Sunrise appliances
Homeकाठमाडौंसाउन १ देखि राष्ट्रिय परिचय पत्र अनिवार्य: कीर्तिपुरमा दृष्टिबिहिन र डायलसिस गराइरहेकाले...

साउन १ देखि राष्ट्रिय परिचय पत्र अनिवार्य: कीर्तिपुरमा दृष्टिबिहिन र डायलसिस गराइरहेकाले पनि दर्ता गराए

घडीले ठ्याक्कै १०ः२० टेकिसक्दा दिनेश ज्ञवाली कीर्तिपुर नगरपालिका पुगे, उनी फरक क्षमता भएका (दृष्टिबिहिन) व्यक्ति हुन् । गुल्मी घर भएका हाल कीर्तिपुर नगरपालिकाका वडा नं ५ मा बस्दै आएका उनी राष्ट्रिय परिचय पत्र दर्ता गराउन आएका हुन् । त्यस्तै वडा नं ९ नगाँउ निवासी शारदा महर्जन पनि राष्ट्रिय परिचय पत्र दर्ता गराउन सिधै अस्पतालबाट नगरपालिका आएकी हुन् । उनी अस्पतालमा डायलसिस गराएर आएकी थिइन् । पालिकाका कर्मचारीको सहयोगले उनीले मजाले एकैछिनमा आफ्नो विवरण दर्ता गराइन् । सरकारले साउन १ गते देखि सामाजिक सुरक्षा भत्ता, पेन्सन र बिमामा राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने निर्णय गरे सँगै नगरपालिकामा राष्ट्रिय परिचय पत्र दर्ता गर्नेहरुको भीड लागेको हो ।


गत सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले पहिलो चरणमा २८ जिल्लामा लागू गर्ने जनाएको हो । दोस्रो चरणमा आगामी माघ १ मा ३८ जिल्लामा र तेस्रो चरणमा २०८२ साउनदेखि ११ जिल्लामा लागू गरिने भएको छ ।गत जेठ २४ को मन्त्रिपरिषद् बैठकले ७७ जिल्लामै परिचयपत्र लागू गर्ने निर्णय गरेको थियो । पहिलो चरणमा झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, रौतहट, बारा, पर्सा, चितवन, कास्की, तनहुँ, रूपन्देही, कपिलवस्तु, दाङ, सुर्खेत, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर परेका छन् ।राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कटेलले सकेसम्म सुगम र सहज रूपमा परिचयपत्र लिन सक्ने जिल्लामा पहिलो चरणमा लागू गरिएको बताए । ‘सकेसम्म नागरिकलाई सहज रूपमा फोटो खिच्ने र बायोमेट्रिक दिन सक्ने गरी व्यवस्थापन मिलाइएको छ,’ उनले भने, ‘राजपत्रमा उल्लेख भएअनुसार बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने, अशक्त, असहाय वा ९० वर्षमाथिका ज्येष्ठ नागरिकको हकमा भने परिचयपत्र नलिए पनि सेवा लिन बाधा पर्ने छैन ।’


राजस्वसम्बन्धी व्यक्तिगत आयकर दर्ता, सवारी चालक अनुमतिपत्रसम्बन्धी र कम्पनी दर्ता एवं नवीकरणका लागि पनि आगामी साउनदेखि देशभर नै परिचयपत्र अनिवार्य गरिएको छ । बैंकिङ तथा वित्तीय सेवा, टेलिफोन तथा सिमकार्ड, सामाजिक सुरक्षा कोष तथा घरजग्गा किनबेचमा भने आगामी माघ १ देखि परिचयपत्र अनिवार्य गरिएको राजपत्रमा उल्लेख छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू