कीर्तिपुरमा यस वर्ष ने. सं. ११४५ को नव वर्ष भव्य रूपमा मनाइएको छ। परम्परागत नेवारी पर्व ‘न्हु दँ’ अर्थात् नव वर्षको विशेष कार्यक्रम यसपालि कीर्तिपुर नगरपालिका वडा नं. १० अन्तर्गतको मानत्वा टोलले आयोजना गरेको थियो। स्थानीय संस्कृतिको संरक्षण र प्रवर्द्धनको उद्देश्यले प्रत्येक वर्ष विशेष कार्यक्रममार्फत नव वर्ष मनाउने प्रचलन अनुरूप यसपटकको समारोह झनै भव्य र उल्लासमय रहेको थियो।
समापन समारोहको प्रमुख अतिथिमा कीर्तिपुर नगरपालिकाको कार्यवाहक मेयर शुभलक्ष्मी शाक्य रहनुभएको थियो। उहाँले नव वर्षको शुभकामना व्यक्त गर्दै यस्तो सांस्कृतिक महोत्सवले स्थानीय परम्परा र पहिचानलाई जगेर्ना गर्न मद्दत पुर्याउने कुरामा जोड दिनुभयो। कार्यक्रममा विशेष अतिथिको रूपमा वडा नं. १० का अध्यक्ष नरेश महर्जन, वडा नं. ३ का अध्यक्ष सुबिन्द्र महर्जन, र वडा नं. ९ का अध्यक्ष दिनेश श्रेष्ठ पनि सहभागी हुनुहुन्थ्यो।
समारोहमा आयोजक समितिले उपस्थित जनसमुदायलाई नव वर्षको शुभकामना आदान-प्रदान गर्दै यस वर्षको कार्यक्रम सम्पन्न गरिएको घोषणा गर्यो। साथै, अर्को वर्षको न्हु दँ कार्यक्रमको आयोजना चाफ: त्वा टोललाई हस्तान्तरण गरिएको छ।
यसरी नव वर्षको अवसरमा कीर्तिपुरवासीहरूले परम्परा, संस्कृति र आपसी सौहार्दताको भावना लिएर नव वर्ष मनाउँदै स्थानीय संस्कृतिको संरक्षणमा योगदान पुर्याएको देखिन्छ।