डोजर चलाउने गरेपछि थप समस्या भइरहेको छ । तपाईं यो क्षेत्रमा जानुभएको छ भने पक्कै यस्तै देख्नुभएको होला ! यो समस्या हिजोआजको भने होइन । यहाँ वर्षौदेखि यस्तै भइरहेको छ । समस्याबारे स्थानीयले आवाज नउठाएका पनि होइनन्, राज्यका निकायहरूले पनि समस्या समाधानका लागि पहल गरिरहेकै छन् । कहिले राष्ट्रिय सर्तकता केन्द्र त कहिले अख्तियारले लिखित पत्र काटेर समस्या समाधानको पहल गर्ने गरेका छन् तर पनि वर्षांैदेखि समस्या यथावत छ । स्थानीयवासीले स्थानीय तहबाट स्वीकृत लिएर वा नलिएर वर्षौदेखि यस्ता गतिविधि भइरहे पनि समस्या समाधानको ठोस पहल नभएको आरोप लगाउने गरेका छन् । यस्ता गुनासाबारे सरोकार भएकाहरूसमेत बेखबर छैनन् । यस्तै गुनासा सुनेपछि भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले यही जेठ ११ गते नगरप्रमुख जीवन खत्री र उपप्रमुख रमेश बुढाथोकीलाई जिल्ला प्रशासन कार्यालयमा बोलाएर गुनासाबारे ध्यानाकर्षण गराउनुभयो । छलफलपछि नगरपालिकाले जोडर चलाउन दिएका सबै इजाजत रद्द गर्ने सहमति भएको थियो । “हामीले अवैध बालुवाखानी सञ्चालन गर्ने, अव्यवस्थितरूपमा डोजर चलाउने भनेर उजुरी र गुनासा आएपछि तिनलाई सम्बोधनको प्रयास गरिनै रहेका छौँ । कतिपय अवस्थामा प्रहरी पठाएर निकासी गर्ने टिप्पर नियन्त्रणमा लिएर कारबाही गरेका छौँ”, प्रमुख जिल्ला अधिकारी श्रेष्ठले रासससँग भन्नुभयो,“अस्ति ११ गते नगरप्रमुख र उपप्रमुखलाई बोलाएर यस विषयमा गम्भीर छलफल भएको छ । उत्खननका लागि नगरपालिकाले दिएका अनुमति रद्द गर्ने निर्णय गरेका छौँ ।” यसैबीच आज नगर उपप्रमुख रमेश बुढाथोकीले पत्रकार सम्मेलन गरी जग्गा सम्याउने नाममा नगरपालिकाका वडा नं १ देखि ९ सम्मका डाँडाडाँडामा अन्धाधुन्ध डोजर चलाउने काम भएकाले त्यसलाई रोक्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कतिपय ठाउँमा थोरै जग्गाको स्वीकृति लिएर धेरै जग्गामा डोजर चलाउने, जग्गा सम्याउने नाममा माटो र बालुवाको अवैध निकासी गर्नेजस्ता समस्या देखिए”, उहाँले भन्नुभयो,“नगर क्षेत्रमा जताततै डोजर आतङ्क नै चलेको छ, यसले हामीमाथि पनि प्रश्न उठिरहेको छ ।” उपप्रमुख बुढाथोकीले चार÷पाँच रोपनी जग्गा सम्याउने भनेर नगरपालिकाबाट सिफारिस लिए पनि जग्गा व्यवसायीले आँखा छलेर २५ रोपनीसम्ममा डोजर चलाइरहेको पाइएको बताउनुभयो । यसरी अवैधरूपमा डोजर चलाएका व्यवसायीबाट डोजरको साँचो नियन्त्रणमा लिने जरिवाना गराउने गरिएको बताउनुभयो । “सुडालको गुम्बामुनी नगरपालिकासँग स्वीकृति नै नलिइ जग्गा प्लटिङ गर्नेक्रममा तीन वटा डोजरको साँचो नियन्त्रणमा लिएर रु ७५ लाख जरिवाना असुल गरेका छौँ । नगरकोटको टोलै र डाँडैपिच्छे डोजर चलिरहेका छन् । यस विषयमा वडाध्यक्षले समेत ध्यानाकर्षण गराउनुभएको छ । हुँदाहुँदा वडा नं ४ कार्यालयको तलतिर डोजर चलाए । यो त अत्ति नै भयो”, उहाँले भन्नुभयो । कार्यपालिका बैठकमा बालुवा उत्खननका विषयमा छलफल भए पनि सहमति नजुटेपछि एक महिनाभित्र जग्गा सम्याएर खाल्डो पुर्न नगरपालिकाले स्वीकृतिको पत्र दिएको थियो । सोही पत्र देखाएर व्यवसायीले बालुवा झिक्न थालेपछि स्थानीयवासीले प्रहरी प्रशासन गुहारेका थिए । विवाद बढ्दै गएपछि नगरपालिकाले बालुवाखानी सञ्चालन गर्ने अनुमति रोक्यो, त्यसविरुद्ध व्यवसायीले आन्दोलनसमेत गरे । उपप्रमख बुढाथोकी नगर क्षेत्रका प्राकृतिक सम्पदाको संरक्षण गर्ने दायित्व नगरवासीको पनि भएकाले गलत कार्यविरुद्ध मिलेर अगाडि बढ्नुपर्ने बताउनुहुन्छ । “व्यवसायीले अवैध बालुवा उत्खनन एवम् निकासीमा हामीलाई (नगरप्रमुख र उपप्रमुख) समेत मुछ्ने गरेका छन्, यो आफ्नो गल्तिबाट उम्कने दुष्प्रचारमात्रै हो । त्यसैले तपाईँहरू भ्रममा नपार्नु होला । अवैध उत्खननविरुद्ध मिलेर अगाडि बढ्नुपर्छ”, उपप्रमुख बुढाथोकीले आग्रह गर्नुभयो ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू