Sunrise appliances
Homeकाठमाडौंकाठमाडौँका स्वास्थ्य संस्थाले अनलाइनबाट मासिक प्रतिवेदन बुझाउनुपर्ने

काठमाडौँका स्वास्थ्य संस्थाले अनलाइनबाट मासिक प्रतिवेदन बुझाउनुपर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र निजी अस्पताल, सामुदायिक अस्पताल, पोलिक्लिनिकका नाममा दर्ता भएका स्वास्थ्य संस्थाले अनलाइन प्रणालीबाट मासिक प्रतिवेदन बुझाउनुपर्ने भएको छ ।

वागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयको, स्वास्थ्य निर्देशनालयले गएको साउन ७ गते पत्र पठाउँदै स्थानीय तहको स्वास्थ्य विभाग/शाखाबाट स्वास्थ्य संस्थाको मासिक प्रतिवेदन प्रविष्ट गराउने युजर नेम र पासवर्ड उपलब्ध गराउने व्यवस्था मिलाउन भनेको थियो ।

यसका लागि विभागले फागुन १ गते (हिजो) ६० वटा संस्थालाई बोलाइएको थियो । जसमध्ये ४८ संस्था सहभागी भएर आफैँ प्रणाली चलाउन सक्ने भएका छन् । आज पनि ६० संस्थालाई बोलाइएको छ । एउटा समूहमा ३० जना राखेर २ समूहमा प्रशिक्षण दिँदै युजर नेम र पासवर्ड दिने गरिएको छ ।

स्वास्थ्य विभागका प्रमुख सजिना महर्जनका अनुसार यसअघि स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (एचएमआइएस) कार्यान्वयनमा थियो । त्यसलाई विकसित र परिष्कृत गर्दै एकीकृत प्रणाली कार्यान्वयनमा ल्याइएको हो । महर्जन भन्नुहुन्छ, ‘यसरी बुझाइएको प्रतिवेदनबाट प्राप्त तथ्याङ्कबाट सहरमा मुख्य स्वास्थ्य समस्या र सेवा क्षमता थाहा हुनेछ । यो तथ्यका आधारमा नीति तर्जुमा र सेवा सुधारका योजना बनाउँदा वास्तविक हुनेछ ।’

महानगरपालिकाले अस्पताल दर्ता तथा नवीकरणलाई पनि अनलाइन प्रणालीमा आबद्ध गर्ने तयारी गरेको छ । लक्षित वर्गलाई उपलब्ध गराइने निःशुल्क उपचार प्रणालीलाई अनलाइनबाट उपलब्ध गराउने, नियमन र नियन्त्रण गर्न मिल्ने बनाइँदै छ । महर्जनले स्वास्थ्य सेवा व्यवस्थापन प्रणालीका विषयमा जानकारी दिए ।

विभागकी सिनियर अनमी निरीक्षक लक्ष्मी पौडेलका अनुसार काठमाडौँ महानगरपालिका क्षेत्रभित्र निजी, सामुदायिक अस्पताल, पोलि क्लिनिक र फार्मेसीसहित करिब ३ हजार स्वास्थ्य संस्था छन् । विशेषज्ञ स्वास्थ्य सेवा दिने अस्पतालको सङ्ख्या करिब ७० वटा छन् । यसलाई अद्यावधिक गराएर वास्तविक सङ्ख्या यकिन गर्ने काम भइरहेको छ । 

एकीकृत स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीले औषधि पसलबाहेक रोगको परीक्षण र उपचार गर्ने संस्थालाई समेटेको छ । यसबाट प्राप्त विवरणले सहरमा कति बिरामीले स्वास्थ्य परीक्षण गराए, कुन कुन रोगको कति बिरामीले उपचार गराए, उनीहरूको उमेर समूह कुन थियो, प्रयोगशाला परीक्षण कति जनाको भयो, एक्स रे कति जनाले गराए, ओपीडी सेवा कतिले लिए जस्ता सेवा र रोगसँग सम्बन्धित विवरण थाहा हुनेछ । 

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू