नेवार समुदायले ‘घ्यः चाकु सन्हु’ आज मनाउँदैछन्। माघे सङ्क्रान्तिका दिन नेवार समुदायले बिहान सबेरै नित्य पूजापछि विभिन्न देवदेवीलाई घिउ, चाकु, साकसला र काँचो तरुल राखेर चढाउने चलन छ। त्यस्तै पितृलाई पनि घिउ र चाकु दिने गरिन्छ।
देवदेवीको पूजापछि आफूभन्दा ठूला मान्यजनबाट ज्वानो राखेर तताइएको तोरीको तेल टाउकामा लगाइदिने गरिन्छ। जाडो समयमा खाने तेल टाउकामा राखेर घिउ, चाकु, चिउरा, तरुल जस्ता पोसिलो वस्तु खाँदा शरीर तातो भई ऊर्जा पैदा हुने जनविश्वास छ। राजधानीका मुख्य बजार असन र काष्ठमण्डपसहित अन्य ठाउँमा आज घिउ, चाकु र तरुल किन्नेको घुइँचो लागेको छ।