Sunrise appliances
Homeफोटोफिचरस्वस्थानी व्रत कथा तथा माधवनारायणको मेला सुरू (तस्बिरहरु)

स्वस्थानी व्रत कथा तथा माधवनारायणको मेला सुरू (तस्बिरहरु)

आजदेखि स्वस्थानी व्रत कथा तथा माधवनारायणको मेला सुरू भएको छ। प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म यो मेला लाग्ने गर्छ। यसै अवसरमा काठमाडौंको साँखुस्थित शालीनदीमा पूजा तथा स्नान गर्नेको भीड लागेको छ । प्रत्येक वर्ष पुस–माघको यो चिसोमा पनि कति जाडो, दुःख नमानी शालीनदीमा विहान सवेरै स्नान गरी एक छाक मात्र खाई श्री स्वस्थानी माताको कथा सुनि भगवानको भक्ति गदै एक महिनासम्म थुप्रै महिला तथा पुरुषहरु आफनो घरबाट टाढा साँखु शालीनदीको किनारमा आएर कठिन व्रत बस्ने गदर्छन् । पुस माघको महिनामा पर्ने गरेको श्री स्वस्थानी परमेश्वरको व्रत बस्न विशेष गरी पुरुषहरु भन्दा बढी महिलाहरु हुन्छन् ।

काठमाँडाै उपत्यकाबाट करीब १७ किलोमिटर उत्तर पूर्वतिर रहेको साँखु एक पुरानो नेवार बस्ती हो । श्री स्वस्थानी व्रतकथामा भएको शालीनदी यही सांखु भएर बग्ने गरेको छ । वास्तवमा शालीनदी एउटा सानो खोला मात्र हो, जुन हिउँद्मा थोरै मात्र पानी बग्छ । यो बेला यही पानीलाई जम्मा गरेर पोखरी जस्तो बनाइएको हुन्छ । यही पोखरीमा व्रतालुहरु स्नान गर्ने गर्दछन् । शालीनदीको तीरमा माधवनारायणको मन्दिर, गणेश मन्दिर तथा सत्तल रहेको छ भने अलि माथि श्री स्वस्थानीको मन्दिर रहेको छ ।

पौराणिक कथा अनुसार हिमालय पुत्री पार्वती बाल्यकालदेखि नै भगवान शिवलाई पतिका रुपमा पाउन गरेको कठिन व्रत नै श्री स्वस्थानी व्रत हो । त्यसैले यस व्रतमा पार्वतीका साथै भगवान श्री महादेवको पनि पुजा आराधना गरिन्छ । यो त भगवान प्रतिको आस्था र विश्वास हो । व्रतालुहरु किनारको सत्तलमा व्रत बस्ने गर्दछन् । लाखौं भक्तजनहरु यहाँ जम्मा हुन्छन् । हिन्दु धर्मावलम्वीहरुका करिब धेरैजसो घर–घरमा पौष शुक्लपक्ष पूर्णिमाको दिनदेखि एक महिनासम्म अर्थात् माघ शुक्लपक्ष पूर्णिमासम्म श्री स्वस्थानीमाताको कथा भन्ने गरिन्छ । नेपाल सम्बत ६९३ अर्थात् सन् १५७३ तिर काठमांडौ उपत्यकामा नेवार राजाहरुको पालामा जयन्त देवले नेपाल भाषामा श्री स्वस्थानीको व्रत कथा लेखेको पाइन्छ ।


श्री स्वस्थानी व्रत कथा हिन्दू धर्ममा आधारित एक पौराणिक ग्रन्थ हो । जुन महिनाभरि प्रत्येक दिन साँझपख परिवारका सबै सदस्यहरु बसेर श्री स्वस्थानी व्रत कथा सुन्ने गर्दछन् । श्री स्वस्थानी माताले आफनो सबै इच्छा पूरा गरी दिन्छिन् भन्ने विश्वासका साथ प्रत्येक दिन पाठ गरिन्छ । स्कन्दपुराणमा वर्णन गरिएको श्री स्वस्थानी व्रत कथा वास्तवमा भगवान शिव, पार्वती, विष्णुको सेरोफेरोमा रहेको कथा हो । हिमालय पुत्री पार्वतीले महादेव पति पाउन विष्णुले दिएको सल्लाह अनुसार एक महिनासम्म श्री स्वस्थानी माताको व्रत बसेको र त्यही व्रतको प्रभावले महादेवलाई पतिका रुपमा प्राप्त गरेको उल्लेख गरिएको छ । पछि पार्वतीले यस कथालाई यसरी दुःख पीर मर्कामा परेकाहरुको उद्दारका लागि गर्न लगाएको व्रतकथा हो । कथामा उल्लेख गरेका धेरैजसो ठाउँहरु जस्तै पशुपती क्षेत्र, श्लेषमान्तक बन, वाग्मती नदि, मृगस्थली, किरातेश्वर, गौरीघाट, गुÞयेश्वरी, विभिन्न शक्तिपीठ, महादेव मन्दिर, शालीनदी आदि सबै नेपालमा नै भएकाले यो महिनामा यी पवित्र ठाउँहरुमा भक्तजनहरुको घुँइचो लाग्छ ।

