Sunrise appliances
Homeकाठमाडौंचार दशकको राजनीतिक यात्रा बिसाउँदै, कीर्तिपुरलाई रुवाउँदै विदा भए, मेयर राजकुमार नकर्मी

चार दशकको राजनीतिक यात्रा बिसाउँदै, कीर्तिपुरलाई रुवाउँदै विदा भए, मेयर राजकुमार नकर्मी

कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन सँगै उनको चार दशक लामो राजनीतिक यात्राको अन्त्य भएको छ। बुबा राजमान नकर्मी र आमा लक्ष्मी नकर्मीको कोखबाट वि.सं. २०२१ साल असार २० गते जन्मिएका नकर्मीले ०४० को दशक प्रारम्भसँगै नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए।

नकर्मीको नेतृत्व क्षमता ०४६ सालको जनआन्दोलनमा प्रकट भयो। आन्दोलनमा सख्त घाइते भएका नकर्मीले कीर्तिपुरको नेतृत्व पंक्तिमा अग्रणी भूमिका खेले। आन्दोलनको सफलतासँगै नकर्मी कीर्तिपुरवासी माझ परिचित र लोकप्रिय बने। कीर्तिपुरमा प्रजातान्त्रिक धारको जनमत, राजनीति र संगठन विस्तारै बलियो हुँदै गए, जसको श्रेय नकर्मीको प्रख्खर नेतृत्वलाई जान्छ।

गत स्थानीय चुनावमा नकर्मी नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित भए। कीर्तिपुर नगरपालिकामा पहिलो पटक कांग्रेसका नकर्मी मेयर निर्वाचित भएका थिए, जसले वामपन्थीहरूको गढलाई तहसनहस पार्दै ऐतिहासिक जीत हासिल गरे। कीर्तिपुरको १० वटा वडामध्ये ९ वडाध्यक्ष कांग्रेसका उम्मेदवारहरू विजयी भएका थिए। वडा नम्बर ४ मा स्वतन्त्र उम्मेदवार दिनेशचन्द्र दाहाल विजयी भएका थिए।

वडा नम्बर १० का अध्यक्ष नरेश महर्जनका अनुसार, नकर्मीले ०४६ सालको जनआन्दोलन र २०६२/६३ को दोस्रो जनआन्दोलनमा सक्रिय भूमिका निभाएका थिए। महर्जनले भने, “०४६ र २०६२/६३ को आन्दोलनमा उहाँको सक्रिय भूमिका थियो। उहाँकै राजनीतिक कुशल नेतृत्वका कारण कांग्रेसले कीर्तिपुरमा गत स्थानीय चुनावमा मेयरसहित ९ वटा वडामा जीत हासिल गरेको हो।” नकर्मी काठमाडौं जिल्ला कांग्रेस समितिका उपसभापतिसमेत थिए।

राजनीतिमा मात्र नभई नकर्मीको योगदान कीर्तिपुरको आर्थिक, सामाजिक, शैक्षिक र विकास निर्माणमा पनि निरन्तर रह्यो। उनको निधनले कीर्तिपुर मात्र होइन, सम्पूर्ण काठमाडौं जिल्ला शोकमा छ। नकर्मीका श्रीमती, एक छोरी र एक छोरा रहेका छन्।

उनको स्मृति र योगदान सधैं जिउँदो रहिरहनेछ। नकर्मीको निधनले नेपाली राजनीति, कीर्तिपुरको विकास र प्रजातान्त्रिक आन्दोलनमा अपूरणीय क्षति भएको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू