- ग्यास्ट्राइटिस अर्थात् बोलीचालीको भाषामा ग्यास्ट्रिक भनेको के हो?
–मानिसले खाना खाएपछि खानानली हुँदै खाना रहने थैलो (आमाशय)भित्रको झिल्ली वा नरम मासु सुन्निनुलाई ग्यास्ट्राइटिस भनिन्छ । यो सुन्निने कारण धेरै हुन्छन् । हाम्रो पेटको थैलोमा नै खाना पचाउनका लागि हाम्रो शरीरले ‘हाईड्रोक्लोरिक एसिड’ उत्पादन गर्छ । यो ‘हाईड्रोक्लोरिक एसिड’ले प्राय प्रोटिनलाई पचाउँछ ।
धेरै समय भोको पेट बस्यो, लामो समय खाना खाएन भने वा ‘हाईड्रोक्लोरिक एसिड’ नै बढाउने खानेकुराहरू खायो भने त्यसले झिल्ली सुन्निन्छ र ग्यास्ट्राइटिस निम्त्याउँछ । खाना पचाउने क्रममा यदि ‘हाईड्रोक्लोरिक एसिड’ले खाना पचाउन पाएन वा त्यसलाई बचाउने तत्त्वहरूको असन्तुलन भयो भने ग्यास्ट्राइटिस हुन्छ ।
- यो रोग नै हो वा अरू केही ?
–ग्यास्ट्राइटिस भनेको एउटा रोग नै हो । यसलाई ‘एसिड पेप्टिक डिस्अर्डर’ पनि भनिन्छ । हामी नेपालीहरू वातावरणीय कारकले गर्दा पनि ग्यास्ट्राइटिसको धेरै जोखिममा हुन्छौँ । जस्तै समयमा खाना नखाने, पिरो अमिलो धेरै खाने, धेरै समय भोको बस्ने, व्रत बस्ने, धूम्रपान, मद्यपान, कोल्ड ड्रिङ्क्सहरुको सेवनले, राम्रोसँग नपाकेको खानेकुरा खानाले ग्यास्ट्राइटिसको सम्भावना बढाउँछ । खास ग्यास्ट्राइटिस बढाउने चाहिँ ‘एच पाइलोरी’ कीटाणुले हो । यो जुठो खानेकुराको माध्यमबाट मानिसको शरीरभित्र प्रवेश गर्छ र यसले ‘हाईड्रोक्लोरिक एसिड’ बढाउन मद्दत गर्छ ।‘हाईड्रोक्लोरिक एसिड’ बढेपछि ग्यास्ट्राइटिस हुने, अल्सर निम्त्याउने गर्छ ।
हामीले खाने औषधीहरूले पनि ग्यास्ट्राइटिस बनाउँछ । त्यसैले चिकित्सकको सल्लाह बिना औषधि खानु हुँदैन । ग्यास्ट्राइटिस हुने अर्को कारण भनेको तनाव पनि हो ।
- तनावले पनि ग्यास्ट्राइटिस कसरी बढ्छ ?
–मानिसलाई तनाव भएपछि ‘हाईड्रोक्लोरिक एसिड’ बनाउने स्नायुलाई ‘स्टिमुलेसन’ गरिदिन्छ । यसले गर्दा ‘हाईड्रोक्लोरिक एसिड’ बढी बन्छ । मानिसले तनाव भएपछि समयमा खाना खाँदैनन्, निन्द्रा कम पर्छ । यसले ग्यास्ट्राइटिसको सम्भावना बढ्छ । त्यसैले तनाव कम लिएकै राम्रो ।
- यो रोग कुनै उमेर समूह लक्षित हुन्छ ?
–यो रोगमा उमेर समूह भन्ने छैन । बच्चादेखि लिएर वृद्धावस्थासम्म सबैमा यो रोग देखिन्छ ।
- ग्यास्ट्राइटिसका लक्षण के–के हुन् ?
खाना खाएपछि पेट दुख्ने, खान मन नलाग्ने, खालि पेट हुँदा पेट दुख्ने, डकार आउने, छाती पोल्ने, वान्ता हुने, कोही कोही मानिसहरूको वजन कम हुँदै जाने, रक्तअल्पता हुने जस्ता लक्षणहरू देखिन्छन् । सबैमा एकै खालका लक्षण देखिन्छ भन्ने हुँदैन ।
- ग्यास्ट्राइटिसको उपचार प्रक्रिया के के हुन्छ?
–सबैभन्दा पहिला कस्तो ग्यास्ट्राइटिस हो भनेर पत्ता लगाउनुपर्यो । धेरै खानेकुरा खाएर तुरुन्तै हुने ग्यास्ट्राइटिस त पेटलाई आराम दिएपछि, सामान्य औषधीले पनि निको हुन्छ । पुरानो ग्यास्ट्राइटिस वा कीटाणुका कारणले भएको ग्यास्ट्राइटिस हो भने चिकित्सकसँगको परामर्शमा औषधी खाएर निको हुन्छ । कस्तो ग्यास्ट्राइटिस हो भनेर पत्ता लगाएर त्यही अनुसार उपचार गर्नुपर्छ । साथै खानपानमा पनि ध्यान दिनुपर्छ । कम मसला भएको खानेकुरा खाने, सागसब्जीमा जोड दिने, चुरोट, रक्सी नखाने, गर्नुपर्छ ।
- ग्यास्ट्राइटिसले अन्य विभिन्न रोग पनि निम्त्याउँछ भनिन्छ नि ? ग्यास्ट्राइटिसका कारण अल्सर तथा क्यान्सरको सम्भावना पनि हुन्छ ?
–यदि ग्यास्ट्राइटिसले कडा रूप लियो भने अल्सर हुन्छ, रक्तअल्पता हुन्छ, रगत वान्ता गर्ने कालो दिशा जाने, कमजोर भएर ढल्ने, कतिपय केसमा रगत धेरै गएर मृत्यु हुने सम्भावना पनि हुन्छ । यसले आन्द्रा नै प्वाल पार्ने पनि हुन्छ । यसले अल्सर भएर खानानली नै साँघुरो बनाएर खाना नै पास नहुने भएर वान्ता मात्र हुने हुन्छ । धेरै समयसम्म यो भइरह्यो भने कीटाणुको कारणले क्यान्सर पनि हुन्छ ।
- ग्यास्ट्राइटिसपछि अल्सर कसरी हुन्छ ? र यसका असर के हुन् ?
अल्सर भनेको घाउ हो । ग्यास्ट्राइटिस बिग्रिएपछि सानो घाउ बन्छ जसलाई इरोजन भनिन्छ । इरोजन बढ्दै गएपछि अल्सर हुने हो । अल्सर आमासयलगायत आन्द्राको अन्य ठाउँमा पनि हुन सक्छ ।ठाउँ अनुसार कुन किसिमको अल्सर हो भनेर थाहा हुन्छ । ग्यास्ट्राइटिसले निम्त्याएको अल्सरचाहिँ आमाशयमा र सानो आन्द्राको माथिल्लो भागमा हुन्छ । समयमा उपचार गर्नु भएन भने अल्सर बढेर क्यान्सर पनि हुन्छ । अल्सरले आन्द्रा साँगुरो हुने आन्द्रा प्वाल पर्ने पनि हुन्छ । अल्सरले रगतका नलीहरू फुटाएर रक्तअल्पता हुने, कालो दिशा जाने, कफी रङ्गको वान्ता हुने हुन्छ । त्यसैले अल्सर हुन नदिन ग्यास्ट्राइटिस नै हुन दिनुभएन । तर यसमा डराइहाल्नुपर्ने अवस्था आउँदैन । यसको उपचार सम्भव छ ।
- ग्यास्ट्राइटिस भएको व्यक्तिलाई खानपान तथा व्रत बस्ने विषयमा कस्तो सल्लाह दिनुहुन्छ?
–व्रत बस्ने भनेर पूर्ण उपवास बस्नुचाहिँ भएन । फलफूलहरू खाने, पानी प्रशस्त पिउने, दूध दही खाने गर्दा त खासै असर गर्दैन । यदि व्रत लिने व्यक्तिलाई ग्यास्ट्राइटिसकै समस्या छ भने व्रत नबसेकै राम्रो । पेट खाली हुने भएकाले ग्यास्ट्राइटिस बढेर अल्सरमा परिणत हुन्छ । यस्ता मानिसहरूले पूर्ण उपवास नबसी बिचबिचमा पानी खाने, फलफूल खाने गर्नुपर्छ । दैनिक ८ गिलास पानी पिउनु पर्छ । आफू होसियार हुनुपर्छ ।
- ग्यास्ट्राइटिस भएकाले के खाने, के नखाने ?
–बिहान उठ्ने बित्तिकै सबैभन्दा पहिला एक गिलास मनतातो वा ‘रुम टेम्प्रेचर’ पानी पिउनु पर्छ । शारीरिक व्यायाम गर्नुपर्छ, आफूलाई रुच्ने र पिरो अमिलो चिल्लो कम भएका खानेकुरा बिहानको खाजामा खानुपर्छ । सुख्खा रोटी, गेडागुडीको रस, अन्डा, दही जस्ता स्वस्थ खानेकुरा खादा राम्रो ।
दिउँसोको खानामा दाल, भात, रोटी तरकारी, राम्रोसँग पकाएको माछा मासु र बेलुका हल्का खाने जस्तै फलफूल, दुध आदि खानुपर्छ । बिचबिचमा पानी पिउन नबिर्सिने, र खाना खाने बित्तिकै सुत्नु हुँदैन। खाना खानु र सुत्नुको बिचमा कम्तीमा पनि २–३ घण्टाको भिन्नता हुनै पर्छ । यति गर्यो भने मानिस एकदम स्वस्थ रहन्छ । यसैगरि, धेरै नुनिलो खानेकुरा खानुहुँदैन । पुराना अचार, साँधेको मासु, पोलेको मासु, धूम्रपान, मद्यपान आदिले क्यान्सरसम्म निम्त्याउँछ ।
- ग्यास्ट्राइटिसका बारेमा हाम्रो समाजमा रहेका भ्रमचाहिँ के हुन् ?
–बनाएर खान नजानेर मात्रै हो । मकै दुधसँग, दहीसँग खान हुन्छ । भटमासलाई भुटेर खानुभन्दा भिजाएर, उसिनेर झोल बनाएर खाँदा राम्रो । जसलाई ग्यास्ट्राइटिस भइरहेको छ उसलाई ग्यास फर्मेसन गर्छ, पेट ढाडिन्छ भनेर दुध चिया त नखाएकै राम्रो हो । दुध चिया खानुभन्दा बरु दुध नै खाँदा हुन्छ । ग्यास्ट्राइटिस नभएको मानिसले दिनमा एक दुई पटक खाँदा फरक पर्दैन ।