Sunrise appliances
Homeकाठमाडौंकीर्तिपुर नगरपालिकाको २०८१/८२ नीति: पुराना योजनाको दोहोर्याइ, नयाँ कार्यक्रम सीमित

कीर्तिपुर नगरपालिकाको २०८१/८२ नीति: पुराना योजनाको दोहोर्याइ, नयाँ कार्यक्रम सीमित

कीर्तिपुर नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्यले प्रमुख अतिथि राजन केसीको अध्यक्षतामा सम्पन्न पाँचौं नगर सभाको अधिवेशन समारोहमा २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरिन्। प्रस्तुत गरिएका नीति तथा कार्यक्रमहरु गत वर्षका तुलनामा विशेष नयाँ र चाखलाग्दा नभए पनि केही पुराना कार्यक्रमहरुको पुनरावृत्ति र थोरै नयाँ योजनाहरु समावेश गरिएका छन्। यसले आगामी कीर्तिपुर नगरपालिकाको बजेट कति समावेशी र लचिलो हुनेमा प्रश्न उब्जाउन सक्छ।

शाक्यले नीति तथा कार्यक्रमका मुख्य बुँदाहरुमा सुरक्षित मातृत्व, बाल स्वास्थ्य, किशोर किशोरी तथा यौन र प्रजनन स्वास्थ्य सेवाहरुलाई प्राथमिकता दिने कुरा बताइन्। साथै, वैदेशिक रोजगारीमा जाने र फर्कने श्रमिकहरुको अभिलेख राखी उनीहरुको ज्ञान, सीप र क्षमताको उपयोग गर्ने नीति ल्याइने बताइन्।

स्वास्थ्य क्षेत्रमा, कीर्तिपुर अस्पतालमा निःशुल्क डायलाइसिस सेवा निरन्तरता दिने, परम्परागत चिकित्सा पद्धति जस्तै आयुर्वेद, प्राकृतिक चिकित्सा, होमियोप्याथी, योग तथा ध्यानको संरक्षण, प्रवर्द्धन र विस्तार गर्ने योजना प्रस्तुत गरियो। महिला स्वास्थ्य स्वयंसेविकाहरुको क्षमता अभिवृद्धि गरी नियमित खोप कार्यक्रमलाई प्रभावकारी बनाउने र प्रत्येक वडामा पाठेघरको मुख तथा स्तन क्यान्सर पहिचान गर्न क्यान्सर परीक्षण अभियान सञ्चालन गरिने बताइयो।

सार्वजनिक यातायातलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाहरुसँग समन्वय र सहकार्य गर्ने योजना छ। शिक्षा क्षेत्रमा, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई प्रभावकारी बनाउन विद्यालय तहबाट प्रतिस्पर्धी खेलाडी उत्पादनलाई प्रोत्साहन गरिनेछ। सामुदायिक विद्यालयका शिक्षकहरुको पेसागत विकास गरी प्रविधिमैत्री गुणस्तरीय शिक्षामा जोड दिइनेछ।

लैंगिक समानता र सामाजिक समावेशीकरण अन्तर्गत, “कीर्तिपुरका महिला, विकासमा पहिला” भन्ने नाराका साथ महिला सशक्तिकरण तथा लैंगिक समानता सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ। साथै, लैंगिक हिंसाबाट प्रभावितहरुलाई राहत, मनोसामाजिक परामर्श सम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिनेछ। गृहणी महिलाहरुलाई सशक्तिकरण गर्दै आर्थिक रुपमा आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रमहरु सञ्चालन गरिनेछ।

सबै सार्वजनिक संरचनाहरु अपांगमैत्री बनाइनेछ र अपांगता भएका व्यक्तिहरुको सशक्तिकरणका लागि तालिम सञ्चालन गरी सीप, पूँजी, प्रविधि हस्तान्तरण गरिनेछ। नेपाल भाषा विषय लिई स्नातकोत्तर अध्ययन गर्ने स्थानीय विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था गरिनेछ।

उद्योग तथा वाणिज्य नीति अन्तर्गत स्थानीय घरेलु मदिरालाई ब्रान्डिङ, लेबलिङ गरी बजारीकरण गर्ने र किसानहरुलाई सूचीकरण गरी परिचय पत्र वितरण गर्दै कृषि बीमा कार्यक्रमसँग आबद्ध गरिने योजना छ। रैथाने जातको नगदे बालीको पहिचान, प्रयोग, संरक्षण र बजारीकरणमा प्रोत्साहन गरिनेछ।

वन तथा वातावरण अन्तर्गत नगरभित्रका पुराना बस्तीहरुमा गाडीहरुको प्रवेशलाई व्यवस्थित गरी पैदलयात्रा, साइकल र विद्युतीय सार्वजनिक सवारीलाई प्रवर्द्धन गरिनेछ। स्थानीय जडिबुटी पहिचान, संकलन, प्रशोधन र बजारीकरणको माध्यमबाट आयआर्जन र रोजगारी सिर्जना गरिने योजना छ।

यी प्रस्तावित नीति तथा कार्यक्रमहरुको कार्यान्वयनका लागि आवश्यक कार्यक्रम र बजेटको विस्तृत विवरण आगामी नगरसभाको बैठकमा प्रस्तुत गरिने पनि जानकारी दिइएको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू