आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनलाई लक्षित गर्दै कीर्तिपुरमा राजनीतिक गतिविधिहरू तीव्र हुँदै गएका छन्। प्रमुख दलहरूसँगै स्वतन्त्र रूपमा उम्मेदवारी दिने व्यक्तिहरूको सक्रियता पनि बढेको छ। यसैक्रममा, कीर्तिपुर नगरपालिका वडा नं. १ का लागि युवा अभियन्ता तथा कवि अर्जुन महर्जन (नेपाःमि) ले स्वतन्त्र उम्मेदवारको रूपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। उनी हाल घरदैलो अभियानमा व्यस्त छन्, जहाँ उनले मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो योजना र उद्देश्य स्पष्ट पारिरहेका छन्।
महर्जन सानैदेखि साहित्यप्रति रुचि राख्थे र सामाजिक विषयवस्तु, सामुदायिक हित र स्थानीय परिवर्तनको लागि कलम चलाउँथे। यस पटकको उम्मेदवारीले पनि उनको यही समाजसेवी भावनालाई प्रतिनिधित्व गर्दछ। कीर्तिपुरका ऐतिहासिक सम्पदाहरूको संरक्षण, सामुदायिक हित र समसामयिक मुद्दामा आधारित विकासको मापदण्डलाई उनले आफ्नो चुनावी एजेन्डामा प्राथमिकता दिएका छन्।
महर्जनले आफ्नो मुल नाराका रूपमा ‘सामूहिक समाजवाद’ अघि सारेका छन्। उनले स्थानीय समुदायसँग छलफल गरी उठेका मुद्दालाई कार्यान्वयन गर्दै वास्तविक विकासको पक्षपोषण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। उनका अनुसार, कीर्तिपुरको ऐतिहासिक बागभैरवदेखि लायकु क्षेत्रसम्मका पुराना भवनहरूको संरक्षणको खाँचो रहेको छ। परम्परागत वास्तुकलाका घरहरू मासिने अवस्थामा छन्, जसलाई संरक्षण गर्दै उक्त क्षेत्रलाई पर्यटकीय नगरका रूपमा विकास गर्ने उनको लक्ष्य छ। साथै, लायकु दरबार क्षेत्रको पुनर्निर्माण र पार्किङ समस्याको समाधानको लागि पनि उनले ठोस योजना अघि सारेका छन्।
महर्जनले युवालाई खेलकुद र विकासको गतिविधिमा संलग्न गराउन ‘युवा परिषद’ गठन गर्ने योजना प्रस्तुत गरेका छन्। यो परिषदले युवाहरुलाई केवल खेलकुदमा मात्र होइन, विकास र सामाजिक कार्यक्रमहरूमा पनि सहभागिता गराई योगदान दिन प्रेरित गर्नेछ। महिला समूहहरूलाई पनि विकास निर्माणका काममा सहभागी गराउनु पर्ने महर्जनको धारणा छ।
स्वास्थ्य सेवामा सुधारको आवश्यकता औँल्याउँदै उनले विष्णुदेवी अस्पतालका भौतिक संरचनाहरूको विस्तार, थप बेडको व्यवस्था, र डाक्टर तथा नर्सको संख्या बढाई अस्पतालको स्तरवृद्धि गर्ने योजना व्यक्त गरेका छन्। कीर्तिपुर दरबार क्षेत्रको पुनर्निर्माण र संरक्षणका लागि प्रदेश र केन्द्र सरकारको बजेट सहयोगमा काम अघि बढाउने उनको योजना छ।
तलेजु मन्दिरको निर्माण कार्यमा पनि स्थानीय समुदायले निर्णय गरेअनुसार अघि बढाउने प्रतिबद्धता जनाउँदै महर्जनले आफ्नो उम्मेदवारीले सामुदायिक विकास, सांस्कृतिक संरक्षण, र कीर्तिपुरको समृद्धि निम्ति उल्लेखनीय भूमिका खेल्ने बताए।