Sunrise appliances
Homeकाठमाडौं"देशभर रक्षाबन्धन, जनैपूर्णिमा धूमधामका साथ मनाइँदै, धार्मिक स्थलहरूमा भक्तजनको घुइँचो"

“देशभर रक्षाबन्धन, जनैपूर्णिमा धूमधामका साथ मनाइँदै, धार्मिक स्थलहरूमा भक्तजनको घुइँचो”

काठमाडौं, ३ भदौ। नेपालभर आज श्रावण शुक्ल पूर्णिमाको अवसरमा रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व विधिपूर्वक मनाइँदै छ। वैदिक सनातन धर्मावलम्बीहरुले विहानै नदी, ताल, तलाउ, पोखरीमा स्नान गरी आफ्नो गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने परम्परा रहेको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, देशका विशिष्ट व्यक्तिहरूले मात्र भद्रा समाप्त भएपछि, दिउँसो १ः३१ बजेपछि रक्षाबन्धनको कर्म गर्न उपयुक्त हुनेछ। रक्षाबन्धनको क्रममा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ मन्त्र उच्चारण गर्दै रक्षासूत्र अर्थात् डोरो बाँध्ने वैदिक परम्परा छ।

रक्षासूत्रलाई विशेष मन्त्रसहित पूजागरी बाँधिने भएकाले यसले धारणकर्ता नकारात्मक तत्वबाट सुरक्षित रहन्छ भन्ने धार्मिक विश्वास छ। यो रक्षाबन्धनको परम्परा सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी दानवराज बलिलाई बाँधिदिएको पौराणिक मान्यतामा आधारित छ।

आजको दिन ब्राह्मण, क्षेत्री, र वैश्य तीन वर्णका तागाधारीहरूले आफ्नो जनै फेरिन्छ। यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि व्रत बसेर, चोखोनितो गरी बसिन्छ। पूर्णिमाको दिन बिहानै ताल, पोखरी, नदी, कुण्डमा स्नान गरी गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्ने परम्परा छ, जसलाई श्रावणी स्नान भनिन्छ।

स्नानपछि वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ। आठ ऋषिहरूको तर्पण गर्ने भएकाले यस पर्वलाई ऋषितर्पणी पनि भनिन्छ। वैदिक गुरु परम्पराअनुसार जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ। जनै फेर्न र रक्षाबन्धन बाँध्न पशुपतिनाथ मन्दिर परिसर, अशोकविनायक, वाग्मती नदी किनार, र विभिन्न मठमन्दिरमा भक्तजनको घुइँचो लागेको छ।

आजको दिन क्वाँटी खाने परम्परा पनि छ। ११ थरीका गेडागुडी मिसाएर टुसा उमारेर बनाइएको क्वाँटीले शरीरमा रोग लाग्न नदिने, पेट सफा गर्ने र वर्षायामभरको खेतीपातीको कामपछि शरीरमा ताजगी ल्याउने धार्मिक मान्यता छ।

तराईक्षेत्रमा भने आजकै दिन दिदीबहिनीहरूले दाजुभाइलाई राखी बाँधेर यो पर्व मनाउँछन्। यसले दिदीबहिनी र दाजुभाइबीचको प्रेमसम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास गरिन्छ।

देशभरका धार्मिक स्थलहरू जस्तै मणिचूड, गोसाइँकुण्ड, कुम्भेश्वर, पाँचपोखरी, जनकपुरधाम, दानसाधु र त्रिवेणीधाममा मेला लाग्ने गर्दछ। जनैपूर्णिमाको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू