Sunrise appliances
Homeकाठमाडौंस्वयम्भूमा छायाँ दर्शन: नेवा समुदायले मनाउँछ जुग: चा पर्व

स्वयम्भूमा छायाँ दर्शन: नेवा समुदायले मनाउँछ जुग: चा पर्व

काठमाडौं, भाद्र १५ – आजका दिन नेवा: समुदायले सगर्व मनाउने एक विशेष परम्परागत पर्व हो, जसलाई ‘जुग: चा’ अर्थात् ‘स्वयम्भू महाचैत्यको छायाँ दर्शन’ भनेर चिनिन्छ। हरेक वर्ष नेपाल संवत् अनुसार गुँलागा द्वादशी तथा विक्रम संवत् अनुसार भाद्र कृष्ण द्वादशीको रात स्वयम्भू महाचैत्यको छायाँ दर्शन गर्ने चलन रहेको छ। यस पर्वलाई ‘जुग: चा च्वँ वनेगु’ अर्थात् रातभर जाग्राम बस्न जाने पर्वको रूपमा पनि परिचित छ।

परम्परागत जनविश्वास अनुसार, यो रातमा आकाशमा बादलले ढाकिएर, स्वयम्भू महाचैत्यको प्रतिबिम्ब देख्न सकिन्छ भन्ने विश्वास रहेको छ। यसलाई स्थानीयहरु ‘सर्गतय् द्य: स्वेगु’ अर्थात् आकाशमा देवताको दर्शन गर्ने भनाइले चिनिन्छ। आकाशमा देखिने यस अद्भुत छायाँलाई दर्शन गर्नाले आयु वृद्धि, रोगबाट मुक्ति र पूण्य प्राप्त हुने जनविश्वास छ।

विशेषगरी दक्षिण ललितपुर भेगका बासिन्दाहरु, खासगरी नेवा: समुदाय, यो पावन रातमा स्वयम्भू महाचैत्यमा रात बस्न आउने चलनमा छन्। यदि परिवारमा कसैको निधन भएको छ भने, शोकको वर्षमा, उनीहरुले स्वयम्भूमा आएर दीप बालेर पूजा, भजनकिर्तन, नामसंगिती पाठ, प्रज्ञापारमिता धारिणी जस्ता धार्मिक कार्यमा रातभर जाग्राम बस्ने प्रचलन रहेको छ। यस रातमा समयबजी भोजको विशेष प्रचलन रहेको पाइन्छ, जसमा परिवार तथा साथीहरूसँग भोजको आनन्द लिने गरिन्छ।

जुग: चाको भोलिपल्ट, गुँलागा त्रयोदशी तथा भाद्र कृष्ण त्रयोदशीको दिन, काठमाडौँ, भक्तपुर, पाटन, थिमी, पनौती, बनेपा, तिब्बतको ल्हासा लगायतका नेवा: बस्तीहरूमा पञ्जरा पर्व मनाइन्छ। यो पर्वलाई ‘पञ्चदान’ नामले पनि चिनिन्छ। यस अवसरमा, नेवा: बौद्ध परम्पराअनुसार, शाक्य तथा बज्राचार्य समुदायमा दान दिने र लिने कार्य सम्पन्न गरिन्छ।

पञ्जरा पर्वमा मुख्यतया धान, चामल, गहुँ, जौ, नुन, केराउ, मकै, फलफूल र पैसाको दान गर्ने परम्परा रहेको छ। भक्तपुरमा पञ्जरा पर्व अझै विशेष तरिकाले मनाइन्छ, जहाँ ५ प्रमुख बहालका ५ दिपंकर बुद्धका प्रतिमालाई नगरपरिक्रमा गराइन्छ। दिपंकर बुद्धसँगै अन्य गुलुपा (पिण्डपात्र) बोकि लामबद्ध भएर पञ्जरा लिने गरिन्छ। भक्तपुरका नेवा: समुदायले यसलाई दिपंकर बुद्ध स्वयम् पञ्जरा दान लिन आएको रूपमा मानेर श्रद्धासाथ पूजाआजा गर्छन्।

गुँला पर्वको समापनसँगै, यँलाथ्व पारुका दिन शाक्य तथा तुलाधर समुदाय र यँलाथ्व दुतियाको दिन मानन्धर समुदायले स्वयम्भूमा गएर भोज खाएर अन्तिम बाजा बजाउने गर्छन्। यसलाई ‘पारु भ्वे’ भनिन्छ। यससँगै एक महिना लामो गुँला पर्वको विधिवत् समापन हुने र यँला पर्वको प्रारम्भ हुने परम्परा रहेको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Luniva Global
- Advertisment -
Luniva Global

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू