Sunrise appliances
Homeकाठमाडौंचन्द्रागिरि नगरपालिकाद्वारा तीन सामुदायिक विद्यालयलाई बस हस्तान्तरण, शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण कदम

चन्द्रागिरि नगरपालिकाद्वारा तीन सामुदायिक विद्यालयलाई बस हस्तान्तरण, शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण कदम

चन्द्रागिरि । चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रका सामुदायिक विद्यालयहरूको सुदृढीकरण र विद्यार्थीहरूको आवतजावतलाई सहज बनाउन महत्वपूर्ण कदम चालेको छ। यसै सन्दर्भमा, नगरपालिकाले आइतबार तीन वटा विद्यालयलाई बस हस्तान्तरण गरेको छ। नगरप्रमुख घनश्याम गिरीले चन्द्रागिरि नगरपालिका वडा नं. २ मा रहेका तीन सामुदायिक विद्यालय—नागढुङ्गाको भीम मावि, चिसापानीको चण्डी भैरव मावि, र बाँडभञ्ज्याङको चण्डिका देवी माविलाई बसको साँचो हस्तान्तरण गर्नुभयो।

चन्द्रागिरि नगरपालिकाले यसै शैक्षिक वर्षमा वडा नं. १३ स्थित कंकाली माविलाई पनि विद्यालय बस उपलब्ध गराउने योजना बनाएको छ। नगरप्रमुख गिरीले चालु आर्थिक वर्षमा थप ४ वटा विद्यालय बस खरिद गरेर अन्य सामुदायिक विद्यालयहरूलाई पनि बस उपलब्ध गराउने नगरपालिकाको योजना रहेको जानकारी दिनुभयो। नगरप्रमुखका अनुसार, चन्द्रागिरि नगरपालिकाले क्षेत्रका सबै सामुदायिक विद्यालयहरूलाई बस सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ।

शैक्षिक गुणस्तर वृद्धिमा नगरको प्रतिबद्धता स्पष्ट गर्दै नगरप्रमुख गिरीले नगरका सबै विद्यालयको भवन स्तरिकरण कार्य सम्पन्न भइसकेको जानकारी गराउँदै अब शैक्षिक गुणस्तर वृद्धि गर्न बालविकास कक्षाहरू, स्मार्ट बोर्डसहितका अध्ययन सामग्रीहरूको व्यवस्थापनमा नगरपालिका तत्पर रहेको बताउनुभयो। उहाँले नगरपालिकाले यो कार्यका लागि सम्बन्धित निकायहरूसँग सहकार्य गरिरहेको पनि उल्लेख गर्नुभयो।

यसका साथै, नगरप्रमुख गिरीले दक्षिण कोरियाको सहयोगमा बलम्बुस्थित बलम्बु माविमा प्राविधिक शिक्षालयको भवन निर्माण अन्तिम चरणमा पुगेको जानकारी गराउनुभयो। उहाँले नगरका अन्य विद्यालयहरूमा समेत प्राविधिक शिक्षालय निर्माणका लागि आवश्यक छलफल र सहजीकरण भइरहेको बताउनुभयो।

चन्द्रागिरि नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा नैकापस्थित कंकाली माविलाई एक थान विद्यालय बस उपलब्ध गराइसकेको थियो। हाल नगरमा २४ वटा सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन्, जसको गुणस्तर वृद्धि गर्न नगरपालिकाले उल्लेखनीय प्रयास गरिरहेको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू