नेपाली कांग्रेसले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगरी एकल रूपमा प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ। यो निर्णय महासमिति बैठक र केन्द्रीय समितिले अनुमोदन गरेपछि औपचारिक रूपमा सार्वजनिक गरिएको हो।
महासमिति बैठकमा पार्टीका महासचिव गगन थापाले कांग्रेसको संगठनलाई बलियो बनाउँदै मतदाताको विश्वास जित्ने उद्देश्यसहितको प्रस्ताव पेस गरेका थिए। उनले नेपाली कांग्रेसलाई एक्लै बहुमत ल्याउने शक्तिशाली पार्टीका रूपमा पुनर्स्थापित गर्ने, आगामी निर्वाचनहरूमा एक्लै प्रतिस्पर्धा गर्ने र मतदाताले कांग्रेसको रुख चुनाव चिन्हमा मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। यस प्रस्तावलाई भदौमा केन्द्रीय समितिले अनुमोदन गरेसँगै कांग्रेसले आगामी उपनिर्वाचनमा गठबन्धन नगर्ने रणनीति अवलम्बन गरेको हो।
२०७९ मा भएको स्थानीय तहको निर्वाचनमा कांग्रेसले स्थानीय आवश्यकता अनुसार गठबन्धनको नीति लिएको थियो, जसमा तत्कालीन सत्ता गठबन्धनमा रहेका दलहरूसँग पद बाँडफाँड गरेर चुनाव लडिएको थियो। त्यही चुनावमा कांग्रेसले जितेका धेरै स्थानहरूमा यसपटक उपनिर्वाचन हुन लागेको छ।
कांग्रेसका स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिका संयोजक विश्वप्रकाश शर्माले पनि यसपटक कांग्रेसले गठबन्धन नगरी एकल रूपमा चुनावमा उत्रिने स्पष्ट पारे। उनले भने, “हामी उपनिर्वाचनमा गठबन्धन गर्दैनौं, कांग्रेस एक्लै प्रतिस्पर्धामा उत्रन्छ।”
कांग्रेसले आगामी उम्मेदवारहरूको छनोट प्रक्रिया पनि तीव्र पारेको छ। कात्तिक २० गतेसम्म आकांक्षीहरूको नाम सम्बन्धित कार्यसमितिमा पठाउन निर्देशन दिएको थियो। यसअनुसार पार्टीका क्षेत्रीय कार्यसमितिदेखि सम्बन्धित समितिहरूले आकांक्षीहरूको नाम माथिल्लो तहमा पठाइसकेका छन्।
यसपटक मंसिर १६ गते ३३ जिल्लाका विभिन्न रिक्त पदहरूको लागि उपनिर्वाचन हुँदैछ। ओखलढुंगा र कैलालीका जिल्ला समन्वय समितिका प्रमुखसहित कीर्तिपुर नगरपालिका प्रमुख, दुई गाउँपालिका अध्यक्ष, चार उपाध्यक्ष, एक उपप्रमुख र केही वडाध्यक्षका पदहरूका लागि पनि उपनिर्वाचन हुनेछ।
कांग्रेसले यसपटकका उम्मेदवारहरूको चयन प्रक्रियालाई विधानअनुसार विभिन्न तहका संसदीय समितिहरूमार्फत सम्पन्न गर्दैछ। नगरपालिकाका उम्मेदवारको निर्णय प्रदेश कार्यसमितिले गर्नेछ भने गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको निर्णय जिल्ला कार्यसमितिले लिनेछ। वडास्तरका उम्मेदवारहरूको छनोट क्षेत्रीय कार्यसमितिले गर्नेछ।
कीर्तिपुर नगर प्रमुख पदका लागि १२/१३ जनाभन्दा धेरै आकांक्षीहरूको नाम सिफारिस भइसकेको छ, जसमा कृष्णमान डंगोल, बद्रीलाल महर्जन, हिमाल कार्की, सरिश महर्जन, र जमुना नकर्मी लगायतका नामहरू छन्। यी नामहरूलाई बागमती प्रदेश कार्यसमितिमा पठाइएको छ, र अन्तिम निर्णयका लागि ती नाममाथि विस्तृत छलफल गरिनेछ।
२०७९ को स्थानीय चुनावमा कीर्तिपुरको मेयरमा कांग्रेसका राजकुमार नकर्मी विजयी भएका थिए। उनले जसपासँगको तालमेलमा विजयी हासिल गरेका थिए, तर गत साउनमा उनको निधन भएपछि कीर्तिपुरको मेयर पद खाली भएको हो। यसपटक कांग्रेसले एक्लै प्रतिस्पर्धा गर्ने नीति अनुसार उम्मेदवार चयन गरिरहेको छ।
निर्वाचन आयोगले मंसिर २ गते बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवार दर्ता गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। मंसिर १३ गते राति १२ बजेदेखि प्रचारप्रसार निषेध अवधि लागू हुने छ, भने मंसिर १६ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ।
कांग्रेसको यो निर्णयले नेपाली राजनीतिक परिदृश्यमा कांग्रेसको आत्मनिर्भरता र बलियो संगठन निर्माणको संकेत गरेको छ, जसले आगामी निर्वाचनमा पार्टीको सशक्त भूमिका प्रस्तुत गर्न महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।