इलाम चियाको राजधानी हो । यहाँ मानिस चिया किन्न मात्र नभई चियाबारी क्षेत्र घुम्न पनि आउने गर्छन् । तर, पछिल्लो समय चियाका लागि प्रख्यात मानिने इलाममा कफी खेती पनि हुन थालेको छ । किसानले कफीको व्यावसायिक खेती गर्न थालेपछि उत्पादनमा वृद्धि भएको छ । केन्द्रीय तथ्याङ्क विभागले गरेको एक सर्वेक्षणअनुसार इलाम प्रदेश १ कै उत्कृष्ट कफीखेती हुने जिल्लामा परेको छ ।
सर्वेक्षणका अनुसार प्रदेश १ को १० जिल्लामा ५६९ किसानले व्यावसायिक कफीखेती गरेका छन् । त्यसमध्ये इलाममा २३६ किसानले व्यावसायिक कफीखेती गरिरहेको केन्द्रीय तथ्याङ्क विभागका निर्देशक बद्रीकुमार कार्कीले जानकारी दिए ।
विभागले ५० बोटभन्दा बढी कफी लगाएर खेती थालेका किसानलाई मात्रै सर्वेक्षणमा समावेश गरेको छ । ‘व्यावसायिक कफीखेतीको सर्वेक्षण भएकाले ५० बोटभन्दा कम हुनेको तथ्याङ्क लिइएको छैन’, उनले भने, ‘तथ्याङ्क सङ्कलनको काम ०७४ मा भएकाले त्यसयता खेती थालेका किसान छुटेका छन् ।’
प्रदेश १ को १२० हेक्टर क्षेत्रफलमा कफीखेती भइरहेको छ । त्यसमध्ये इलाममा ४३ हेक्टरमा व्यावसायिकरूपमा खेती गरिएको छ । प्रदेश १ मा एक लाख तीन हजार ६६१ किलो ‘फ्रेस चेरी’ उत्पादन हुने गरेको छ । इलाममा वार्षिक ४२ हजार ६४९ फ्रेस चेरी उत्पादन हुने गरेको तथ्याङ्क सार्वजनिक गरिएको छ । इलाममा पछिल्लोपटक कम्पनीमार्फत ठूलो क्षेत्रफलमा कफी लगाउन थालिएको छ । सूर्योदय नगरपालिकामा ४०० रोपनीमा कफी लगाइँदैछ ।
इलाम नगरपालिका, देउमाईको जीतपुर, गजुरमुखीलगायतका ठाउँमा ठूलो क्षेत्रफलमा कफीखेती थालिएको छ । प्रदेश १ को तेह्रथुममा १६६ किसानले १६ हेक्टर क्षेत्रफलमा कफी खेती गरेका छन् । पाँचथरमा १३ हेक्टर, उदयपुरमा तीन दशमलव पाँच, खोटाङमा पाँच हेक्टर, ताप्लेजुङमा चार हेक्टर, भोजपुरमा १७ हेक्टर, सङ्खुवासभामा नौ हेक्टर, ओखलढुङ्गामा एक हेक्टर, धनकुटामा छ हेक्टरमा कफी खेती हुने गरेको छ । सर्वेक्षणअनुसार नेपालको ३२ जिल्लामा कफीखेती भइरहेको छ ।
तेस्तै जिल्लाको माङसेबुङ गाउँपालिका १ गजुरमुखीका कृषक याम कार्की अचेल कफीको विरुवा स्याहारसुसारमा व्यस्त छन् । केहि वर्षदेखि एग्रो ईलाम प्रालि दर्ता गरि व्यवसायिक कफीको विरुवा उत्पादन सुरु गरेका कार्कीले राम्रो आम्दानी गरे । कार्कीले गुल्मीको आँपचौरबाट ल्याएको अरबिका (बोर्बोन) जातको कफिको हजारौं विरुवा उत्पादन गरेर बिक्री गरिरहेका छन । त्यहाँ उत्पादित विरुवा स्थानीय सहकारी संस्था तथा व्यवसायिक फर्महरुले किनेर लैजाने गरेका छन् । प्रतिगोटा कफीको विरुवा होलसेलमा २५ रुपैयाँ र खुद्रामा ३० रुपैयाँका दरले बिक्री हुने गरेको एग्रो ईलाम प्रालिका प्रोपाइटर कार्की बताउँछन् ।
खेतबारी तथा पाखामा समेत सहजै रूपमा खेती गर्न सकिने भएकाले कफीबाट राम्रो आम्दानी हुने बुझेपछि अन्य खेतीलाई विस्थापन गरेर कफी सुरु गरेको उनको भनाइ छ । विश्व बजारमा नेपाली कफीको माग बढेसँगै इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुममा ठूलो क्षेत्रमा कफी लगाइएको छ ।
नेपालमा अरविगा जातको कफी लगाइने गरेको छ । समुद्री सतहको आठ सयदेखि १६ सयसम्मको उचाइमा कफी राम्रो उत्पादन हुन्छ । नर्सरीबाट बगैँचामा लगाएको तीन वर्षपछि फल्न शुरु हुने कफी रोपेको ५० वर्षसम्म उत्पादन हुन्छ । एउटा बोटमा वर्षेनी पाँच, सात किलोसम्म कफी फल्छ ।