कीर्तिपुर नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारका रूपमा नरेश श्रेष्ठले आगामी मंसिर १६ मा हुन लागेको उपनिर्वाचनका लागि आफ्नो अभियानलाई तीव्र बनाएका छन्। आफ्नो मूल अभियानको रूपमा जनताको घरदैलोमा पुग्दै आएका श्रेष्ठ कीर्तिपुरका विभिन्न वडाका बासिन्दासँग सीधा संवाद गर्दै, उनीहरूको समस्याहरू सुन्न र आफ्ना प्रतिबद्धता प्रस्तुत गर्न निरन्तर सक्रिय छन्।
नरेश श्रेष्ठ पेशागत रूपमा कानुन व्यवसायी तथा सामाजिक अभियन्ता हुन्। उनले यसअघि नै समुदायका हक अधिकारका लागि कानुनी लड़ाइँहरू लड्दै आफ्नो छुट्टै पहिचान बनाएका छन्। श्रेष्ठले कीर्तिपुर नगरपालिका क्षेत्रका जनताको सेवा गर्न कानुनी र प्रशासनिक क्षेत्रमा आफ्नो गहिरो ज्ञानलाई उपयोग गर्दै नगरको रूपान्तरण गर्ने संकल्प व्यक्त गरेका छन्।
श्रेष्ठको जन्म कीर्तिपुरको वडा नं ३ स्थित कुटुझोल टोलमा भएको थियो, र हाल उनी वडा नं १० स्थित ट्याङलाफाँटमा बसोबास गर्दै आएका छन्। कुनै पनि राजनितिक दलसँग आबद्ध नभएका श्रेष्ठले कीर्तिपुरको हितमा शुद्ध रूपले स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। अन्य स्वतन्त्र उम्मेदवारको तुलनामा आफू पूर्णरूपले स्वतन्त्र रहेको र कुनै पार्टीबाट असन्तुष्टि वा असहमति जनाएर मात्र स्वतन्त्र बनेका व्यक्तिहरूजस्तो नभएको उनले बताउँछन्।
श्रेष्ठले आफ्ना चुनावी योजनाहरूमा कानुनी, प्रशासनिक र संरचनात्मक सुधारहरूलाई प्राथमिकतामा राखेका छन्। कीर्तिपुर नगरपालिकाको कर प्रणालीलाई न्यायसंगत बनाउने देखि भ्रष्टाचारको अन्त्य गर्नेसम्मका विषयमा उनी स्पष्ट रणनीतिहरू प्रस्तुत गर्दै आएका छन्। हाल कीर्तिपुरको घरजग्गा कर काठमाडौं महानगरपालिकाको तुलनामा तीन गुणा बढी रहेको अवस्थामा, यसलाई समायोजन गरेर जनतालाई राहत दिने प्रतिबद्धता समेत श्रेष्ठले जनाएका छन्।
श्रेष्ठको चुनावी अभियानमा सामाजिक सशक्तिकरणको मुद्दा विशेष महत्व पाएको छ। उनले महिला, युवा, बालबालिका र सिमान्तकृत वर्गका लागि संविधानअनुसारका सबै आवश्यक कानुनी व्यवस्थाहरू कार्यान्वयनमा ल्याउने र हरेक वडामा स्वास्थ्यकर्मीको व्यवस्था गर्दै वृद्धवृद्धालाई घरमै स्वास्थ्य सेवा पुर्याउने व्यवस्था मिलाउने प्रतिवद्धता जनाएका छन्। उनले निजी विद्यालयमा कानुनबमोजिम १० प्रतिशत छात्रवृत्ति नीतिको पूर्ण कार्यान्वयन गर्ने योजना समेत बनाएका छन्।
सांस्कृतिक संरक्षण र पर्यटन प्रवर्द्धन पनि श्रेष्ठको प्रमुख एजेन्डामा पर्दछन्। कीर्तिपुर नगरलाई पुरातन शैलीको संरक्षण गर्दै आधुनिकता अनुकूल नयाँ बस्तीहरूको विकास गर्ने योजना उनको चुनावी घोषणामा स्पष्ट देखिन्छ। उनी कीर्तिपुर नगरको सांस्कृतिक संरक्षित क्षेत्र ऐन २०७८ को पूर्ण कार्यान्वयन गराउँदै नगरको मौलिक पहिचानलाई संरक्षण गर्न कटिबद्ध छन्।
श्रेष्ठको यो घरदैलो अभियानमा उनले आफ्नो उम्मेदवारीलाई समर्थन जनाउने स्थानीय युवाहरू र सहयोगीहरूलाई साथमा राख्दै कीर्तिपुर नगरका टोल टोलमा पुगिरहेका छन्। जनताका समस्या र उनीहरूको अपेक्षालाई नजिकबाट बुझ्न यो संवाद अभियान प्रभावकारी रहेको र यसबाट आफ्नो योजनाहरूलाई अझ स्पष्ट रूपमा प्रस्तुत गर्ने अवसर पाएको उनी बताउँछन्।
श्रेष्ठको नेतृत्वमा कीर्तिपुर नगरपालिकामा व्यापक परिवर्तन सम्भव हुने उनको विश्वास छ।