Sunrise appliances
Homeकाठमाडौंकुशे औँसी: पितृ कार्य र पुण्यको पर्व आज देशभर मनाइँदै

कुशे औँसी: पितृ कार्य र पुण्यको पर्व आज देशभर मनाइँदै

काठमाडौँ, भाद्र १६ – सनातन धर्मावलम्बीले आज भाद्र कृष्ण औँसीको अवसरमा कुशे औँसी पर्व मनाउँदैछन्। यस पावन अवसरमा वैदिक सनातन धर्मअनुसार घरघरमा पवित्र कुश भित्र्याई देवकार्य र पितृकार्यका लागि सुसज्जित गरिँदैछ। शास्त्रअनुसार ब्राह्मणद्वारा विधिपूर्वक पूजा गरी उखेलेको कुश घरमा राख्नाले परिवारमा सुख, समृद्धि र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ।

विशेष महत्वका साथ आज उखेलिएको कुशलाई वर्षभरि प्रयोग गर्न सकिने धार्मिक मान्यता रहेको छ। अरू दिन उखेलिएको कुश भने त्यसै दिनमात्र उपयोग गर्न सकिन्छ। कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मानेर सनातन धर्मावलम्बीले विशेष सम्मानपूर्वक प्रयोग गर्छन्।

पौराणिक कथनअनुसार सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीहरूसँगै पवित्र कुशको पनि उत्पत्ति गर्नुभएको हो। आज घरघरमा भित्र्याइने कुशलाई वर्षभरि हुने देवकार्य र पितृकार्यमा प्रमुख रुपमा प्रयोग गरिन्छ।

यस अवसरमा छोराछोरीहरूले आफ्ना बुबालाई मन पर्ने मिठाई र भोजन खुवाई आदर सम्मान प्रकट गर्ने परम्परा रहेको छ। जसले गर्दा ‘बाबुको मुख हेर्ने’ परम्परा पनि चलिरहेको छ। बुबा परलोक भइसकेका सन्तानहरू भने विभिन्न पवित्र स्थानमा गई तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने गर्छन्।

आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिरमा विशेष मेला लाग्छ। यस अवसरमा दिवङ्गत बुबाको नाममा तर्पण, पिण्डदान र सिदादान गर्नेहरूको ठूलो भीड लाग्ने गर्छ। यस पर्वलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ। त्यस्तै, रसुवा र नुवाकोटको सङ्गमस्थल वेत्रावतीमा पनि मेला लाग्ने गर्छ।

‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुसार आजका दिन छोराछोरीहरूले आफ्ना बुबालाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गर्दा जीवनमा सुख र समृद्धि प्राप्त हुने विश्वास छ। बुबा परलोक भइसकेका सन्तानहरूले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गर्दा पुण्य प्राप्त हुने र आफ्नो कुल स्थिर हुने धार्मिक ग्रन्थ बुद्धोक्त पाराजीकायमा उल्लेख गरिएको छ।

आजको दिन दानको महत्व पनि विशेष रुपमा रहेको छ। धार्मिक मान्यताअनुसार थोरै दान गरे पनि हजारौँ गुणा बढी पुण्य प्राप्त हुने भएकाले यस पर्वलाई पुण्य पर्व पनि भनिन्छ। तर, दान सुपात्रमा गर्नुपर्ने धार्मिक आग्रह गरिएको छ। कुपात्रमा दान गर्दा दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ रहेको छ।

यसरी, आजका दिन सम्पूर्ण सनातन धर्मावलम्बीहरू पवित्र कुश घर भित्र्याई, देवकार्य र पितृकार्यका लागि सुसज्जित गर्दै, आफ्ना पिताप्रति आदर, सम्मान र श्रद्धा प्रकट गरी कुशे औँसी पर्व धूमधामका साथ मनाइरहेका छन्।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू