नेकपा एमालेले आउँदो मंसिर १६ गते हुने कीर्तिपुर नगरपालिकाका स्थानीय तहका चुनावका लागि नगरप्रमुख र दुई वडा अध्यक्षका उम्मेदवारहरुको नाम बिहीबार औपचारिक रूपमा घोषणा गरेको छ। नगरस्तरीय छलफल र सहमतिमा अघि सरेका यी उम्मेदवारहरुमा कीर्तिपुर नगरप्रमुखका लागि डा. सुरेन्द्र मानन्धर, वडा नं. १ का लागि हर्षमान महर्जन र वडा नं. ४ का लागि बद्री बुढाथोकीलाई सर्वसम्मत रुपमा अघि सारिएको हो। यस सिफारिसलाई एमालेको काठमाडौं जिल्ला कमिटीले बुधबार अनुमोदन गरेको थियो।
घोषणासभामा बोल्दै मेयर पदका उम्मेदवार डा. मानन्धरले कीर्तिपुरलाई समृद्धिको नयाँ दिशामा लैजान आफू प्रतिबद्ध रहेको र यस यात्रामा कीर्तिपुरबासीको निरन्तर साथ, सहयोग र विश्वासको खाँचो रहेको बताए। उनले यो निर्वाचनलाई चुनौतीका रुपमा लिइ आफ्नो अनुभव र प्रतिबद्धताले सफलतामा परिणत गर्ने दृढता व्यक्त गरे। “कीर्तिपुरबासीको साथ र विश्वास मेरो लागि प्रेरणा हो, म केवल निमित्त हुँ; वास्तविक उम्मेदवार यहाँका जनताहरु नै हुनुहुन्छ,” उनले भने। मानन्धरले विकासको यात्रा र परिवर्तनको चाहना पूर्ति गर्न एमालेको उम्मेदवारले जनताको भावनालाई प्राथमिकता दिँदै काम गर्ने आश्वासन दिए।
वडा नं. १ का उम्मेदवार हर्षमान महर्जनले आफ्ना पूर्व कार्यकालका सफल योजनाहरुलाई अहिले पनि निरन्तरता दिने बताउँदै, पदमा रहँदा वा नहुँदा पनि कीर्तिपुरबासीको सेवा नै आफ्नो प्राथमिकता भएको उल्लेख गरे। उनले भने, “कीर्तिपुरका जनताको माया र विश्वासकै कारण म यो ठाउँमा उभिएको छु। यसपटकको चुनावमा एमालेले जितको यात्रा सुनिश्चित गर्न हाम्रो टोली समर्पित छ।”
वडा नं. ४ का उम्मेदवार बद्री बुढाथोकीले जनताले सर्वसम्मत रुपमा उम्मेदवार चयन गर्नु एमालेका लागि आधा जित भएको टिप्पणी गरे। “नगरस्तरमा वडा नं. १, ४ र नगरप्रमुखका उम्मेदवारहरु सर्वसम्मत रुपमा अघि सार्दा प्रमुख विपक्षीहरु अत्तोपत्तोमा छन्,” उनले भने, “मंसिर १६ मा हाम्रो जित सुनिश्चित छ।”
नेकपा एमालेले सर्वसम्मत सिफारिसमार्फत गरेको यो उम्मेदवार चयनले आगामी चुनावमा पार्टीभित्रको एकता, जनताको भरोसा र जिम्मेवारीलाई प्राथमिकता दिएको स्पष्ट संकेत गरेको छ।