अगस्त्य मुनिले पृथ्वीको उत्पत्तिका साथसाथै घटेका विभिन्न घटनाक्रम बारे भगवान श्री महादेव पुत्र कुमारसँग राखेको जिज्ञासालाई कुमारले सविस्तार वर्णन गरेको पाइन्छ । त्यसैले शुरुमा ‘कुमारजी आज्ञा गर्नु हुन्छ हे अगस्त्य मुनि तिमी एक चित्त भई सुन’बाट कथा प्रारम्भ हुन्छ । जस अनुसार विष्णुले मधुकैटभ नामका दुई दानवहरुको वध गरी उनीहरु कै हाडखोडबाट ब्रÞमाले पृथ्वीको सृष्टि गरेको, दक्ष प्रजापति नाम गरेका राज्य पालकका पुत्री सतीदेवीसँग महादेवको विवाह भएको, दक्षले आयोजना गरेको यज्ञमा आफनो पतिलाई गरेको अपमान सहन नसकि सतीले यज्ञकुण्डमा नै हाम फाली प्राण त्याग गरेको, पछि महादेवका गणहरु आई दक्षको शिरच्छेदन गरेको, सतीको अंग पतनबाट पीठहरुमा शिव लिंगहरु उत्पन्न भएको ।

सतीदेवी हिमालय पर्वत तथा उनका पत्नी मेनकाको गर्भबाट पार्वतीको रुपमा पुनः जन्म भएको । महादेव पार्वतीको विवाह भैसके पछि गणेश र कुमारको जन्म भएको । कुमारद्वारा तारकासुर नामक दैत्यको अन्त भएको । महादेव र जालन्धरको युद्व भएको । विष्णुले छल गरी जालन्धर पत्नी वृन्दाको पतिव्रता धर्म हरण गरेको, पतिव्रता वृन्दाको श्रापले विष्णु् भगवान तुलसी, कुश, पीपलको रुख र शालिग्राम हुनु परेको कथामा उल्लेख गरिएको छ । यस्तै गरी कथामा श्री स्वस्थानी माताको व्रतको प्रभावले वर्षौदेखि विछोडिएको नाग नागिनीको पुनर्मिलन भएको, श्री गणेशको कृपाले शिवभट्ट ब्राÞमण र सती ब्राÞमणीले छोरी प्राप्त गरेको । आफुले मागेको कुरा नदिएको भनि भेष बदलेर आएका महादेवले गोमालाई श्राप दिएको । सो श्रापको कारण सत्तरी वर्षे शिव शर्मासँग सात वर्षकी गोमाको विवाह भएपछि गोमाले दुःख भोगेको, गोमाबाट छोरा नवराजको जन्म भएको ।

धन सम्पतिको लागि नवराज पनि परदेश लागेको र सप्तऋषिहरुले सिकाए अनुसार आफ्नो छोरा चाडै फर्कोस् भनी श्री स्वस्थानी माताको व्रत गरेको र यस्को प्रभावले नवराज परदेशबाट फर्केको तथा लावण्य देशको राजा भएको प्रसंग रहेको छ । नवराजकी पत्नी चन्द्रावतीको अहंकारले श्री स्वस्थानी माताको तिरस्कार गरेको कारणले शालीनदीमा अचेत भई वर्षौसम्म मुढा भई दुखः पाई बस्नु परेको प्रसंग पछि श्री स्वस्थानी माताको व्रतको प्रभावले पुनः आफ्नो रुपमा आएको कथा रहेको छ । श्री स्वस्थानी मातालाई कमलको फूल माथि चार हातमा चक्र, त्रिसुल, तरवार तथा कमलको फूल लिएको देखाइएको छ । जसलाई अष्ट मातृका महाकाली, वैष्णवी, ब्राम्ही माहेश्वरी, कौमेश्वरी, बराही, इन्द्रायणी, चामुण्डाद्वारा घेरिएको छ ।

श्री स्वस्थानी माताको व्रत लिने व्रतालुहरु महिनाभरि नै केवल एक छाक मात्र शुद्ध भोजन गरी शुद्ध भई एक चित्त रही प्रत्येक दिन साँझपख श्री स्वस्थानी माताको कथा पढनु, सुन्नु, सुनाउनु गरिन्छ । माघ शुक्ल पूर्णिमाको दिन स्वस्थानी व्रतकथा समापन गरिन्छ । यस दिनको लागि आवश्यक सबै पूजा सामग्रीहरु १०८ वटाको हिसाबले जम्मा गरिन्छ । पूजामा फलफूल नैबेद बाहेक एकसय आठ बेल पत्र, एकसय आठ कुडका सुपारी, १०८ पान, १०८ रोटी
(जसलाई गनौटा भन्ने गरिन्छ) १०८ यञसुत्र, जौं, तिल आदि राखी पूजा गरिन्छ । यसरी पूजा गरिएपछि यसबाट आठ अक्षता, आठ कुडका सुपारी, आठ पुष्प, आठ पान, तथा सगुन समेत आदि आफ्नो पतिलाई दिनु, पति नभए छोरालाई छोरा पनि नभए मित छोरालाई र यदि मीत छोरा पनि नभए आफ्नो फलानो काम पूरा होस्, मनले चिताएको पूर्ण होस् भनी पवित्र नदी, तलाउ, पोखरी आदिमा बगाउनु भनिएको छ । रातभरी जाग्राम बसी भगवान शिवको आराधना गरी बसेमा आफुले चिताएको सबै पुग्दछ भनी श्री स्वस्थानी व्रत कथा पुस्तकमा उल्लेख गरिएको छ । विवाहित महिलाहरु रातो साडी तथा रातै चुरामा सजिएर आफनो पतिको दीर्घायूको लागि तथा अविवाहित महिलाहरु असल पति पाउनको लागि एक महिनासम्म व्रत बस्छन् । श्री स्वस्थानी व्रतको यो एक महिने अवधिमा सांँखुस्थित शालीनदीमा आई माघे स्नान गरी माधवनारायणको दर्शन गरेमा सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्त हुने धार्मिक विश्वासले गर्दा यहाँ हरेक वर्ष भक्तजनहरुको भीड लाग्दछ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू