काठमाडौँ । छठ पर्वको प्रमुख दिन बिहीबार श्रद्धालुहरूले अस्ताउँदो सूर्यलाई विशेष अर्घ प्रदान गरेका छन्। प्रत्येक वर्ष कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यस महान पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजापाठ गरिन्छ। यो पर्व विशेषगरी तराई, मिथिला, काठमाडौं उपत्यकासहित नेपालका विभिन्न भागमा भव्यरूपमा मनाइन्छ।
छठ पर्वको चौथो दिन, अर्थात् मुख्य दिन, श्रद्धालु व्रतालुहरूले निराहार ब्रत बसेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गर्छन्। यस क्रममा व्रतालुहरूले जलाशय, नदी र छठ घाटहरूमा एकत्रित भई श्रद्धाका साथ सूर्यलाई फलफूल, ठेकुवा, भुसवा लगायतका सामग्री अर्पण गर्छन्। यो अवसरमा उनीहरूले आफ्नो सन्तान, परिवार र समाजको कल्याण, सुख, शान्ति र समृद्धिका लागि विशेष प्रार्थना गर्ने परम्परा रहेको छ।
बिहीबारको अर्घ अर्पणपछि, व्रतालुहरूले रातभर छठ घाटमै जाग्राम बसेर भक्तिभावमा रमाउँछन्। अन्तिम दिन अर्थात् शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चार दिन लामो कठोर छठ ब्रत विधिवत् रूपमा समापन हुन्छ।
छठ पर्वले मानिसहरूमा धार्मिक आस्था, पारिवारिक एकता र सामाजिक सद्भावको सन्देश प्रवाह गर्ने मात्र होइन, पर्यावरण संरक्षण र स्वच्छता कायम राख्न समेत महत्वपूर्ण योगदान पुर्याउँछ।