काठमाडौं, माघ २३ – नेपाल भ्रमणमा रहेकी संयुक्त अधिराज्य बेलायतकी अधिराजकुमारी डचेस सोफियाले कीर्तिपुर आँखा अस्पताल र भक्तपुर अस्पतालको अवलोकन गरेकी छन्।
कीर्तिपुर आँखा अस्पतालले बेलायतको विकास साझेदार संस्था रिड्ली आइ फाउण्डेसनको सहकार्यमा नेपालका दुर्गम उच्च पहाडी क्षेत्रमा निःशुल्क मोतिविन्दु शल्यक्रिया शिविर सञ्चालन गर्दै आएको छ। अधिराजकुमारी सोफियाले अस्पतालको सेवा तथा कार्यक्रमबारे जानकारी लिँदै नेत्र स्वास्थ्य सेवामा बेलायत-नेपाल सहकार्यको प्रभावकारी भूमिका प्रशंसा गरेकी छन्।
साथै, ‘द इन्टरनेसनल एजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेस (IAPB)’ की ग्लोबल एम्बेसडरको रूपमा उनले नेपालमा नेत्र रोग निवारणका लागि भइरहेका पहलको अवलोकन गरेकी हुन्।
त्यस्तै, अधिराजकुमारी सोफियाले भक्तपुर अस्पतालको प्रसूति कक्ष (गाइनो वार्ड) को भ्रमण गर्दै त्यहाँ रहेका सुत्केरी महिला र नवजात शिशुको स्वास्थ्य अवस्था, उपचार विधि, तथा अस्पताल सेवाहरूबारे विस्तृत जानकारी लिएकी छन्।
उनको भ्रमणले नेपालका स्वास्थ्य संस्थाहरूसँग अन्तर्राष्ट्रिय सहकार्य अझ मजबुत हुने विश्वास गरिएको छ।