२०६२ सालमा राजनीतिक उथलपुथलको मध्यमा धुर्व महर्जनले कीर्तिपुर नगरपालिकाको मेयरको जिम्मेवारी पाएका थिए। त्यतिबेला जनआन्दोलनको सुरुवाती चरण भएकाले चुनावी प्रचारमा पनि विभिन्न अवरोधहरू थिए। तर, धुर्व महर्जनले ५६५८ मत ल्याउँदै विजय हासिल गरे। त्यहाँ सपथ ग्रहण गर्न जाँदा, कयौं व्यक्तिहरूले उनलाई तपाईँ त्यहाँ गए पनि काम गर्न सक्नुहुन्नू भनेर निराशाजनक प्रतिक्रिया दिए। तर, महर्जनको संकल्पमा कुनै कमी आएन।
महर्जनले सम्झनुहुन्छ, “कीर्तिपुर नगरपालिकाको सुरुवाती समय थियो। चुनावमा नेकपा (एमाले) समर्थित हिराकाजी महर्जन मेयर भएका थिए, र सिंगो पालिकामा उनकै पार्टीका समर्थकहरूको वर्चस्व थियो। त्यतिबेला, पालिका एमालेको भातृ संगठनजस्तो लाग्थ्यो।” आफैं नेपाल सरकारका विभिन्न मन्त्रालयहरूमा काम गरिसकेका धुर्व महर्जनलाई प्रशासनिकर प्रावधिक कामको अनुभव थियो, र यो नै उनको प्रमुख बलबुता बन्यो। उनले ५८ दिनको कार्यकालमा ६५ वटा महत्त्वपूर्ण फाइल तयार पारे, र कर्मचारी व्यवस्थापनदेखि सुशासन प्रवर्द्धनसम्मका सुधारहरूमा जोड दिए।
१९ वर्षपछि, महर्जन पुनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट कीर्तिपुर नगरपालिकाको मेयर पदको उम्मेदवार बनेका छन्। पेशागत रूपमा मेकानिकल इन्जिनियर भए तापनि, उनले लामो समय सरकारी कार्यालयहरूको प्राविधिक क्षेत्रमा बिताएका छन्। महर्जन आफैं पक्षपाती अवधारणामा विश्वास नगर्ने बताउँछन्। “म राम्रो लाई राम्रो भन्छु, नराम्रो लाई नराम्रो,” उनले ठोकुवा गर्छन्। महर्जन अहिलेको नगरपालिकाको कार्यशैलीप्रति सन्तुष्ट छैनन्। काम हचुवाको भरमा भइरहेको छ, कागजी प्रक्रिया पछि मात्रै पूरा गरिन्छ, उनी भन्छन्। “कीर्तिपुरमा प्रशस्त प्राविधिक उपकरण छन्, तर तिनलाई सुनियोजित ढंगले प्रयोग गर्न सकेका छैनौं। यस्तै, पानीका स्रोतहरू धेरै छन्, तर व्यवस्थापन राम्रो छैन, जसले गर्दा सर्वसाधारणले पानीको सहज पहुँच पाएका छैनन्, पानी खेर गइरहेको छ।”
धुर्व महर्जनले कीर्तिपुर नगरपालिकाका युवालाई वैदेशिक रोजगारमा पठाउनुपूर्व उनीहरूलाई आधारभूत र व्यवहारिक तालिम उपलब्ध गराउने योजना प्रस्तुत गरेका छन्। “१२ कक्षा सकेपछि सीटीईभीटी अन्तर्गत तालिम सञ्चालन गरिनेछ, जसले सरकारी जागीर र वैदेशिक रोजगारीमा सहजता ल्याउनेछ,” महर्जन बताउँछन्।
उनको दृष्टिकोणमा, कीर्तिपुरको सांस्कृतिक र ऐतिहासिक सम्पदा सबैको साझा धरोहर हो, जसलाई संरक्षण गर्नु आवश्यक छ। ठुला पार्टीका नेताहरूले आफूलाई सर्वेसर्वा ठान्छन् र आफ्नो विजय सुनिश्चित भएको भ्रम पालेका छन्, महर्जन भन्छन्र अब जनतालाई मुर्ख बनाउन सजिलो छैन।
उनी २०६२ सालमा मेयर हुँदा बनेका लोकतान्त्रिक चोक को प्रसंग सम्झन्छन्, जहाँ अहिलेका नेताहरू भाषण गर्छन्। त्यो चोकमा फराकिलो बाटो बनाउने काम मेरो कार्यकालमा भएको हो, उनले गर्वका साथ थपे। त्यतिबेलाको कार्यकालमा खानेपानीको स्रोतको अध्ययन गराएको र पानी ल्याउन थप पहलहरू गरेकोमा उनी अझै पनि गर्व गर्छन्।
उनले पुनः मेयरमा निर्वाचित भएमा पहिलो प्राथमिकता सुशासन स्थापना गर्ने र विभिन्न चलखेल तथा दलगत राजनीति अन्त्य गर्न प्रतिवद्ध छन्। “म मेयर भएको एक हप्तामा यहाँको कार्यप्रणालीमा सुधार आएको देख्न सक्नुहुनेछ,” उनले विश्वास व्यक्त गरे
२०६२ सालका धुर्व महर्जन र २०८१ सालका धुर्व महर्जनबीचको भिन्नता समयको मात्र हो। “जनताका लागि काम गर्ने चाहना त्यही छ, परिवर्तनको भोक अझै बाँकी छ,” उनी भन्छन्। उनी ३४ देश घुमिसकेका छन्, तर आफ्नो जन्मभूमिको प्रेम र उसको परिवर्तनप्रतिको लगाव अझै उस्तै रहेको उनी बताउँछन्।